कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल निर्माणमा लापरबाही

डडेलधुरा र बैतडीका ६ स्थानीय तहलाई जोड्ने भागेश्वर र अजयमेरु गाउँपालिकाको सिमानामा निर्माण हुन थालेको पुल ५ वर्षमा पनि पूरा भएन 
डीआर पन्त

डडेलधुरा — पहिलो पटक स्ल्याब राखेको चौथो दिनमा दुवैतिरका बिम भाँचिएर पुल भत्कियो । गुणस्तरहीन सामग्री प्रयोग गरेर बिम र स्ल्याब राखेका कारण पुल भत्किए पनि सडक विभागका कर्मचारी र निर्माण कम्पनीको मिलोमतोमा खोलाले बगाएको रिपोर्ट बनाइयो । प्रतिवेदनमा गुणस्तरहीन सामग्री प्रयोग भएको विषयमा कुनै उल्लेख नै भएन । 

भागेश्वर र अजयमेरु गाउँपालिकाको सिमानामा निर्माण हुन थालेको तेस्रो पटकको पुल । तस्बिर : डीआर/कान्तिपुर 

दोस्रो पटक पुल पुनः निर्माण सुरु भएको २ महिना पनि नबित्दै गणेश पर्वतबाट बग्ने हुरागाडमा आएको बाढीले अधिकांश निर्माण सामग्री बगाएपछि निर्माण कार्य रोकियो । निर्माण कम्पनीका प्रतिनिधिले बगेको सामानभन्दा दोब्बर बढी परिमाणमा निर्माण सामग्री बगेको देखाएर थप अनियमिततामा हस्ताक्षर गरे ।


डडेलधुरा र बैतडीका ६ स्थानीय तहलाई जोड्ने पुल भागेश्वर र अजयमेरु गाउँपालिकाको सीमानामा निर्माण हुन थालेको ५ वर्ष पुग्न थालेको छ । क श्रेणीको बिकोई बिल्डर्सले ४ वर्षअघि ५ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको पुल ५ वर्ष पुग्नै लाग्दासमेत निर्माण हुन सकेको छैन ।


२ वटा नदीको संगममा इस्टिमेट गरिएको पुलको प्राविधिक इस्टिमेट पनि त्रुटिपूर्ण भएको प्राविधिकले बताएका छन् । ‘४० मिटर लामो मोटरेवल पुल निर्माणका लागि यति धेरै समय नै लाग्दैन,’ निर्माण कार्यमा संलग्न एक जना सब–इन्जिनियरले भने, ‘केही प्राविधिक त्रुटि भयो केही लापरबाही र अनियमितताका कारण पुल निर्माण हुन नसकेको हो ।’


पटकपटक पुल निर्माणमा भइरहेको बेथितिका विषयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयलाई स्थानीयले जानकारी पनि दिए । तर कुनै पनि निकायले यस विषयमा चासो राखेनन् । पछिल्लो समय पुनः वर्षातको मुखमा आएर पुल निर्माण सुरु गरिएको छ । एकातिरबाट गणीका नदी र अर्कोतिरबाट हुरा खोलाको संगम हुने ठाउँमा निर्माण भइरहेको पुल यस पटकको वर्षातले फेरि बगाउने निश्चितजस्तै छ ।


तर पनि धमाधम निर्माण कार्य जारी रहेको छ । ‘कुनै पनि दिन दुवै नदी उर्लेर आए भने पुल बगेको खबर सुन्दा कसैले आश्चर्य नमाने हुन्छ,’ स्थानीय बासिन्दा तथा सब–इन्जिनियर हरि भण्डारीले भने ‘निर्माणस्थल नै अनुपयुक्त छ ।’ पुलको दुवैतिरबाट बग्ने नदीले निर्माण भइहाले पनि पुल सुरक्षित रहन नसक्ने उनले बताए ।


निर्माणका क्रममा पनि लापरबाही मात्र होइन चरम अनियमितता भइरहेको छ । निर्माणस्थलमा जताततै निर्माण सामग्री छरिएको छ । छड, गिट्टी, बालुवा र सिमेन्ट जथाभावी चारैतिर फालिएको छ । केही निर्माण सामग्री पानीमा बग्न थालेको छ भने केही स्थानीयले खेत नजिक लुकाएका छन् । निर्माण स्थलमा नपुग्दै निर्माण सामग्री स्थानीय बजारमा बिक्री हुनु, मोलमोलाई हुनु सामान्यजस्तै भइसकेको छ । यसअघि पनि ठूलो माक्रामा निर्माण सामग्री स्थानीय बजारमा बित्रस् भइसकेको छ ।


‘स्थानीय तहका जनप्रतिनिधि र कुलपाते सडक डिभिजन कार्यालयका इन्जिनियर महानन्द जोशीलगायतलाई पटकपटक पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको जानकारी गराएको हुँ’ नेकपा नेता तथा स्थानीय बासिन्दा दानबहादुर चन्दले भने, ‘निर्माण कम्पनी र सडक डिभिजनका कर्मचारीको मिलोमतोमा अनियमितता गरिएका कारण पुल बन्न नपाउँदै भत्किएको हो ।’ यस पटक पनि गुणस्तरहीन सामग्री प्रयोग भइरहेको उनले जानकारी दिए ।


‘यस पुलमा धेरै गुनासो आएको हाे,’ भागेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले भने, ‘सडक डिभिजनका इन्जिनियरको प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको पुलमा स्थानीय तहले कानुनी हस्तक्षेप गर्ने बाटो थिएन ।’ गाउँ कार्यपालिकाबाट निर्णय गराएर छानबिन गर्ने तयारी भइरहेका बेला पुल भत्किएको उनले बताए । प्रकाशित : जेष्ठ १५, २०७६ ०९:४८

प्रतिक्रिया
पठाउनुहोस्

अझै बनेन राजघाटमा पुल

कान्तिपुर संवाददाता

धनगढी — राजघाट र धनगढीको बीचमा पर्ने मोहना नदीमा पुल नहुँदा स्थानीय बासिन्दालाई सकस भएको छ । सुक्खायाममा काठेपुल बनाएर आवतजावत गर्ने राजघाटका बासिन्दा बर्खामा भने सहजै धनगढी आउन सक्दैनन् । 

‘अहिले काठेपुल सहारा बनेको छ,’ कृष्णपुर नगरपालिका ९ राजघाटका गणेश जोशीले भने, ‘बर्खा लागेपछि हैरानी हुन्छ । गेटा हुँदै घुमेर आउनुपर्छ ।’ यहाँका बासिन्दा शिक्षा, स्वाथ्यका लागि धनगढीमा आश्रित छन् । बाढी आउनेबित्तिकै काठे पुल बगिहाल्छ । त्यसपछि स्थानीयले हरेक बर्खामा डुंगा चलाउँछन् ।

ठूलो बाढी आएका बेला त्यही डुंगा पनि रोकिन्छ । राजघाटका बासिन्दालाई लक्षित गरी मोहना नदीमा ५ वर्षअघि पक्की पुलको योजना सुरु भएको थियो । तर अहिलेसम्म पनि पुल बन्न सकेको छैन् । पक्की पुल बन्ने भनेपछि स्थानीय बासिन्दा खुसी भएका थिए ।

निर्माण सम्झौता भएको लामो समयसम्म निमार्ण कार्य सम्पन नभएपछि स्थानीय बासिन्दाहरू निराश छन् । ‘नदीमा पुल नभएकाले समयमा अस्पताल पुर्‍याउन नसकेर कतिपयको ज्यान गएको छ,’ राजघाटकै निर्मला पाण्डेले भनिन् ।

बर्खामा छोराछोरी विद्यालय पठाउन डर लाग्ने गरेको राजघाटका शम्भु चौधरीले बताए । उनले बिहान विद्यालय पठाएका छोराछोरी साँझ सकुशल घर फर्किन्छन्, फर्किंदैनन् भन्ने चिन्ता लाग्ने गरेको बताए । ‘राजघाटबाट धनगढी पुग्न साइकलमा १५ मिनेटको बाटो छ । तर, बर्खा सुरु भएपछि धनगढीमै डेरा गरेर छोराछोरी पढाउनुपर्छ,’ चौधरीले भने । राजघाटवासी कञ्चनपुरका बासिन्दा भए पनि उनीहरूको मुख्य बजार धनगढी हो ।

दैनिक झन्डै दुई सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनका लागि धनगढी आउने गर्छन् । त्यति नै संख्यामा तरकारी, दूध बिक्री गर्ने कृषक र सर्वसाधारण मेलापातको लागि आउने गरेका छन् । दैनिक झन्डै ६ सयको हाराहारीमा धनगढीसम्म ओहोरदोहोर गर्दै आएको स्थानीय बताउँछन् ।

धनगढी उपमहानगरपालिका ३ को मोहना राजघाट पक्की पुल समयमै निर्माण सम्पन हुन नसकेर समस्या भएको हो । ‘पुल बन्ने आशामा ५ सम्म पनि प्रतिक्षा गरियो,’ कृष्णपुर ९ राजघाटका ७० वर्षीय उमेशप्रसाद जोशीले भने, ‘अब त आस पनि मरिसक्यो ।’ यो पुल बनेपछि धनगढीसँग कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट, पिपरिया र बिचवा गाउँ जोडिने थिए ।

मोहना नदीको राजघाटमा ०७०/७१ मा पक्की पुल निर्माणको योजना सुरु भएको हो । ३ वर्षभित्र पूरा हुनुपर्ने उक्त पुल ५ वर्ष बित्नै लाग्दा पनि एलाइट एडभेञ्चर जेभी कम्पनीले बनाउन सकेको छैन । पुल निर्माणको काम हालसम्म ५० प्रतिशत मात्र भएको छ । पहिलो वर्ष कम्पनीले राम्रै काम गरे पनि दोस्रो वर्ष इन्धन अभावका कारण काम प्रभावित भएको र तेस्रो वर्ष काम नगरेको सडक डिभिजन कार्यालयका सब–इन्जिनियर रामचन्द्र जैशीले बताए ।

‘पहिलो ३ वर्षको अवधिमा निर्माण कम्पनीले पुल निर्माण गर्न नसकेपछि पुनः २ वर्ष म्याद थप गरिएको थियो । आउँदो असारमा थपिएको म्याद पनि सकिँदै छ,’ सब–इन्जिनियर जैशीले भने, ‘यो वर्ष काम सकिने कुनै सम्भावना छैन ।’

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×