कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एकै ठाउँमा ३ सडक

दार्चुला — महाकाली नगरपालिका ३ जाईझुल र बाज गाउँलाई जोड्न ३ वटा सडक निर्माण हुँदैछन् । ३ वर्ष अघिदेखि निर्माण सुरु भएका दल्लेक–जाईझुल–ऐरान, झुस्कु–जाईझुल र मालबेला–जाईझुल–बाज सडक हाल निर्माणाधीन अवस्थामा छन् । 

पछिल्लो समयमा निर्माणाधीन सडक कहाँबाट लैजाने भन्नेमा गाउँलेबीच विवाद भएपछि काम रोकिएको छ । नगरपालिकाले निर्माण गर्ने झुस्कु–जाईझुल हुँदै अगाडि बढ्ने सडक बाजमा रोकिएको छ ।


प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको मालबेला–जाईझुल–बाज सडकले खलंगा–काटै–दल्लेक सडक र बांगागड खानेपानी लाइन प्रभावित गरेको बासिन्दा बताउँछन् । सडक निर्माणले अन्य क्षेत्रमा पर्ने प्रभावको अध्ययननै नगरी सडक निर्माण गर्दा नौगाड र महाकाली नगरपालिका क्षेत्रलाई सदरमुकामसँग जोड्ने सडकले महाकाली नगरपालिका ४ बांगाबगडको खानेपानी पनि अवरुद्ध भएको छ । बांगाबगड खानेपानी ट्याङ्की छेउको बस्ती पनि जोखिममा परेको छ ।


पूर्वाधार विकास कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त सडकका कारण सदरमुकामसँग जोड्ने सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि नौगाड गाउँपालिकाका ६ वटै वडा र महाकाली नगरपालिकाका २ वडाका स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम रहेको महाकाली नगरपालिका ३ झुस्कुका स्थानीय नरेन्द्र बडूले बताए ।


नियमित रुपमा जिप चल्दै आएको सडकको माथिबाट अर्को सडक निर्माण हुन थालेपछि तल्लो सडकमा क्षति पुगेको उनको भनाई छ । ‘चालु सडकमाथि अर्को सडक निर्माण हुन थालेपछि सेवा सुचारु रहेको तल्लो सडक पनि अवरुद्ध भएको हो’ उनले भने ‘माथिल्लो सडक खन्ने क्रममा खसेको ढुंगा माटोले चालु सडक पुरिने अवस्था आएको छ ।’ साँघुरो सडकमा माथिबाट आएको ढुंगामाटो पञ्छाएर जिप चलाउनु परेको उनले बताए ।


खलंगा–काटै–दल्लेक सडक सञ्चालन गर्न मेसिन नै सडकमा राखेर काम भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । ५ सय मिटरसम्म अहिले सडकको ट्रयाक खोलिएको छ । उक्त सडकले ३ किलोमिटर दूरीसम्म निर्माण सम्पन्न नभएसम्म तल्लो सडक र बांगाबगडको खानेपानी प्रभावित हुने स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?