कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुरेमा डढेलो

मोहन बुढाऐर

धनगढी — चुरे क्षेत्रको वनमा भीषण आगलागी भएको छ । भिरोलो क्षेत्रमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । 

स्थानीय बासिन्दाकाअनुसार कैलालीको चुरे, मोहन्याल गाउँपालिका अन्तरगत पर्ने चुरेको राष्ट्रिय तथा सामुदायिक वनमा भीषण आगलागी भएको छ । चुरेको फेद भावर क्षेत्रमा पनि आगलागी भएको छ । गोदावरी नगरपालिका ४ मा पर्ने सेती सामुदायिक वनको खण्ड क र ख का विभिन्न ठाउँमा ब्यापक डँडेलो छ ।


त्यस्तै खानी डाँडा, सहजपुरमा ३ दिनदेखि आगलागी भइरहेको छ । तराईको बसन्ता जैविक मार्गको केहि ठाउँमा पनि आगलागी भएको स्थानीयले बताएका छन् । सल्ला र साल भएको वन क्षेत्रमा भएको आगलागीले साना ठुला रुखहरू जलेर नष्ट भएका छन् । वन्यजन्तु र पंक्षीहरूको बासस्थान रहने बुट्यान झाँडी पुरै नष्ट भएको छ ।


केही संख्यामा पंक्षी र बन्यजन्तुसमेत मरेको स्थानीयले बताएका छन् । वडा नम्वर ४ का सदस्य शेर बहादुर घर्तिमगरकाअनुसार सयौं हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । तेघरी सामुदायिक वनका पुर्व अध्यक्ष कैलासकुमार जोशीले ५ दिनदेखि चुरेमा भिषण आगलागी भइरहेको बताए । उनले वनमा लागेको आगो नियन्त्रणका लागि सरकारी निकायबाट कुनै पहल नभएको बताए ।


‘आगलागीको घटनामा सरोकार पक्षको गम्भिर ध्यान पुग्न नसक्नु दुखद कुरो हो’ उनले भने, ‘यो प्रचण्ड गर्मिमा सल्ला र सालको रुखमा आगो सल्कदै गएर जंगल खरानीमा परिणत हुने अवस्था छ ।’ उनले नजिकका बस्तीमा पनि आगो सल्कन सक्ने खतरा रहेको बताए ।


डडेलो फैलिएको वन क्षेत्रमा नियत बस कसैले आगो लगाएको उनको अनुमान छ । ‘वन क्षेक्रमा आगो लगाएर अतित्रमण क्षेत्र बढाउने नियतले आगो लागेको देखिन्छ’ उनले भने, ‘ कतै आफै पनि आगो लागेको हुन सक्छ ।’


जिल्ला वन डिभिजन कार्यालयका अधिकृत रामचन्द्र कँडेलले चुरेको विभिन्न ठाउँमा आगलागी भइरहेको सूचना प्राप्त भएको बताए । आगो नियन्त्रणका लागि जिल्ला डिभिजनबाट आगो निभाउने औजार सहित प्राविधिक टोली घटना स्थलतर्फ पठाई सकेको पनि बताए ।


‘चुरेको भिरोलो क्षेत्रमा आगो फैलिएकोले नियन्त्रण गर्न मुस्किल भएको छ’ उनले भने, ‘तराईमा ठुलो वन क्षेत्रमा आगलागी नभएकोले स्थानीय समुदायको सहयोगमा आगो नियन्त्रण हुदै आएको छ ।’ उनले वन जंगलभित्र घाँस दाउरा गर्न जानेबाट आगलागी भएको बताए । ‘खानीडाँडा र सहजपुर क्षेत्रमा बसका यात्रुहरूबाट आगो सल्केको हुन सक्छ’ डिएफओ कँडेलले भने, ‘सुख्यायाममा चुरोटका ठुटाहरू जंगल क्षेत्रमा फाल्दा आगलागी हुन गरेको छ ।’ कैलालीको ठुलो वन क्षेत्र बर्षनी यो गर्मी मौषममा आगलागीबाट नष्ट हुँदै गएको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?