आउजाउमै सकिन्छ योजनाको रकम

वसन्तप्रताप सिंह

बझाङ — सदरमुकाममा रहेको साइपाल गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको घुँइचो थियो । जन्म, मृत्यु दर्ता गर्नेदेखि नागरिकताको सिफारिस लिन आएकाहरू आफ्नो काम चाँडो गरिदिन कर्मचारीहरूलाई अनुरोध गरिरहेका थिए ।

योजना सम्झौता गर्न र किस्ता भुक्तानीका लागि आइतबार आएकाहरू आफ्नो काम छिटो नभएकामा मुर्मुरिँदै पनि थिए । ‘चैनपुर आएकै ४ दिन भइसक्यो । अझै काम भएन । घरको काम अलपत्र छ,’ योजना सम्झौता गर्न आएकी उपभोक्ता समिति कोषाध्यक्ष विमला बोहराले भनिन्, ‘आउँदाजाँदा ४०/५० हजार खर्च हुन्छ ।’

साइपालका बासिन्दालाई सदरमुकाममा आएर पनि कार्यालय र जनप्रतिनिधि खोज्न हम्मे हुन्छ । ‘फोन गर्दा कहिले काठमाडौं त कहिले धनगढी छौं भनेर जवाफ दिन्छन्,’ वडा ५ का उमेश बोहराले भने, ‘कहिले उनीहरू (जनप्रतिनिधि र कर्मचारी) को फोनै अफ हुन्छ । दु:ख ज्युँका त्युँ छन् ।’ गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थानीय तहहरू गठन भए ।

साइपाल गाउँपालिकाको सिंहदरबार भने सदरमुकाममै छ । यहाँ जनताले सामान्य सिफारिसदेखि योजना सम्झौता र निकासा गर्न पनि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छैनन् । दैनिक सेवा दिनुपर्ने कर्मचारीहरू पनि सदरमुकामकै कार्यालयमा हुन्छन् ।

कार्यालय सेवाग्राहीभन्दा पनि जनप्रतिनिधि र कृषि, पशुसेवा, महिला बालबालिका हेर्ने कर्मचारीहरूले भरिएको हुन्छ । सदरमुकामदेखि ३ देखि ५ दिनसम्मको पैदल दूरीमा रहेको साइपालका विभिन्न गाउँबाट सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ देखि १० दिनसम्म लाग्छ ।

धुलीबाट हिँडेर नागरिकताको सिफारिस लिन सदरमुकाम पुगेका सरोज बोहराले भने, ‘एउटा सिफारिस लिन पनि २०/३० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । गाउँपालिका बनिसकेको ३ वर्ष हुदाँ पनि हामीले घर दैलोमा सेवा पाउन सकेका छैनौं ।’

विकास निर्माणको रकम आउजाउमै सकिन्छ
गाउँपालिकाको कार्यालय सदरमुकाममा हुँदा सबैभन्दा बढी यहाँको विकास निर्माणका काम प्रभावित भएका छन् । गत वर्ष सम्पन्न भएको वडा २ धलौनको भलकुलो निर्माण योजनाको उदाहरण दिँदै स्थानीय वसन्त बोहराले भने, ‘१ लाखको योजना थियो । ६१ हजार रुपैयाँ उपभोक्ता समितिका ३ पदाधिकारीको चैनपुर आउँदाजाँदाको खाना, बास र यातायातमै सकियो । बचेको ३९ हजारले २ दिन कुलो सोर्होने काम गरी योजना पूरा भयो ।’

‘सबै योजनाको १० देखि २० प्रतिशतसम्म रकम चैनपुर आउजाउमै सकिन्छ,’ कायाखोला लघु जलविद्युत् योजनाका अध्यक्ष मानबहादुर बोहराले भने, ‘सानातिना योजनाको कामै हुदैन । यता निमित्त प्रमुख प्रशाशकीय अधिकृत राधाकृष्ण जोशीले गाउँपालिकामा बैंक, इन्टरनेट, हुलाक सेवा नभएकाले सदरमुकाममा कार्यालय खोल्नुपरेको बताउँछन् ।

‘सबै काम चैनपुरमै हुने भएकाले यता सम्पर्क कार्यालय खोलेका हौं,’ उनले भने, ‘उता फोन सम्पर्कै हुँदैन । मन्त्रालय र प्रदेशले गर्ने परिपत्रहरूबारे समेत जानकारी हुँदैन । त्यसैले सदरमुकाममा बसेका हौं ।’ उनले महिनाको ३ दिन कार्यापालिकाको बैठक साइपालमै बस्ने गरेको बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृति मासिएकोमा चिन्ता

कान्तिपुर संवाददाता

टीकापुर — आफनो गीत संगीत सबैलाई मनपर्छ । आफ्नो कलासंस्कृति जोगाउने समुदायको कर्तव्य पनि हो । परम्परागत तथा मौलिक गीत संगीत र कलासंस्कृति हराउँदै गएकोमा थारू कलाकारहरू चिन्तामा छन् । 

यही चिन्ता हटाउन मंगलबार चितवनदेखि कञ्चनपुरसम्मका थारू कलाकार कैलालीको जोशीपुरमा भेला भएका छन् । पुराना थारू लोकगीत संगीत हराउँदै जानुको कारण तथा जगेर्नाका लागि गर्नुपर्ने भूमिकाबारे उनीहरूले दिनभर उत्तर खोजेका छन् ।

बिहान प्रभातफेरी र दिनभर थारू गीत संगीतको संरक्षण र संवर्द्धनका लागि जोशीपुरको तातो मौसममा उनीहरूले तातो बहस चलाए ।

हिन्दी तथा नेपाली गीत संगीतको प्रभावका कारण पुराना थारू मौलिक गीत हराउँदै गएको उनीहरूको निष्कर्ष छ । बहसमा सहभागी थारू गायिका बर्दियाकी सोमती थारूले भनिन्, ‘थारू समुदायको पुराना गीत संगीतलाई जोगाउन राज्य गम्भीर छैन ।’

समुदाय नै संगठित नभएकाले थारू गीत संगीतमा राज्यको लगानी हुन नसकिरहेको उनले सुनाइन् । उनले भनिन्, ‘हिजो थरुहट नारा र सवाल बोकेर चुनाव जितेकाहरू आज मौलिक गीत संगीत र धर्म संस्कृतिलाई कुनै प्राथमिकता र लगानी गदैनन् ।’ थारू कलाकारलाई मात्र होइन सबै थारूलाई आफ्नो धर्म संस्कृति पोसाक प्यारो छ । तर हिन्दी नेपाली गीत संगीत र पोशाकको चेपुवामा थारू परम्परा हराउदै गएको अर्का सहभागी बलिराम चौधरी बताउँछन् ।

उनले भने, ‘नयाँ पुस्ता संस्कृति जोगाउन आफ्नै लगानीमा एल्बम तथा युट्युब च्यानलमार्फत गीतहरू बनाइरहेका छन् । यसको संवर्द्धनका लागि राज्य पक्षबाट पनि सोचिनुपर्छ ।’

हिन्दी, अंग्रेजी, नेपाली गीत संगीतको प्रभावले थारू गीत संगीत तथा भिडियोहरू छाडा हुन थालेको अगुवाहरूको चिन्ता छ । यसलाई रोक्न पनि पहल हुन जरुरी रहेको उनले बताए ।

अन्तर्क्रियामा सहभागी जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले थारू कलाकारलाई गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने ठोस योजना नभएकोले समस्या भएको बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्