१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

४ सय ठाउँमा आगलागी

मोहन बुढाऐर

धनगढी — डिभिजन वन कार्यालयले कैलालीका विभिन्न ४ सय ठाउँमा आगलागी भएको जनाएको छ । वैशाखका अन्तिम सातादेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट ४० प्रतिशत वन क्षेत्रमा क्षति पुगेको छ । 

४ सय ठाउँमा आगलागी

कैलालीका वन डिभिजन अधिकृत रामचन्द्र कँडेलले मोहन्याल र चुरे गाउँपालिकामा सल्केको ठूलो डढेलो नियन्त्रणमा ल्याउन मुस्किल भइरहेको बताए । चुरेमा पर्ने उक्त गाउँपालिका अन्तर्गतका राष्ट्रिय वनमा धेरै डढेलो लागेको छ । ‘भिरोला वन क्षेत्रमा आगलागी भएको छ,’ उनले भने, ‘स्थानीय, सुरक्षा तथा वनकर्मीको टोली आगो नियन्त्रण गर्ने प्रयासमै जुटेका छन् ।’


उनले तराईमा गौरीगंगाको मसुरिया, चौमाला, चुरे भावर, बसन्ता, धनगढी उपमहानगरपालिकाको उर्मा, कनरी, देवरियाको जंगल क्षेत्रमासमेत आगलागी भएको बताए । अहिले यहाँको आगलागी नियन्त्रणमा आइसकेको छ । अग्नि नियन्त्रण रेखाहरू बनाएर डढेलो बढ्न नदिएको उनले बताए । उनकाअनुसार राष्ट्रिय वनबाहेक केही सामुदायिक वनमासमेत आगलागी भएको हो ।


उनले ६० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको अनुमान गरिएको बताए । जसमध्ये राष्ट्रिय वन क्षेत्रमा मात्रै ७० प्रतिशत आगलागी भएको छ । उनी गर्मियाममा वनजंगल भित्र पस्ने व्यक्तिहरूबाट आगलागी हुने बताउँछन् । ‘वन जंगलभित्र घाँस दाउरालगायत विभिन्न कामका लागि जाने व्यक्तिहरूले वनमा आगो सल्काउने गरेको पाइयो,’ उनले भने, ‘चुरोटलगायतका ठुटाहरू ननिभाएर फाल्दा आगो सल्कने गरेको हो ।’


उनले सचेतनाको अभावमा लाग्ने डडेलो रोक्न जनचेतनाका कार्यक्रम समुदायस्तरमा सञ्चालन गरिने बताए । भीमदत्त राजमार्गमा पर्ने खानीडाँडा, सहजपुर क्षेत्रमा यात्रुहरूद्वारा पनि आगलागी हुने गरेको छ ।


सल्ला र साल भएको वन क्षेत्रमा भएको आगलागीले साना ठूला रूखहरूसमेत जलेर नष्ट भएका छन् । वन्यजन्तु र पक्षीहरूको बासस्थान रहेका ससाना बुट्यान, झाडीहरू पूरै नष्ट भएको छ । पक्षी र वन्यजन्तु पनि मरेको स्थानीयले बताएका छन् । वडा नम्बर ४ का वडा सदस्य शेरबहादुर घर्तीमगरका अनुसार सयौं हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।


तेघरी सामुदायिक वनका पूर्व अध्यक्ष कैलाशकुमार जोशीले नियतवश पनि केहीले जंगलमा आगो लगाउने गरेको बताए । उनकाअनुसार वनमा चोरीसिकार, काठ तस्करी र अतिक्रमणकारी समूहबाट पनि जंगलभित्र जानजानी आगजनी भएको छ ।


अतिक्रमित क्षेत्रको वनबाट सल्केकोले नियतवश कसैले आगो लगाएको उनको अनुमान छ । ‘वन क्षेत्रमा आगो लगाएर अतिक्रमण क्षेत्र बढाउने नियतले पनि कुनै ठाउँमा आगो लागेको देखिन्छ,’ उनले भने, ‘कतै आफैं पनि आगो लागेको हुन सक्छ ।’


कैलालीको ठूलो वन क्षेत्र बर्सेनि यो गर्मी मौसममा आगलागीबाट नष्ट हुँदै गएको छ । जिल्ला डिभिजनले आगो नियन्त्रणका लागि बर्सेनि करोडको बजेटसमेत विनियोजन भएको हुन्छ । तर उक्त बजेट तालिम गोष्ठीमा सकिन्छ । केही रकम फ्रिज जाने गरेको छ । स्थानीयस्तरमा सामुदायिक वन समितिका अग्नि नियन्त्रण टोली पनि यस्तो बेला खासै प्रभावकारी रूपमा सक्रिय भएको देखिंदैन ।

प्रकाशित : जेष्ठ ७, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?