कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विकासका काममा अवरोध

भवानी भट्ट

कञ्चनपुर — महाकाली पुल योजनाअन्तर्गत पहुँच मार्ग निर्माणको काम चलिरहेको छ । स्थानीयको एक समूहले बिहीबार महाकाली नदीमै पुगेर निर्माण सामग्री उत्खननको काम रोक्यो ।

स्थानीयले तटबन्ध नजिकैबाट निर्माण सामग्री उत्खनन भइरहेकाले बस्ती जोखिममा पर्ने भन्दै काम रोकेका हुन् । केहीबेरमा महाकाली पुल निर्माण कम्पनी र स्थानीयबीच तटबन्धभन्दा २ सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्ने सहमतिपछि काम सुरु भयो ।


सहमति भएको दोस्रो दिन शुक्रबार फेरि नदी किनारका स्थानीयले सडक निर्माणमा अवरोध गरे । भीमदत्त नगरपालिका ११ भुजेलाका स्थानीयले घरको उचित मुआब्जा नपाएको भन्दै उनीहरूले सडक निर्माणमा अवरोध गरेका हुन् । जमिनको मुआब्जामा चित्त बुझे पनि पक्की संरचनाको मुआब्जा सन्तोषजनक नभएको भन्दै स्थानीयले काम रोकेका हुन् ।


‘जमिन र कच्ची घरको मुआब्जा ठीक छ, तर पक्की घरको मुआब्जा हामीलाई चित्त बुझेको छैन,’ स्थानीय नरेन्द्र रानाले भने, ‘अहिले नयाँ घर बनाउनुपर्दा मुआब्जा रकमले पुग्दैन ।’ उनका अनुसार जनप्रतिनिधि, पुल योजना र निर्माण कम्पनीले घरका मुआबजा पुनर्मूल्यांकन गर्ने आश्वासन दिएका थिए । तर अहिले पुनर्मूल्यांकन बिना नै घर भत्काउनुपर्ने भन्दै उनीहरूले अवरोध गरेका हुन् ।


त्यस क्षेत्रमा करिब १ दर्जन पक्की घर सडकमा परेका छन् । उनीहरूले पक्की घरको मुआब्जा पनि कच्चीसरह नै दिएको बताए । शुक्रबार बिहानै भेला भएका स्थानीयले भुजेला क्षेत्रमा सडक निर्माणका लागि भइरहेको भरानको काममा अवरोध गरेका हुन् । उनीहरूले माग पूरा नभएसम्म काम सुरु हुन नदिने अडान लिएका छन् । केही दिनअघि पुल योजनाको काम निरीक्षणका लागि पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पनि स्थानीयले घरको मुआब्जा बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।


महाकाली पुल योजनाले पनि यसअघि नै मूल्यांकन गरी जमिन र घरको मुआब्जा वितरण भइसकेको जनाएको छ । योजनाले मुआब्जा पुनर्मूल्यांकनका लागि कुनै आश्वासन पनि नदिएको योजना प्रमुख खडगलाल श्रेष्ठले बताए । ‘हामीले सबैको मूल्यांकन गरेर मुआब्जा वितरण गरिसकेका छौं,’ उनले भने, ‘कच्ची, पक्की सबै घरको मूल्यांकन गरी मआब्जा निर्धारण गरिएको हो ।’


उनले मआब्जा पुनर्मूल्यांकन लागि निवेदन दिने समयावधि पनि नाघिसकेको बताए । पुल योजनाले सडकमा पर्ने दर्त्ता जमिनको मआब्जा पनि वितरण गरिसकेको छ । ऐलानी जमिनको मुआब्जा वितरणको तयारी भइरहेको योजना प्रमुख श्रेष्ठले बताए । ‘ऐलानीको पनि मुआब्जा वितरणका लागि मूल्यांकन भइसकेको छ,’ उनले भने, ‘एक हप्ताभित्र वितरण गरिसक्छौं ।’


महाकालीमा ४ लेनको पक्की पुलसंँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि निर्माणाधीन पक्की पुलसम्मको पहुँच मार्ग निर्माणको काम चलिरहेका छन् । गड्डाचौकीदेखि पुलसम्म र पुलदेखि महाकाली नगरपालिकाको मलेरिया नालासम्मको पहुँच मार्गमा २ वटा पक्की पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ‘स्थानीयको अवरोधपछि भुजेला क्षेत्रमा भरानको काम रोकिएको छ,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसीका इनिजनियर किशोर पाण्डेयले भने, ‘पटक पटक हुने अवरोधले निर्माण कार्य प्रभावित हुन थालेको छ ।’


गत वर्ष पनि भीमदत्त नगरपालिका ११ र १२ का स्थानीयले ऐलानी जमिन भएकालाई मुआब्जा नदिएको भन्दै निर्माण कार्यमा अवरोध गरेका थिए । उनीहरूले वर्षौंदेखि बसोबास भए पनि जग्गाधनी पुर्जा नहुँदा उठीबास हुने अवस्था आएको भन्दै उचित मुआब्जा पाउनुपर्ने माग राख्दै निर्माणकार्यमा अवरोध गरेका हुन् । स्थानीयको अवरोधपछि पुल योजनाले ऐलानी जमिनको पनि लगत संकलन गरी मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?