कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुर्गममा अझै ढिके नुन

अछामका दुर्गम गाउँमा आयोडिनयुक्त नुन महंगो पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका परिवारले ढिके नुन किनेर चलाउँछन्
मेनुका ढुंगाना

अछाम — अछामका दुर्गम गाउँमा ढिके नुनको प्रयोग रोकिएको छैन । ढकारी, तुर्माखाँदलगायतका गाउँपालिका आयोडिनयुक्त नुनको पहुँचभन्दा बाहिर छन् । यहाँ नुन बिक्रि गर्ने डिपो छैन । आयोडिनयुक्त नुन महंगो पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका परिवारले ढिके नुन किनेर चलाउँछन् । 

दुर्गममा अझै ढिके नुन

ढकारी गाउँपालिका ६ ढुंगाचाल्नाकी मातु बिकलाई आयोडिनयुक्त नुन किन खानु पर्छ भन्ने नै थाहा छैन । वर्षौदेखि ढिक्के नुन नै खाइरहेको उनी बताउँछिन् । ‘पोकामा पाइने नुन ल्यायो भने एक साता चल्दैन महँगो उस्तै हुन्छ,’ उनले भनिन्, ‘ढिके नुन सस्तो पनि पाइन्छ र धेरै समय पनि चल्छ ।’


कहिलेकाहीं नुनबारे अभियान चलाउन संघसस्थांका प्रतिनिधिहरू आउने तर नुन गाउँसम्म पुर्‍याउन कसैले पहल नगरेको स्थानीय जुना विकको भनाइ छ । ‘वर्षाको समयमा यही ढिक्के नुन पाउन पनि मुस्किल हुन्छ । आयोडिन मिसिएको नुन त झन् कहाँ पाइएला र ?’ उनले भनिन्, ‘पोकामा पाइने नुन महँगो छ । एक पोकालाई ४० रुपैयाँ कहाँबाट पाउनु ?’ ४० रुपैयामा २ किलो ढिक्के नुन पाइन्छ । हामी वर्षौंदेखि त्यही खाइरहेका छौं ।’ जुनाका १ छोरा र १ छोरी छन् । जेठो छोरा ७ वर्षका भए । तर उनको उमेरअनुसारको उचाइ र तौल छैन । अरूले भनेको कुरा ढिलो बुझ्छन् ।


गर्भवती महिलालाई २ बालबालिका चिह्न भएको आयोडिन नुन मात्र खानुपर्छ भनेर सुझाव सल्लाह दिने गरेको ढुंगाचाल्ना स्वास्थ्यचौकीकी अनमी निरा साउँदले बताइन् । ‘एक महिनामा कम्तिमा १५ जना गर्भवती जाँच गराउन आउँछन् । उनीहरूले आयोडिन पाएका छैनन्,’ उनले भनिन्, ‘गर्भवती र २ वर्षमुनिका बालबालिकाले आयोडिन नपाएपछि उनीहरूको स्वास्थ्य अवस्था खस्कँदै जान्छ ।’


स्वास्थ्यकर्मीका अनुसार उमेर अनुसार तौल र उचाई बृद्धि नहुनुमा नुनको कारणले समस्या देखिन्छ । ढकारी गाउँपालिका ६ मा पर्ने ढुंगाचाल्नामा पकेटमा पाइने आयो नुन एक पोकाको ३० देखि ४० रुपैयाँसम्ममा स्थानीय बजारमा बिक्री भइरहेको छ । ढिक्के नुन किलोको २० रुपैया पर्छ । ‘सरकारले अनुदान दिएर आयो नुन पसलमा राखेर बेच्न पनि पाइँदैन । दुर्गम गाउँहरू डिपोको पहुँचमा पनि छैनन्’, स्थानीय व्यापारी पदम बुढाले भने, हामीले ढिके नुनबाहेक पकेटमा प्याक गरेको अन्य आयोडिनयुक्त नुन पनि बेच्ने गरेका छौं । तर ग्राहकले ढिके नुन नै खोज्छन् ।’


उनकाअनुसार ढकारीको सैनबजारमा डिपो छ । त्यहाँ प्रति पोका १२ को दरले बिक्रि भइरहेको छ । विकट मानिने ढुंगाचाल्नामा त्यहि नुन पोकाको ४० पर्ने भएकाले सर्वसाधारणले सजिलै किन्न सक्दैनन् । मंगलसैनको डिपोबाट ९ रुपैयाँमा पाइने आयो नुन ढकारीको डिपोबाट १२ पर्नु र ढुंगाचाल्नाको बजारमा त्यही नुन ४० मा किनबेच हुँदै आएको स्थानीय बासिन्दाहरूले बताए ।


गाउँमा आयोडिनयुक्त नुन नपाउँदा त्यसको मारमा महिला र बालबालिकालाई बढी असर परेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले बताइन् । ‘ढकारीमा भएको डिपोले सबै गाउँलाई भ्याएको छैन । अन्य पायक पर्ने स्थानमा डिपो स्थापना गर्न हामीले पनि पहल गरिरहेका छौं ।’

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?