३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मझगाउँ विमानस्थल–‘जमिन चाहिए बस्ती खाली गर्न तयार छौं’

भवानी भट्ट

कञ्चनपुर — लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनको मागसहित आन्दोलन सुरु भएको छ । बजेटमा विमानस्थलका विषयमा केही उल्लेख नभएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

मझगाउँ विमानस्थल–‘जमिन चाहिए बस्ती खाली गर्न तयार छौं’

विमानस्थलका लागि गठित संघर्ष समितिले बजेटमा समावेश नगरेको भन्दै स्थानीय र उद्योगी व्यवसायीहरूको सहभागितामा महेन्द्रनगरमा शुक्रबार विरोध र्‍याली निकालिएको थियो ‘अहिले हामी प्रारम्भिक चरणमा छौं, विमानस्थल सञ्चालनमा सबैको प्रतिबद्धता छ,’ संघर्ष समिति संयोजक रमेश चन्दले भने, ‘एक चरणमा सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दल र स्थानीय जनप्रतिनिधिहरूसंँग बसेर छलफल गरिसकेका छौं, सबैको ऐक्यबद्धता छ ।’ उनका अनुसार होटल व्यवसायी, उद्योगी व्यापारी र विभिन्न संघ संगठनले समेत विमानस्थल सञ्चालनका लागि सुरु भएको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।


दुई दशकअघि सशस्त्र द्वन्द्वका बखत बन्द भएको विमानस्थल सञ्चालनका लागि यसअघि पनि पटक–पटक संघर्ष समिति गठन भई आन्दोलन भएको थियो । ती सबै आन्दोलन निष्कर्षबिनै टुंगिएका छन् । अहिलेको आन्दोलन पनि निष्कर्षबिनै टुगिंने हो कि भन्ने आशंका पनि छ ।


‘हामीले मझगाउँमा विमानस्थल सञ्चालनका लागि प्राविधिकहरूसंँग पनि आवश्यक जानकारी लिएका छौं,’ चन्दले भने, ‘प्राविधिक रुपमा कुनै समस्या छैन ।’ उनका अनुसार अहिलेकै अवस्थामा १४ सय मिटरसम्मको रनवे निर्माण गर्न सकिन्छ । विमानस्थलको खाली जमिन ५३ बिघा छ । वृक्षरोपण गरिएको क्षेत्र खाली गर्दा ६० बिघा नाघ्छ । थप आवश्यक परे नजिकको बस्ती खाली गर्न स्थानीय तयार रहेको उनले बताए ।


मझगाउँ विमानस्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जछेउमै छ । विमानस्थल सञ्चालन भए आउने पर्यटकको संख्या पनि बढने स्थानीयको अपेक्षा छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावका बेला पनि सबै राजनीतिक दलको प्रमुख एजेन्डा विमानस्थल सञ्चालन गराउने नै थियो । चुनावपछि भने यो विषयमा कुनै पनि जनप्रतिनिधिले आवाज उठाएका छैनन् ।


‘अब विमानस्थल सुचारु नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्नुपर्छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘स्थानीय स्तरदेखि केन्द्रसम्म दबाब सिर्जना गर्न सके मात्रै आन्दोलन सफल हुनेछ ।’

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?