मुक्त हलियामा लगानी खेर

मोहन शाही

डोटी — मुक्त हलिया पुनःस्थापनाका लागि गरिएको करोडौंको लगानी खेर गएको छ । विभिन्न व्यक्तिको चलखेल तथा सरकारको पुनःस्थापनासम्बन्धी बनाइएको गलत नीतिका कारण डोटीमा हलिया पुनःस्थापनामा गरिएको १ करोड ५७ लाख ५० हजार बालुवामा पानी खन्याएसरह भएको छ । 

पूर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेकस्थित बाटेओखड वनमा १८ मुक्त हलियाले बनाएको बस्ती । तस्बिर : मोहन/कान्तिपुर 

पूर्वीचौकी गाउँपालिका २ बगलेक र दिपायल सिलगढी नगरपालिका ७ उडितोलामा सरकारले उपलब्ध गराएको रकमलाग्दा पनि २ परिवार मात्र घरमा बसेका छन् । ‘बाँकी सब घर बाझा छन्, बस्नका लागि न्यूनतम पूर्वाधार नहुँदा बस्न नसकिएको हो’ बगलेखका मुक्त हलिया गम्भीरे कोलीले भने, ‘जग्गा किन्ने बेला थरीथरीका कुरा सुनाएर पानीसमेत नभएको जंगलमा जमिन किन्न बाध्य पारे । किनिसकेपछि वास्तै गरिदिएनन् ।’ बगलेखमा १८ परिवार र उडितोलामा १२ परिवारले घर बनाएका छन् ।

बगलेकमा बनाइएका हलियाहरूको घर छ । अहिले उनीहरूले बसोबास गर्दै आएका घर र बस्ती भन्दा कम सेवा सुविधा र साँघुरा घरहरूमा माफियाहरूले हलियाहरूलाई बाध्यातात्मक परिस्थिति सृजना गरेर जमिन किन्न बाध्य पारेका छन् । त्यसमानेतादेखि हलियाका अगुवा, र कर्मचारीको संलग्नता छ ।

आर्थिक चलखेल
पुर्वीचौकी गाउँपालिका २ बगलेकका ३० मुक्त हलियाहरूले गाउँसँगै जोडिएको ‘बाटे ओखड’ जंगलमा अहिले एकै ठाउँमा १८ हलिया परिवारले साँघुरा ३ कोठाका झुपडी बनाएका छन् । १२ परिवारले दिपायल सिलगढी नगरपालिकाको ७ ऊडीतोलामा बनाएका छन् । बाटेओखड जंगलमा मुक्त हलियाहरूले किनेर घर बनाएको जमिन ०७४ सालमा विवादित जमिन हो । बाटेओखडमा रहेको जमिन १४ मुत्त हलियाहरूले सहदेव खाती र ४ हलियाले विमला बमको जमिन १२/१२ आनासम्म किनेर घर बनाएका छन् ।

मुक्त हलियाका अगुवा र पूर्व सांसदसमेत रहेका मोहन बमले जमिन खरिद गर्ने बेला खानेपानी, बिद्यालय र बिद्युत बस्तीमै पुर्‍याउने आश्वासन दिएर आफुहरूलाई जमिन किनाएको मुक्त हलिया मौरी नेपालीले बताइन् । ‘घरमा पटकपटक आएर जग्गा किन्ने भए किन, नभए पैसा फ्रिज जान्छ र तिमीहरू केही पनि पाउदैनौ भने’, मौरी नेपालीले दुखेसो गरिन, ‘गाडीमै हालेर मालपोत कार्यालय लगे, गाडीमै घर पुर्‍याइदिए । हाम्रै नेताहरूले पनि राम्रै हुन्छ, सरकारबाट अरु पनि सेवा सुबिधा पाइन्छ भनेपछि हुरुक्कै भएर किन्यौं ।’

जमिन खरिदका लागि जग्गाधनी मोहन बमको विश्वासमा परेर खरिद गर्दा फसेको पनि मुक्त हलियाहरू आरोप लगाउँछन् । ‘म त्यतिबेला यहाँ थिएन, रोजगारीका लागि भारत गएको थिए’, मुक्त हलिया प्रकाश बिकले आक्रोशित हुँदै भने, ‘गाउँका निरक्षर हलिया परिवारहरूलाई खानेपानी पुर्‍याइदिन्छु, विद्यालय खोलिदिन्छु भनेर त्यति ठुलो मानिसले भनेपछि घरका सबैले सहजै पत्याएछन् ।’ मोहन बम भने आफुमाथिको आरोप अस्विकार गर्छन् ।

बमले आफ्नो जग्गा हलियाहरूले इच्छाअनुसार किनेको दाबी गरे । ‘मेरो जमिन हो, मैले कसैलाई पनि बेच्न सक्छु’, बमले भने, ‘मैले जमिन बेच्नेबेला कसैलाई पनि पानी पुर्‍याइदिन्छु, स्कुल खोलिदिन्छु भनेर आश्वासन दिएको थिएन । म न सरकार, न त जनप्रतिनिधी कहाँबाट पानी पुर्‍याउने ? कहाँबाट स्कुल खोल्ने ?’ उनले हलियाहरूको आवश्यकता नहेरी घर र जमिन दिने सरकारी नीति गलत भएकाले अप्ठेरो परेको बताए ।

सरकारी सहयोगमा बनेका अहिलेका घरभन्दा उनीहरू बस्दै आएका पुराना घर नै राम्रा छन् । ‘आफ्नो गाउँमाज छाडेर कसरी आउँछन्, बमले भने, ‘उनीहरूको घर जमिन छ भन्ने जान्दा जान्दै सरकारले त्यसैमा रकम दिन खोज्नु नै गलत हो । उनीहरूलाई केही नगद रकम दिन खोजेको हो, घरमा हलिया बसेनन् भनेर कुरा उठाउनु सार्न्दभिक छैन ।’ प्रमुख जिल्ला अधिकारी यदु प्रसाद यादवले भने मुक्त हलिया, तिनका नेता तथा सरोकारवालाहरूको सहमतिमा जग्गा खरिद भएको बताए । उनले सरकारको करोडौं लगानी गरेको घर बाझो रहनु दुखद भएको बताए ।

विवादित जग्गा
हाल मुक्त हलियाहरूले खरिद गरेको बाटेओखड जंगलको जमिन एक बर्षअघि पूर्व सांसद मोहन बमको हर्टिकल्चर प्रालिको नाममा थियो ।

०७४ सालमा हलियाहरूको सामुहिक बस्ती बसाउन सरकारले नै जमिन खरिद गरि घर बनाएर उनीहरूलाई हस्तान्तरण गर्ने कार्यक्रम ल्याएपछि ७८ लाखमा हलिया पुनःस्थापना जिल्ला कार्य समितिले हर्टीकल्चर प्रालीको जमिन किन्ने अन्तिम प्रकृया चरणमा पुगेको थियो । त्यही बेला तत्कालिन राष्ट्रिय हलिया मुक्ति जिल्ला कार्य समितिका अध्यक्ष भिम सार्कीबीच जमिन खरिदका लागि कमिशन बार्गेनिंग भएको अडियो सार्वजनिक भएपछि सामुहिक बस्ती बसाल्ने योजना तुहिएको थियो ।

त्यसपछि मुक्त हलियाहरूले आन्दोलन तथा नाराबाजीसमेत गरेका थिए । नेकपा बिप्लव समूहका कार्यकर्ताहरूले मालपोत कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कमिसन खाएको भन्दै कालोमोसो दलेर दुर्ब्यबहारसमेत गरे । हलिया पुर्नस्थापना जिल्ला कार्यसमितिको संयोजक प्रमुख जिल्ला अधिकारी हुन्छन् भने सदस्य सचिव मालपोत कार्यालय प्रमुख छन् ।

छनोटमा परेका एक सय परिवारलाई जमिन र घर निर्माणका लागि नगद नै दिने गरि बजेट आयो । ०७४को बजेट बिबादका कारण फ्रिज गएको कुरा नजिर बनाई माफियाहरूले हतारमा पुनः गत बर्ष बैशाखमा हनुमान हर्टीकल्चरको त्यही जमिन किन्न १८ परिवारलाई फकाएको मुक्त हलिया प्रकाश बिकले बताए ।

माफियाहरूले अघिल्लो पटक बिबादमा रहेको हर्टीकल्टर प्रालीको नाममा रहेको जमिन सहदेव खाती र बिमला बमको नामबाट बिक्रि गराए । ‘मैले आफ्नो व्यक्तिगत सम्पती बेचेको हु, अरु कसैको बिक्रि गरेको छैन, हलियाहरूको मञ्जुरीमा बेचेको कागजात छ,’ हर्टीकल्चरका संचालक बमले भने,‘त्यहा उपयुक्त छ भनेर मुक्त हलिया पुर्नस्थापना कार्य समितिले गठन गरेको जमिन खरिद स्थलगत निरिक्षण समितिले समेतपास गरेको छ । त्यसमा मेरो केही कम्जोरी छैन ।’

अपुरो मापदण्ड
मापदण्ड पुरा नगरि बनाएका ती घर बस्न उपयुक्त छैनन् । एउटा पलंगसमेत नअट्ने कोठा, भित्र छिर्दा निहुरिनु पर्ने ढोका, अध्यारोका साथै होचा घरहरू भएकाले मानिस बस्न नमिल्ने घर बनाउदा पनि प्राबिधीकले भुक्तानीका लागि घर पास गरेको प्रति आश्चर्य ब्यक्त गर्छन्, बगलेखका स्थानिय अमर साउद ।

‘यो अरु केही होइन, केही पैसा जमिन खरिद बिक्रिमा कर्मचारी हलियाका नेता र दलालहरूले खाए,’साउदको आरोप छ,‘केही पैसा मुक्त हलियाले नै बचत गरे, हलियाहरूले त्यहा बस्ने भन्दा पनि सरकारी रुपैया नगद जोगाउन जमिन र घर देखाउनका लागि मात्रै किने जस्तो देखिन्छ ।’ बगलेखका हलियाहरूका घर र बस्ती सरकारले अहिले उपलब्ध गराएको रकमबाट बनेका भन्दा बढी सुगम र स्तरीय छन् ।

न्यून कर्मचारी भएकाका कारण सबै घरहरूको स्थलगत निरिक्षण गर्न नसकिएको मालपोत कायालयका प्रमुख सुनिल सागर जोशीले बताए । उनले बगलेकमा बनेका घरहरू स्तरिय नभएको कुरा आफुहरूले समेत सुनेको बताए । अहिले डोटीबाट उनको सरुवा अन्यत्र भइसकेको छ ।

समितिको सिफारिस
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको हलिया पुनः स्थापना जिल्ला कार्यसमिति डोटीले नापी कार्यालयका हिक्मत बहादुर बोहराको संयोजकत्वमा ५ सदस्यीय जमिन खरिद पूर्व स्थलगत निरिक्षण समिति गठन गरिएको छ । सो समितिमा शहरी बिकास भवन डिभिजनका कर्मचारी गोबिन्द पाठक, राष्ट्रिय मुक्त हलिया पुनः स्थापना केन्द्रका डम्बर बिक, बेल्ल कामी र जया दमाई सदस्यका रुपमा रहेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

३ वर्षमा १६३ बालविवाह

मोहन शाही

डोटी — मुक्त हलिया परिवारकी रूपा कोली झट्ट हेर्दा पाको उमेरकीझैं लाग्छिन् । चैतमा मात्र उनको उमेर २० वर्ष पुग्यो । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका ७ उडीतोलास्थित घरमा शनिबार साँझ ८ महिनाकी छोरीलाई दूध चुसाउँदै थिइन् ।

कलिलै उमेरमा आमा बनेका दिपायल सिलगढी नगरपालिका-७ का रूपा र मन्नी कोली सन्तानका साथ । तस्बिर : मोहन/कान्तिपुर

छेउमै दुई वर्षको छोरा खेलिरहेका थिए । सरकारले उपलब्ध गराएको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत ५ लाख २५ हजार रुपैयाँबाट सानो जस्तापाताको घर बनाएर उनका श्रीमान् भारत पसेका छन् ।

कलिलै उमेरमा २ सन्तानकी आमा भएकी रूपालाई बालविवाहले हाँस्ने, खेल्ने उमेर सकिएको पत्तै मिलेको छैन । 'आमाबुवाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन', छोरासँगै छोरीलाई काखीमा च्यापेर उनले भनिन्, 'हाम्रातिर मेरोमात्र होइन, सबैको यही उमेरमा बिहे हुने भएकाले कुनै अनौठो लाग्दैन ।'

उनकै घरछेउमा बस्छिन्, मन्नी कोली । उनी २४ वर्षकी भइन् । कलिलै उमेरमा उनका ३ सन्तान भइसकेका छन् । जेठी छोरी ५ वर्षकी भइसकी । सरकारको सहयोगबाट घर र जग्गा मिले पनि ३ सन्तान पाल्नश्रीमान्लाई भारत पठाएको व्यथा उनले सुनाइन् ।

आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भए पनि त्यसलाई सहेर जीवनयापन गर्नु उनी आफ्नो कर्तव्य सम्झन्छिन् । 'हामी ८ भाइबहिनी थियौं, गरिब र वृद्ध आमाबुवाले सबैलाई पाल्न सम्भव पनि छैन' मन्नीले भनिन्, 'महिनावारी भएपछि छोरीलाई विवाहका लागि तयारी भइहाल्छ, आमाबुवाको विपत् देखेपछि बिहे गर्नुपर्ने छोरीमान्छेको नैतिकता नै भइहाल्छ ।'
सुदूरपश्चिममा बालविवाह अझै पनि कायम छ ।

विशेषगरी गरिब, विपन्न र शिक्षाबाट वञ्चित रहेका परिवारमा बालविवाह बढ्दै गएको छ । सामुदायिक विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका ८ का जनप्रतिनिधिहरूले गरेको एक सर्वेक्षणबाट यो पुष्टि हुन्छ ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार बालविवाह घट्नुको साटो बढ्दै गएको तथ्यांक आफूहरूले फेला पारेको बताए । उनले ३ वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको बताए । जिल्ला सदरमुकाम नजिकै रहेको उक्त वडामा बालविवाह ३ वर्षदेखि क्रमशः उकालो लागिरहेको छ ।

सर्वेक्षण अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । सर्वेक्षणमा सहयोग गर्दै आएको सामुदायिक विकास केन्द्रका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, बालविवाहको अवस्था चिन्ताजनक छ, प्रत्येक वर्ष बढ्दै छ, बालबिहेलाई समाजले पनि मौन स्वीकृत दिएको देखिन्छ ।'

२०७३ वैशाखदेखि ०७५ चैतसम्म १ सय ३३ जना बालिका र २७ जना बालकले बालविवाह गरेका छन् । जिल्ला संयोजक बडूले भने, 'विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्,' बालविवाह पारिवारिक परिस्थिति, सामाजिक संजाल तथा सूचना प्रविधिहरूको दुरुपयोग मुख्य रहेको सर्भेक्षणमादेखिएको छ । वडाध्यक्ष खड्काले ४ वर्षभित्र बालविवाहलाई निरुत्साहित हुने गरी प्रभावकारी योजना ल्याउने बताए ।

यस्तो बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, बिभिन्न रोगहरूले संक्रमण हुने, शरीर कमजोर हुने गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा नम्बर ९ मा सय जना जति बालबालिकामा गरेको अर्को एक सर्वेक्षणमा २० प्रतिशत अभिभावकहरूका ७ सन्तान रहेको भेटिएको छ ।

५० प्रतिशत दम्पतीको ४ देखि ६ जना र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको तथ्यांक फेला परेको सामाजिक विकास अधिकृत जोशीले बताए । उनले बालविवाह गर्ने दम्पतीकाबढी सन्तान जन्मिने गरेको जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×