झुण्डिएकाे अवस्थामा किशोरीकाे शव फेला

कान्तिपुर संवाददाता

बैतडी — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ । 

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा अध्ययनरत ती छात्राको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ 'घटनाबारे अनुसन्धान भइरहेको छ, अहिले केही भन्न सकिने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।

मृतक किशाेरीको कोठामा भेटिएकाे सामानका आधारमा मेलौली-१ का प्रशान्त क्षेत्रीलाई पक्राउ गरिएको छ ।

किशाेरीकाे काेठामा प्रशान्तको पर्स फेला परेको आधारमा अनुसन्धानका लागि पक्राउ गरेकाे गिरीले बताए बताए। 'पर्समा नागरिकता, फोटो र १० हजार नगद पनि रहेको छ। त्यही आधारमा अनुसन्धानका लागि प्रशान्तलाई पक्राउ गरेका हौं,' प्रहरी नायब उपरीक्षक गिरीले भने।

प्रकाशित : जेष्ठ २, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : गगन थापा

भीमबहादुर सिंह

जाजरकोट — नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए ।

प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयक विरुद्ध सञ्चार जगत मात्र होइन आम नेपाली जनता पनि जाग्नुपर्ने थापाको भनाई थियो।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत नेपाली कांग्रेस पार्टी जाजरकोट क्षेत्र नं २, क्षेत्रिय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। पूर्वमन्त्री समेत रहेका थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको बताए।

ओली सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उनले दाबी गरे। ‘गणतान्त्रिक व्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्छ। त्यस्तै पत्रकारले गलतको कामको विरोधमा लेख्न र बोल्न पाउनुपर्छ,’ थापाले भने।

दुई तिहाईको केपी ओली सरकारले जनताका लागि गर्नुपर्ने काम त गर्दै गरेन, गर्न नहुने काम समेत गर्न थालेको थापाले बताए। ‘राष्ट्रपति सडकमा निस्कँदा समेत जनताको भागभाग हुन्छ, जस्का कारण गणतान्त्रिक व्यवस्था प्रति जनतामा आक्रोस पैदा भएको छ,’ नेता थापाले भने।

उनले पछिल्लो समय नेपाली कांग्रेस कमजोर नभएर जिम्मेवार भएको बताएका छन्। कांग्रेस गणतन्त्र, संविधान कार्यान्वयन र राजनीतिक मुल्यमान्यता प्रति जिम्मेवार भएको थापाले बताए। प्रधानमन्त्री ओलीले जथाभावी गफलाई स्थान दिएको तर, नेपाली नागरिकको हक हितमा ध्यान नदिएको उनले बताए।

उक्त आमसभामा केन्द्रिय प्रतिनिधी एवं पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टले देशको वर्तमान अवस्था र कांगेसको भुमिकाबारे जनतालाई स्पष्ट पार्न जनजागरण अभियान लिएर गाउँ पसेको बताए। दुई तिहाई सरकारका गलत गतिविधीको भण्डाफोर गर्न जनजागरण अभियान मार्फत सम्पूर्ण देशवासी जाग्नुपर्ने विष्टले बताए।

जनजागरण अभियानमा कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाह, नेता वेदराज सिंह, शेरबहादुर शाही लगायत सहभागिता रहेको छ। जाजरकोट कांग्रेसले जनजागरण अभियान अर्न्तगत सदरमुकाम खलंगा र छेडागाड नगरपालिकाको थलहबजारमा कार्यक्रम सम्पन्न गरेको छ। सोही अभियान अर्न्तगत कांग्रेसले नलगाड नगरपालिकाको दल्ली, बारेकोटको लिम्सा, कुशे गाउपालिकाको भार्म, भेरी नगरपालिकाको स्याउलीबजार लगायत स्थानमा कार्यक्रम आयोजना गर्न लागेको नेता वेदराज सिंहले बताए।

प्रकाशित : जेष्ठ २, २०७६ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्