कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अझै बनेन राजघाटमा पुल

धनगढी — राजघाट र धनगढीको बीचमा पर्ने मोहना नदीमा पुल नहुँदा स्थानीय बासिन्दालाई सकस भएको छ । सुक्खायाममा काठेपुल बनाएर आवतजावत गर्ने राजघाटका बासिन्दा बर्खामा भने सहजै धनगढी आउन सक्दैनन् । 

‘अहिले काठेपुल सहारा बनेको छ,’ कृष्णपुर नगरपालिका ९ राजघाटका गणेश जोशीले भने, ‘बर्खा लागेपछि हैरानी हुन्छ । गेटा हुँदै घुमेर आउनुपर्छ ।’ यहाँका बासिन्दा शिक्षा, स्वाथ्यका लागि धनगढीमा आश्रित छन् । बाढी आउनेबित्तिकै काठे पुल बगिहाल्छ । त्यसपछि स्थानीयले हरेक बर्खामा डुंगा चलाउँछन् ।


ठूलो बाढी आएका बेला त्यही डुंगा पनि रोकिन्छ । राजघाटका बासिन्दालाई लक्षित गरी मोहना नदीमा ५ वर्षअघि पक्की पुलको योजना सुरु भएको थियो । तर अहिलेसम्म पनि पुल बन्न सकेको छैन् । पक्की पुल बन्ने भनेपछि स्थानीय बासिन्दा खुसी भएका थिए ।


निर्माण सम्झौता भएको लामो समयसम्म निमार्ण कार्य सम्पन नभएपछि स्थानीय बासिन्दाहरू निराश छन् । ‘नदीमा पुल नभएकाले समयमा अस्पताल पुर्‍याउन नसकेर कतिपयको ज्यान गएको छ,’ राजघाटकै निर्मला पाण्डेले भनिन् ।


बर्खामा छोराछोरी विद्यालय पठाउन डर लाग्ने गरेको राजघाटका शम्भु चौधरीले बताए । उनले बिहान विद्यालय पठाएका छोराछोरी साँझ सकुशल घर फर्किन्छन्, फर्किंदैनन् भन्ने चिन्ता लाग्ने गरेको बताए । ‘राजघाटबाट धनगढी पुग्न साइकलमा १५ मिनेटको बाटो छ । तर, बर्खा सुरु भएपछि धनगढीमै डेरा गरेर छोराछोरी पढाउनुपर्छ,’ चौधरीले भने । राजघाटवासी कञ्चनपुरका बासिन्दा भए पनि उनीहरूको मुख्य बजार धनगढी हो ।


दैनिक झन्डै दुई सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनका लागि धनगढी आउने गर्छन् । त्यति नै संख्यामा तरकारी, दूध बिक्री गर्ने कृषक र सर्वसाधारण मेलापातको लागि आउने गरेका छन् । दैनिक झन्डै ६ सयको हाराहारीमा धनगढीसम्म ओहोरदोहोर गर्दै आएको स्थानीय बताउँछन् ।


धनगढी उपमहानगरपालिका ३ को मोहना राजघाट पक्की पुल समयमै निर्माण सम्पन हुन नसकेर समस्या भएको हो । ‘पुल बन्ने आशामा ५ सम्म पनि प्रतिक्षा गरियो,’ कृष्णपुर ९ राजघाटका ७० वर्षीय उमेशप्रसाद जोशीले भने, ‘अब त आस पनि मरिसक्यो ।’ यो पुल बनेपछि धनगढीसँग कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट, पिपरिया र बिचवा गाउँ जोडिने थिए ।


मोहना नदीको राजघाटमा ०७०/७१ मा पक्की पुल निर्माणको योजना सुरु भएको हो । ३ वर्षभित्र पूरा हुनुपर्ने उक्त पुल ५ वर्ष बित्नै लाग्दा पनि एलाइट एडभेञ्चर जेभी कम्पनीले बनाउन सकेको छैन । पुल निर्माणको काम हालसम्म ५० प्रतिशत मात्र भएको छ । पहिलो वर्ष कम्पनीले राम्रै काम गरे पनि दोस्रो वर्ष इन्धन अभावका कारण काम प्रभावित भएको र तेस्रो वर्ष काम नगरेको सडक डिभिजन कार्यालयका सब–इन्जिनियर रामचन्द्र जैशीले बताए ।


‘पहिलो ३ वर्षको अवधिमा निर्माण कम्पनीले पुल निर्माण गर्न नसकेपछि पुनः २ वर्ष म्याद थप गरिएको थियो । आउँदो असारमा थपिएको म्याद पनि सकिँदै छ,’ सब–इन्जिनियर जैशीले भने, ‘यो वर्ष काम सकिने कुनै सम्भावना छैन ।’

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?