१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बन्दले सास्ती

यातायातका साधन सञ्चालन नभएकाले टाढाटाढाको गन्तव्यमा जाने यात्रु प्रचण्ड गर्मी सहँदै बसपार्कमै बस्न बाध्य 
सुदूरपश्चिम ब्युरो

धनगढी — नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार गरेको बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प हुँदा यात्रुलाई सास्ती भएको हो । 

बन्दले सास्ती

भारतमा मजदुरी गरेर घर फर्किन लागेकाले बन्दका कारण हैरानी खेप्नुपरेको छ । यातायातका साधन सञ्चालन नभएकाले टाढाटाढाको गन्तब्यमा जान थालेका यात्रु प्रचण्ड गर्मी सहँदै बसपार्कमै बस्न बाध्य छन् । कञ्चनपुरको महेन्द्रनगरबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा बन्द भए । धनगढीमा पनि त्यही अवस्था रह्यो ।


‘बिहानै महेन्द्रनगर पुगेका थियौं, साँझ घर पुग्न सकिन्थ्यो,’ सोमबार बिहान भारतको लुधियानाबाट महेन्द्रनगर पुगेको डोटी दिपायलका लोक विकले भने, ‘तर गाडी बन्द हुँदा दिनभरि बसपार्कमै बस्नु परेकोले खपिनसक्नु सास्ती भयो ।’ उनका अनुसार बन्दको मौका छोपी बसपार्क क्षेत्रका होटल व्यवसायीले खाजा तथा खानासमेत महंगो बनाएका छन् । सामान्य खाजामासमेत सय/डेढ सय तिर्नुपरेको उनले बताए ।


२७ वर्षदेखि लुधियानामा चौकीदारी काम गरिरहेका उनी पटकपटक घर फर्किदा बन्दमा परेका छन् । विगतमा पहिल्यै जानकारी हुने भएपनि यसपटक त्यस्तो कुनै थाहा नभएको उनले बताए । बैतडीका गणेश लुहार पनि अत्यावश्यक कामले घर फर्किएका हुन् । सोमबार बिहानै महेन्द्रनगर पुगेका उनी पनि बसपार्कमै अलपत्र अवस्थामा भेटिए । ‘आज जसरी पनि घर पुग्नैपर्ने थियो, तर के गर्ने गाडी नै चलेको छैन,’ उनले भने, ‘सांँझ पनि बस चल्ने हो होइन केहि थाहा छैन ।’


गणेश पनि लामो समयदेखि भारतमा मजदुरी गर्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला पनि बारम्बार घर फर्किने क्रममा उनी बन्दमा परेका छन् । एक/दुई पटक त महेन्द्रनगरबाटै फेरी भारत फर्केको उनले बताए । ‘बन्द गरेर सर्वसाधारणलाई मात्रै दुःख दिने काम हुन्छ,’ गणेश भन्छन्, ‘हुने खानेले त आफ्नो काम जसरी पनि गरिहाल्छ ।’


बन्दको मौका छोपी तीन पांग्रे अटो रिक्सा चालकले यात्रुबाट चर्को भाडा लिएका छन् । २०/३० रुपैयांँ भाडा लाग्ने ठाउँमा पनि सयसम्म लिएको यात्रु गुनासो गर्छन् । सामान्य अवस्थामा सय भाडा लाग्ने महेन्द्रनगर–अत्तरियाको १ हजारसम्म लिएको यात्रुहरू बताउँछन् ।


स्थानीय प्रशासनले यसरी बन्दका बेला मनपरी ढंगले भाडा लिने काम नियन्त्रण गर्नुपर्ने यात्रुहरूको बताउँछन् । यता धनगढी बसपार्कमै गर्मी सहन गाह्रो मानेर रन्थनिएकी रत्ना गिरीले भनिन् ‘हिजो बिहानै धनगढी पुगियो, आज बिहानै घर जाउँला भनेको बस बन्द भएर यतै रोकिनु परेको छ,’ उनी भारतबाट सुर्खेत घर फर्किदै थिइन् । बन्दका कारण यात्रु मात्र होइन । ब्यवसायीहरूले पनि घाटा ब्यहोर्नुपरेको बताएका छन् । बजार सुनसान भएपछि ब्यापार घटेको उनीहरूले बताएका हुन् ।


‘कपडाको पसल छ, बन्द नभए कम्तीमा दिनमा १०/१२ जना ग्राहक आउँथे । बन्दले पसलमा एक जना ग्राहक पनि आएको छैन,’ धनगढीका कपडा ब्यवसायी लीलाराम जोशीले भने ।


धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् । बजार पूर्ण रूपमा बन्द भयो । ‘वर्ष दिनमा भारतबाट घर फर्किंदै छु, आज साँझसम्म घर पुग्ने आशाले खुसी लागेको थियो,’ बसपार्कमा भेटिएका डोटी दिपायलका वीरबहादुर खड्काले भने, ‘बन्दका कारण आज दिनभर यतै बिताउनुपर्ने बाध्यता भयो ।’


भवानी भट्ट (कञ्चनपुर) र निर्मला खडायत (धनगढी)

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?