२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

माग एकातिर सहयोग अर्कैतिर

मोहन शाही

डोटी — मौरी नेपाली ४८ बर्षकी भइन् । पूर्वीचौकी गाउँपालिका २ बगलेकमा उनको घर र करेसावारीका लागि सानो जमिन छदैछ ।

माग एकातिर सहयोग अर्कैतिर

मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत अनुदान पाउने सुचीमा परेकी उनले अनुदानको रकमले घर निर्माण बाहेक अरु केही गर्न नपाउने भइन । ‘आवश्यकता एकातिर छ, अनुदान अर्कै कामका लागि आयो,’ उनले भनिन् ।


उनको परिवारमा ४ सन्तान, सासु र श्रीमान् छन् । केही गरिखान हातमा उनीसँग न सीप छ, न ब्यापारब्यवसाय गर्न लगानी गर्ने हैसियत छ । जिविकोपार्जनका लागि कुनै सीप वा अन्य उपाय आफ्नो परिवारको आवश्यकता रहेको उनी बताउँछिन् ।


सरकारले चालु आर्थिक वर्षको कार्यक्रमबाट जमिन र घर खरिदका लागि ५ लाख २५ हजार उपलब्ध गरायो । उनी त्यो रकमले ब्यापार ब्यवसायमा लगानी गर्न चाहन्थिन् । तर मुक्त हलियाका पुनःस्थापना कार्यक्रम अन्तर्गत बनेको सरकारी निती उनका लागि बाधक भयो ।


परिवारलाई ओत लगाउन घरजग्गा हुँदाहुदै पनि उनले गाउँनजिकै रहेको बाटेओखड जंगलमा अर्को घर र जग्गा किन्नै पर्ने भयो । ‘आयआर्जनका लागि अनुदान दिएको भए राम्रो हुने थियो,’ उनले भनिन्, ‘अनुदानको रकम घरजग्गा बाहेक अन्य प्रयोजनमा खर्च गर्न नपाइने भन्यो ।’ जेठो छोरा सुन्दर ४ कक्षा पढापढै रोजीरोटीका लागि भारत पसिसकेका छन् । श्रीमान् पनि उतै छन् ।


बगलेककै प्रकाश बिक गाउँको स्कुल पढापढै भारत पसेका २४ बर्षीय युवक हुन् । परिवारको दैनिक खर्च जुटाउन भारत जानैपर्ने बाध्यतामा रहेका उनी गाउँमै रोजगारी चाहिरहेका छन् । तर उनले सोचेको पुरा भने हुन सकेको छैन ।


सरकारले उपलब्ध गराएको ५ लाख २५ हजार रुपैयाले आफ्नो परिवारको जिविकोपार्जमा कुनै योगदान नदिएको उनी बताउँछन् । आयआर्जनसहितको पुनःस्थापना हुनुपर्ने उनको माग छ । ‘सरकारले घरवार, जग्गाजमिन नभएकालाई घरजग्गा दिनु धेरै राम्रो हो । तर हामीलाइ त्यो भन्दा आयआर्जन उपायको टडारो आवश्यकता छ,’ बिकले भने, ‘हाम्रो आवश्यकता नबुझि सरकारले अनुदान दियो ।’


गतबर्ष मुक्त हलियाको ‘क’ बर्गको परिचयपत्र पाएका ३० परिवारले जग्गा खरिद र घर निर्माणका लागि १ करोड ५७ लाख पाएका थिए । उक्त रकमबाट गाउँ नजिकैको बाटेओखडमा जमिन खरिद गरेपनि बस्न भने कोही गएका छैनन् । लालपुर्जा भएको ८ आना जमिन हातमा पर्दा केही खुसी लागेको भएपनि त्यसबाट बिगतदेखि भोग्दै आएको पीडामा मलम लगाउन सहयोग नपुगेको उनीहरूको दुखेसो छ ।


उनीहरू हलिया भएपनि आफ्नै जग्गा र जमिनमा पहिल्यैदेखि बस्दै आएका छन् । बगलेखको पुरै वडामा बसोवास गर्ने परिवारहरूको नाममा लालपुर्जा नहुँदा सिंगो गाउँ कानुनी रुपमा सुकुम्बासी जस्तो देखिएको बिकले बताए ।


ती मुक्त हलिया परिवार सबैको घर र सानो जग्गा रहेको स्थानीय अमर साउँद बताउँछन् । ‘घरजग्गा त सबैको छ । नम्बरी जग्गा नहुँदा उनीहरू ‘क’ बर्गको हलियामा परेछन्,’ साउँदले भने, ‘गरिबीले परिवार पाल्न उनीहरूलाई समस्या भए पनि सरकारले एक टुक्रा जग्गा र सानो घर बनाइदिदैमा परिवारको पेट पालिदैन ।’


दिपायल सिलगढी नगरपालिका ७ उडीतोलामा बगलेखको बाटेओखडमा ३० परिवारका लागि सरकारी अनुदानका घरमा बनेका छन् । घर बनेपनि २ परिवार मात्रै बस्न सुरु गरेका छन् । अन्य सबै परिवार पहिल्यैका घरहरूमा बसेको मुक्त हलिया रुपा कोलीले बताइन् ।


भूमिसुधार मन्त्रालय अर्न्तगत पुनःस्थापना कार्यक्रम संयोजक गोपाल गिरीकाअनुसार हालसम्म एक हजार २ सय ९१ ले घर र जमिन दुबै, एक हजार ५ सय २२ परिवारले घर निर्माण र ५ हजार ७ सय ६ परिवारले घर मर्मत गरेको तथ्यांक छ ।


जबकी मुक्त हलियाको संख्या १६ हजार ९ सय ५३ परिवार रहेको सरकारी तथ्यांक छ । तत्कालिन सुदूर र मध्यपश्चिमका १२ जिल्लामा हलिया प्रथाको पहिचानसहित २०६५ भदौमा हलिया मुक्तिको घोषणा गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?