१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्कुल पठाउनै मुस्किल

मेनुका ढुंगाना

अछाम — अछामको बान्निगढी जयगढ गाउँपालिका ३ वर्दादेवीकी ३० वर्षीया तारा परियारका ५ छोरी र १ छोरा छन् । कान्छो छोराको उमेर ३ वर्ष भयो । उनका श्रीमान् नौलेको मृत्यु भएको २ वर्ष भयो ।

‘श्रीमान् बिरामी भएको १२ दिन बित्दासमेत औषधि उपचारमा भन्दा पनि जडिबुटि र झारफुकमा लाग्यौ’ ताराले भनिन, ‘समयमा उपचार गराउन नसकेर उहाँको ज्यान गएको हो । औषधि गराए देउता रिसाउँछन भन्ने थाले, सबै परिवार उपचार भन्दा पनि धर्मकर्ममा मात्र व्यस्त रह्यौं ।’


ताराका अनुसार परिवारजन सवै बिहानै उठेर नुहाई धुवाई गरी झारफुक गर्नमै व्यस्त हुन्थे । नौलेको शरीरमा साना साना फोका निस्किएका थिए । शरीरमा फोका निस्कियो भने देउता निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ । कतै कुनै उपाय नलागेपछि ताराका परिवारले अन्तिम समयमा उनलाई धनगढी र भारतका अस्पतालमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले ज्यान गएको उनि बताउँछिन् ।


‘बिरामी भए धामी झाँक्रिको विश्वास गर्ने, अस्पताल नलिने अझै पनि अन्धविश्वास छ । यहि कारणले कलिलै उमेरमा मैले दुःख पाए’ ताराले भनिन्, ‘५ छोरी भइसकेका थिए । छोरा नहुँदा घरमा बस्ने वातावरण नै मिलेन । अहिले ६ छोराछोरीको पालन पोषण गर्न कठिन भएको छ ।’ समाज भन्दा बाहिरको वातावरण नबुझेका दलित बस्तीमा कुसंस्कार र अन्धविश्वासले नै ज्यान जाने गरेको उनको भनाइ छ । ‘समाजका कुरा मान्नै पर्छ । तर अप्ठ्यारोमा कसैले हेर्दैनन् । अहिले अर्काको घरमा बसिराखेकि छु । साहुले निस्क भनेको दिन कहाँ जाने पत्तो छैन’ उनले भनिन् ।


वर्दादेवीकै कोकिला परियारको उमेर २३ वर्ष भयो । उनका ३ छोरी छन् । डेढ वर्ष अघि सामान्य विरामी भएका उनका श्रीमानका ेपनि धामी झाँक्री र जडिबुटि उपचार गर्न थालेपछि मृत्यु भयो । ‘देउता लागेरै बिरामी भएको हो भन्ने लाग्यो । अस्पतालमा नगई गाउँमै उपचारमा लाग्यौं । ख्याल ख्यालै ज्यान गयो’ कोकिलाले भनिन्, ‘छोरा र श्रीमान नभएका महिलालाई समाजमा बाँच्नै गाह्रो छ । समाजले एक्लो बनाउछ । छोरीहरूलाई समेत गाली गर्छन् ।’ समाजमा आफु भन्दा जान्ने बुझ्नेले स्वास्थ्य संस्थामा लैजानु भन्दा झारफुक तिर जोड दिन लगाएको उनको भनाइ छ । ‘टाउको दुख्दा पनि धामी झाँक्री कहाँ जाने चलन अझै छ । यस्तै कारणले धेरैको ज्यान जाने गरेको छ ।’


कुल जनसंख्याको २७ प्रतिशत दलित समुदाय रहेको बान्नीगढी जयगढ गाउँपालिकामा अझै पनि अन्धविश्वासमा परेको दलित महिला संजालकि अध्यक्ष अमृता तिरुवाले बताइन् । ‘यसअघि दलितका लागि आएको बजेटले गाउँका दुइ /चार जनाले मात्रै फाइदा लिए । शिक्षाको पहुँचबाट टाढा भएका दलित समुदायलाई कसैले हेरेन ’ उनले भनिन् , ‘जीवनस्तर माथि उकास्नका लागि हामी पनि पटक पटक जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं ।’


उनका अनुसार हालै वडाको २ लाख बजेटबाट १८ जना असहाय दलित महिलालाई ५० किलो चामल र ३२ जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘शैक्षिकसत्र सुरु भएको छ । एक दम्पत्तिका ६ देखि ८ सम्म सन्तान छन् । उनीहरूलाइ विद्यालय पठाउन सक्ने अवस्था छैन । धेरै एकल महिलाका सन्तान छन्’ उनले भनिन् ।


अन्य ठाउँको तुलनामा वडा नम्बर ३ मा दलित समुदायमा अन्धविश्वासको समस्या धेरै भएकाले उनीहरूलाई मध्यनजर गर्दै वडाले बजेट विनियोजन गर्ने वडाअध्यक्ष कुलबहादुर सेट्टी बताउछन् ।‘ वडामा रहेका दलित समुदायका २ सय १५ घरधुरीमा अवस्था बुझ्ने र त्यहि अनुरुप बजेट विनियोजनको तयारी गरेका छौं’ उनले भने, ‘अन्धविश्वासमा रुमल्लिएर ज्यान गुमाएका परिवारलाई शिक्षा रस्वास्थयमा विशेष प्राथमिकता दिनेछौं ।’

प्रकाशित : वैशाख ३०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?