कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संस्कृति मासिएकोमा चिन्ता

टीकापुर — आफनो गीत संगीत सबैलाई मनपर्छ । आफ्नो कलासंस्कृति जोगाउने समुदायको कर्तव्य पनि हो । परम्परागत तथा मौलिक गीत संगीत र कलासंस्कृति हराउँदै गएकोमा थारू कलाकारहरू चिन्तामा छन् । 

यही चिन्ता हटाउन मंगलबार चितवनदेखि कञ्चनपुरसम्मका थारू कलाकार कैलालीको जोशीपुरमा भेला भएका छन् । पुराना थारू लोकगीत संगीत हराउँदै जानुको कारण तथा जगेर्नाका लागि गर्नुपर्ने भूमिकाबारे उनीहरूले दिनभर उत्तर खोजेका छन् ।


बिहान प्रभातफेरी र दिनभर थारू गीत संगीतको संरक्षण र संवर्द्धनका लागि जोशीपुरको तातो मौसममा उनीहरूले तातो बहस चलाए ।


हिन्दी तथा नेपाली गीत संगीतको प्रभावका कारण पुराना थारू मौलिक गीत हराउँदै गएको उनीहरूको निष्कर्ष छ । बहसमा सहभागी थारू गायिका बर्दियाकी सोमती थारूले भनिन्, ‘थारू समुदायको पुराना गीत संगीतलाई जोगाउन राज्य गम्भीर छैन ।’


समुदाय नै संगठित नभएकाले थारू गीत संगीतमा राज्यको लगानी हुन नसकिरहेको उनले सुनाइन् । उनले भनिन्, ‘हिजो थरुहट नारा र सवाल बोकेर चुनाव जितेकाहरू आज मौलिक गीत संगीत र धर्म संस्कृतिलाई कुनै प्राथमिकता र लगानी गदैनन् ।’ थारू कलाकारलाई मात्र होइन सबै थारूलाई आफ्नो धर्म संस्कृति पोसाक प्यारो छ । तर हिन्दी नेपाली गीत संगीत र पोशाकको चेपुवामा थारू परम्परा हराउदै गएको अर्का सहभागी बलिराम चौधरी बताउँछन् ।


उनले भने, ‘नयाँ पुस्ता संस्कृति जोगाउन आफ्नै लगानीमा एल्बम तथा युट्युब च्यानलमार्फत गीतहरू बनाइरहेका छन् । यसको संवर्द्धनका लागि राज्य पक्षबाट पनि सोचिनुपर्छ ।’


हिन्दी, अंग्रेजी, नेपाली गीत संगीतको प्रभावले थारू गीत संगीत तथा भिडियोहरू छाडा हुन थालेको अगुवाहरूको चिन्ता छ । यसलाई रोक्न पनि पहल हुन जरुरी रहेको उनले बताए ।


अन्तर्क्रियामा सहभागी जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले थारू कलाकारलाई गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने ठोस योजना नभएकोले समस्या भएको बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?