बैतडी औलोको जोखिममा

बैतडी — केही वर्षअघिसम्म बैतडीमा औलोका बिरामी फाट्टफुट्ट मात्र देखा पर्थे । भारतमा लामो समय बसेर घर फर्केकाहरूमा मात्र देखिने औलो नियन्त्रण गर्न खासै कठिनाइ हुँदैनथ्यो । पछिल्ला वर्षमा औलोको संक्रमण बढ्दै गएको देखिएको छ । 

आर्थिक वर्ष ०७३/०७४ मा ६७ बिरामी भेटिएका थिए । ०७४÷०७५ मा औलोका बिरामीको संख्या ३२ थियो । स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट (मलेरिया फोकल पर्सन) सन्तोष पाण्डेयका अनुसार चालु आर्थिक वर्षको चैतसम्म २ दर्जन बढी बिरामीमा औलोको संक्रमण देखापरेको छ । गर्मी बढेसँगै केही दिनअघि ३ जनामा औलोको संक्रमण देखिएको उनले बताए । सिगास, पाटन र मेलौलीमा औलोका बिरामी फेला परेका उनको भनाइ छ ।


जिल्लामा औलौको जोखिम बढ्दै गएको बताउँदै उनले भने, ‘लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग भएकाले घरवरपर सफा राख्न जरुरी देखिन्छ ।’ सुत्दाखेरी झुलको प्रयोग अनिवार्य गर्नुपर्ने उनको भनाइ छ । साथै साँझको समयका शरीर छोप्ने कपडा लगाउनुपर्नेमा उनले जोड दिएका छन् ।


कम्पन ज्वरो आउनु र धेरै थकाइ लाग्नु औलोका लक्षण भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्ता लक्षण देखापरेमा तुुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताए । सबै सरकारी स्वास्थ्य संस्थाहरूमा औलोको निशुल्क चेकजाँच र उपचार हुने गरेको छ ।


औलो रोग नियन्त्रणका लागि जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले बताइन् । जोखिम बढी भएका पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका विभिन्न ठाउँमा झुल वितरण गरिएको उनले बताइन् । पहिले केही ठाउँका स्थानीय बासिन्दालाई मात्र औलो देखापरे पनि अहिले प्राय: जिल्ला भरकै मानिसहरूमा देखापर्न थालेको उनले बताइन् ।


औलौ हुन नदिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउँदै उनले भनिन्, ‘जुलाघाटलगायत भारतसँग जोडिएका सीमा नाकामा पनि औलो चेकजाँच गर्ने हेल्थ डेक्स स्थापना गर्ने गरेका छौं ।’ भारतबाट एकै पटक धेरै नेपाली घर फर्किने समयमा डेक्स राखेर सेवा दिने गरेको उनले बताइन् । दसैं, तिहार, गौरा पर्वमा बढीजसो घर फर्किने भएकोले जाँच गरेर मात्र पठाउने गरेको बताउँदै उनले भनिन्, ‘औलोको संक्रमण देखिए तत्काल उपचार गर्न लैजाने गरेका छौं ।’


गत वर्ष दसैंको समयमा सीमा जोडिएका २ ठाउँमा हेल्थ डेक्सको स्थापना गरेको उनले बताइन् । नगरपालिकाको तर्फबाट पनि नियन्त्रणका लागि कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझा बताउँछिन् । प्रभावित संख्या बढिरहेकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीयसँग छलफल अघि बढाउने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?