क्याम्पसको जग खन्दा भेटिए गहना

मेनुका ढुंगाना

अछाम — अछामको साँफेबगर नगरपालिका २ श्रीकोटमा क्याम्पस भवनको चार कोठे जग खन्ने क्रममा वैशाख १९ गते जमिनमुनि सुनचाँदीका गहना भेटिएको ठाउँमा अहिलेसम्म पनि भेटिने क्रम जारी छ ।

क्याम्पसको जग खन्दा भेटिए गहना

जग खन्ने ७ कामदारले फेला पारेको बारे गहना भागबन्डामा मिलेमतो हुन नसकेपछि बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुवँरले बताए । ‘सोमबारसम्म १ सय ५० तोला सुन र ८ किलो चाँदीका पुराना बहुमूल्य गहना र केही चाँदीका सिक्का तथा सुनका टुक्रा भेटिएको छ । २४ जनाले अहिले माटो चाल्ने काम गरिरहेका छन्,’ कुँवरले भने, ‘क्याम्पसको जग खन्न लागेको बेला यति धेरै सुन चाँदी भेटियो । अहिले सबै सुन छान्नमा व्यस्त छन् ।’


वडा अध्यक्ष कुँवरकाअनुसार अनुसार ६ पटकसम्म माटो चाल्दा पनि सुन चाँदी भेटिरहेको छ । ‘पहिलो पटक हातले छान्यौं, दोस्रो पटक कोदालोले छान्यौं, तेस्रो पटक मोटो जालीले चाल्यौं । तीन पटकसम्म मसिनो जालीले छानिरहेका छौं । त्यहि माटोमा जति छान्यौं त्यति धेरै अझै भेटिदै छ’ उनले भने, ‘अहिले साँफेबगरको प्रहरी चौकी र इलाका प्रहरी कार्यालयले २४ घण्टा नै सुन चाँदी भेटिएको ठाउँलाई निगरानी गरीरहेको छ ।’


उनका अनुसार ७ जना मजदुरलाई १० दिन हिरासतमा राखेर २९ गते तारिखमा छुटेका छन् । ‘सात जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि भेटिएको १३ तोला सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बाँकी रहेको १ सय ३७ तोला सुन र ८ किलो चाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ’ वडाअध्यक्ष कुवँरले भने, दिन भरी भेटिएको सुन प्रहरी, जनप्रतिनिधि र सरोकारावालाले मुचुल्का उठाएर इलाका प्रहरी कार्यालयमा राख्ने गरेको छ ।’


तर सुन चाँदी भेटिने क्रम जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउदै जिल्ला प्रहरी कार्यालयमा पठाउने कुरा अगाडी बढाएको छ ।’ उनका अनुसार इप्रकामा राखिएको सुन चाँदीमा लगाएको तालाको साँचो प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि गरी तीनवटै निकायसँग रहेको छ ।


विसं १४२४ मा अछाममा ४० वटा कोट (दरबार) रहेको इतिहास छ । ति ४० वटा दरबार मध्ये सबैभन्दा ठुलो दरबार साविकको जाल्पादेवि गाविसको श्रीकोटमा रहेको किवदंती रहेको जानकारहरू बताउँछन् । त्यहि श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।


बिसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीय झुपि रावलले बताइन् । स्थानीयका अनुसार अहिले पनि श्रीकोट आससपासका क्षेत्रमा काटे नाउ, प्यारको कुवा रैने कुवा , गौंतिहामको कुवा, किर्तीखम्म, टिकको टाउको ,बाजी कुटि लगायतका राजाको चिनारी रहेका छन् ।


श्रीकोटमै संग्रहालय बनाउन माग

श्रीकोटमा भेटिएका सुन चाँदीका गहनालाई श्रीकोटमा नै संग्रहालय बनाएर राख्न स्थानीयले माग गरेका छन् । ‘यो अछामका पुर्खाको सम्पत्ति हो । यसलाई सुरक्षित रुपमा राख्न र संरक्षण गर्नको लागि यहिँ संग्रहालय बनाउनु पर्छ’ स्थानीय शान्ता कुवँरले भनिन्, ‘धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि पनि यसले सहयोग पुर्‍याउछ ।’


पुरातत्व विभागले लगेर थन्क्याएर राख्न नहुने र अछाममै राख्नको लागि पहल सुरु गरेको स्थानीय बताउँछन् । यहाँ सुन चाँदी भेटिएको मात्रै होइन् । श्रीकोटको आफ्नै छुट्टै महत्व छ । यहाँ अन्य ऐतिहासिक भौतिक संरचना छन् । त्यसको प्रचारप्रसारको लागि पनि अछाममै राख्नुपर्छ ।’ स्थानीय सत्य स्वारले भनिन् ।


संग्रहालय बनाएर भेटिएका गरगहना अछाममै राख्ने कि पुरातत्व विभागमा लैजाने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल नभएको पुरातत्व विभागका संग्रहालय अधिकृत काजी प्याकुरेलले बताए । ‘यहाँ जुन गरगहना भेटियो त्यो अत्याधिक महत्वपुर्ण हो । यसको महत्व तोला र किलोमा मापन गर्न सकिदैन ।’ उनले भने, ‘यसअघि यस्तै धातु जुम्लामा पनि भेटिएको थियो । त्यसलाई राष्ट्रिय मुद्रा संग्रहालयमा राखिएको छ । अछाममा भेटिएको गरगहना र सिक्का कहाँ राख्ने भन्ने बारेमा राष्ट्रिय स्तरमै सरोकारवालासँग छलफल हुनेछ ।’

प्रकाशित : वैशाख ३१, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?