कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती लोकमार्गको काम सुस्त

एक दशकअघि सुरू भए पनि हालसम्म कामले गति लिन सकेको छैन
मेनुका ढुंगाना

अछाम — सुदूरपश्चिममा सडक यातायातका लागि मेरुदण्ड हुने मानिएको सेती लोकमार्गको निर्माण कार्य सुस्त छ । एक दशकअघि सुरु भए पनि हालसम्म कामले गति लिन सकेको छैन । 

सेती लोकमार्गको काम सुस्त

निर्माण कार्यलाई गति दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय पनि स्थापना गरेको छ । काम भने काम भने छरितो छैन ।


यो लोकमार्गले अछाम, बाजुरा, डोटी, बझाङ र कैलालीलाई जोड्ने योजना छ । जसअन्तर्गत अछाममा ८० किलोमिटर, बाजुरामा १२, बझाङ खण्डमा ३८ किलोमिटर, डोटीमा ४२ किलोमिटर र कैलालीमा ७० किलोमिटर पर्छ । यो मध्ये अछाममा २६ किलोमिटर ट्रयाक खुल्नै बाँकी छ ।


बाजुरा र डोटी खण्डमा निर्माण गर्नुपर्ने कामको सर्भे डिजाइन नै भएको छैन । बझाङको ३८ किलोमिटरमा भने ट्रयाक खुलिसकेको छ । कैलाली खण्डमा २८ किलोमिटर सडकमा मात्र ट्रयाक खुलेको लोकमार्ग निर्माण कार्यालयको दक्षिणी खण्ड अछामका इन्जिनियर दुर्गा मण्डलले बताए ।


‘सेती लोकमार्गमा १ २२ किलोमिटर सडकमा ट्रयाक खुल्न बाँकी छ’ भण्डारीले भने ‘हालसम्म १२० किलोमिटरमा मात्र ट्रयाक खोल्ने काम भएको छ ।’ इन्जिनियर मण्डलले १० वटा ठेक्कामा काम भइरहेको बताए । ती मध्ये २ वटाले काम सम्पन्न गरिसकेको र अर्को एक कम्पनीले अन्तिम चरणमा पुर्‌याएको उनले बताए । ‘अन्य ७ वटा ठेक्कामा काम भइरहेको छ’ उनले भने ।


वन क्षेत्रमा रूख कटानीका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न बाँकी रहेको इन्जिनियर मण्डल बताउँछन् । ‘केही ठाउँमा रूख काट्नुपर्ने भएकाले त्यसको लागि अनुमति पाएका छैनौं,’ उनले भने ‘कार्यालयको तर्फबाट कुनै ढिलाइ भएको होइन ।’


सेती लोकमार्गका लागि चालु आवमा ३८ करोड ८२ लाख विनियोजन भएको छ । उक्त रकममध्ये हालसम्म ५ करोड मात्रै खर्च भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा यस लोकमार्गको दक्षिणी खण्डका लागि ४० करोड बजेट विनियोजन गरेकोमा काम पूरा हुन नसकेर १५ करोड ६० लाख फ्रिज गएको थियो । उत्तरी खण्डमा २३ करोड खर्च गरिएको थियो ।


प्रदेशको राजधानी धनगढीदेखि डडेलधुरा हुँदै अछामको साँफेबगर जोड्ने हाल सञ्चालित एक मात्र सडकको लम्बाइ करिब २ सय ७० किलोमिटर छ । सेती लोकमार्ग निर्माण भएपछि धनगढी-साँफेबगरको दूरी १ सय ३५ किलोमिटरमा झर्नेछ ।


निर्माणाधीन यो लोकमार्ग निर्माण भए पनि १ सय ३५ किलोमिटर दूरी कम हुनेछ । ‘समयमै काम सम्पन्न होस् भनेर दबाब दिइरहेका छौं,’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले भने, ‘यो सडकले यस क्षेत्रका बासिन्दाहरूको आवतजावतमा समय र खर्च आधा भन्दा कम गर्नेछ ।’


सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महत्वपूर्ण कोरिडोरका रुपमा पनि लिइएको छ । यस सडकले नेपालका चार धाम मध्येको एक अछामको वैद्यनाथ धाम, जडीबुटीको प्रचुर सम्भाव्यता भएको रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवर्द्भनमा टेवा पुग्ने सरोकारवालाहरू बताउँछन् ।


भारतबाट मानसरोवर क्षेत्रमा जाने तीर्थयात्रीहरूका लागि यो मार्ग सबैभन्दा छोटो र प्रभावकारी हुनेछ । ‘बझाङ, अछाम र बाजुराका बासिन्दालाई प्रदेश राजधानीसँग सहज पहुँच प्राप्त हुनेछ’, अछामका जिसस प्रमुख कुँवरले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?