अझै बनेन अछाम दरबार

'अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ, दरबार बनाउँछौं भनेर पटक-पटक अलमल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरूद्ध उत्रिनेछौं ।' 
मेनुका ढुंगाना

अछाम — माओवादी आक्रमणका बखत २०५८ मा ध्वस्त भएको अछाम दरबारको अझै पुनर्निर्माण भएको छैन । दरबार पुनर्निर्माणको काम २०६५ मै सुरु भयो । तर काम सुरु भएको ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ७ वर्षदेखि अवरुद्ध भएको काम २०७५ भदौदेखि पुनः सुरु भएको छ । 

एघार वर्षसम्म पुनर्निर्माण हुँदै रोकिँदै गरेको अछाम दरबार ।  तस्बिर : मेनुका/कान्तिपुर 

अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरबाही हुँदा स्थानीय आक्रोशित बनेका छन् । 'अछाम दरबारसँग हाम्रा पुर्खाको इतिहास जोडिएको छ,' स्थानीय गंगाराम भाटले भने, 'दरबार बनाउँछौं भनेर पटक पटक अलमल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै यसका विरुद्ध उत्रिनेछौं ।'

दरबार नजिकै घर भएका मंगलसैनका ७६ वषर्ीय उदयराम ढुंगाना दरबार बन्छ भन्नेमा विश्वस्त छैनन् । 'दरबार पुनर्निर्माणको काम सुरु भएको बेला म धेरै खुसी भएको थिए । तर यत्रो वर्ष हँुदा पनि जस्ताको तस्तै छ । अब बन्ला जस्तो लाग्दैन ।' उनले भने, 'म जस्ता थुप्रै वृद्धवृद्धाको अन्तिम इच्छा पुर्खाको इतिहास बोकेको दरबार बनेको हर्ने हो ।'

पटकपटक दरबारको विषयमा बैठक बसेर ठेकेदारलाई काम गर्न दबाब दिने गरेको भएता पनि काम सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति अछामका प्रमुख प्रमुख नरबहादुर कुँवरले बताए । 'ठेकेदारले जहिल्यै काठ अभाव भयो भन्दै बहाना बनाएको पाइयो । एघार वर्षसम्म काठको कारण देखाउँदै काम गर्दैनन् । गत भदौमा आवश्यक पर्ने काठ जता पाइन्छ त्यताबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सुचारु भएको हो ।'

उनले भने, 'अनेक बहाना बनाएर ठेकेदारले नै लापरबाही गरेको छ ।' अछाम दरबारको निर्माणको काम बारेसमेत ठेकेदार र सहरी डिभिजनले चाँसो नदिएको कुँवर बताउँछन् । 'सहरी डिभिजन कार्यालयका प्रमुख, प्राविधिक र ठेकेदारको मिलेमतोमा दरबारको काम अघि नबढेको महसुस भएको छ ।'

मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले भने, 'होइन भने ११ वर्षसम्म दरबार किन बनेन ।' स्थानीयस्तरमा निर्माण भइरहेका योजनाको बारे स्थानीय तहलाई जानकारी दिनुपर्ने उनले बताए । सदरमुकामको बीच भागमा अलपत्र अवस्था रहेको दरबार हेरेर जनताले जनप्रतिनिधिलाई गाली गर्ने तर ठेकेदारले वास्ता नगर्ने गरेको उनको भनाइ छ ।

दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो । ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको दाबी गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेबापतको ९० लाख रकम निकासा गरिएको बताए । 'आवश्यक पर्ने निर्माण सामग्री सहज ढंगले उपलब्ध गराउन नसक्दा काम रोकिएको हो । अहिले सामग्री खोजी रहेको छु । यो काम चाँडो सक्नुपर्छ भनेरै लागेको छु,' ठेकेदार साउदले भने ।

२०६७ सालमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताउँदै साउदले काठ अभावको कारण ११ वर्ष काम रोकिएको बताए । 'सुरुका २ वर्ष काम भयो, विभिन्न किसिमका अप्ठ्यारा आए,' उनले भने, 'अहिले सामानको भाउ पहिले भन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।' पटकपटक ठेक्काको म्याद थप्दै २०७५ असारसम्म अन्तिम म्याद थपिएको थियो । त्यो म्याद पनि सकिएपछि
दरबार निर्माण हुनेमा शंका लागेकोसरोेकारवाला बताउँछन् ।

सहरी डिभिजन कार्यालयबाट संचालित भएको दरबारको काम सुचारु नभए निर्माणको विकल्प खोजिने सहरी विकास डिभिजन धनगढीका प्रमुख सुरेश वाग्लेले बताए । अछाम दरबार पुनर्निर्माणमा ठेकेदारले काठको अभाव देखाउँदै ढिलासुस्ती गरेको उनले बताए । 'काठ अभाव भएकै हो भने उपलब्ध कहाँबाट कसरी हुन्छ त्यो सहजीकरण गर्छौं । त्यति गर्दा पनि भएन भने अर्को प्रक्रियामा जाने छौं', उनले भने ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रजिअ मोहनसिंह खत्रीसमेत मारिएका थिए ।

घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माण गर्न तोकिएको समयसीमा नाघेपछि पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्वको क्षेत्र भएकाले यसका ठेकेदारलाई भने केही गरिएको छैन ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्

३ वर्षमा १६३ बालविवाह

मोहन शाही

डोटी — मुक्त हलिया परिवारकी रूपा कोली झट्ट हेर्दा पाको उमेरकीझैं लाग्छिन् । चैतमा मात्र उनको उमेर २० वर्ष पुग्यो । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका ७ उडीतोलास्थित घरमा शनिबार साँझ ८ महिनाकी छोरीलाई दूध चुसाउँदै थिइन् ।

कलिलै उमेरमा आमा बनेका दिपायल सिलगढी नगरपालिका-७ का रूपा र मन्नी कोली सन्तानका साथ । तस्बिर : मोहन/कान्तिपुर

छेउमै दुई वर्षको छोरा खेलिरहेका थिए । सरकारले उपलब्ध गराएको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत ५ लाख २५ हजार रुपैयाँबाट सानो जस्तापाताको घर बनाएर उनका श्रीमान् भारत पसेका छन् ।

कलिलै उमेरमा २ सन्तानकी आमा भएकी रूपालाई बालविवाहले हाँस्ने, खेल्ने उमेर सकिएको पत्तै मिलेको छैन । 'आमाबुवाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन', छोरासँगै छोरीलाई काखीमा च्यापेर उनले भनिन्, 'हाम्रातिर मेरोमात्र होइन, सबैको यही उमेरमा बिहे हुने भएकाले कुनै अनौठो लाग्दैन ।'

उनकै घरछेउमा बस्छिन्, मन्नी कोली । उनी २४ वर्षकी भइन् । कलिलै उमेरमा उनका ३ सन्तान भइसकेका छन् । जेठी छोरी ५ वर्षकी भइसकी । सरकारको सहयोगबाट घर र जग्गा मिले पनि ३ सन्तान पाल्नश्रीमान्लाई भारत पठाएको व्यथा उनले सुनाइन् ।

आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भए पनि त्यसलाई सहेर जीवनयापन गर्नु उनी आफ्नो कर्तव्य सम्झन्छिन् । 'हामी ८ भाइबहिनी थियौं, गरिब र वृद्ध आमाबुवाले सबैलाई पाल्न सम्भव पनि छैन' मन्नीले भनिन्, 'महिनावारी भएपछि छोरीलाई विवाहका लागि तयारी भइहाल्छ, आमाबुवाको विपत् देखेपछि बिहे गर्नुपर्ने छोरीमान्छेको नैतिकता नै भइहाल्छ ।'
सुदूरपश्चिममा बालविवाह अझै पनि कायम छ ।

विशेषगरी गरिब, विपन्न र शिक्षाबाट वञ्चित रहेका परिवारमा बालविवाह बढ्दै गएको छ । सामुदायिक विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका ८ का जनप्रतिनिधिहरूले गरेको एक सर्वेक्षणबाट यो पुष्टि हुन्छ ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार बालविवाह घट्नुको साटो बढ्दै गएको तथ्यांक आफूहरूले फेला पारेको बताए । उनले ३ वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको बताए । जिल्ला सदरमुकाम नजिकै रहेको उक्त वडामा बालविवाह ३ वर्षदेखि क्रमशः उकालो लागिरहेको छ ।

सर्वेक्षण अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । सर्वेक्षणमा सहयोग गर्दै आएको सामुदायिक विकास केन्द्रका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, बालविवाहको अवस्था चिन्ताजनक छ, प्रत्येक वर्ष बढ्दै छ, बालबिहेलाई समाजले पनि मौन स्वीकृत दिएको देखिन्छ ।'

२०७३ वैशाखदेखि ०७५ चैतसम्म १ सय ३३ जना बालिका र २७ जना बालकले बालविवाह गरेका छन् । जिल्ला संयोजक बडूले भने, 'विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्,' बालविवाह पारिवारिक परिस्थिति, सामाजिक संजाल तथा सूचना प्रविधिहरूको दुरुपयोग मुख्य रहेको सर्भेक्षणमादेखिएको छ । वडाध्यक्ष खड्काले ४ वर्षभित्र बालविवाहलाई निरुत्साहित हुने गरी प्रभावकारी योजना ल्याउने बताए ।

यस्तो बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, बिभिन्न रोगहरूले संक्रमण हुने, शरीर कमजोर हुने गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा नम्बर ९ मा सय जना जति बालबालिकामा गरेको अर्को एक सर्वेक्षणमा २० प्रतिशत अभिभावकहरूका ७ सन्तान रहेको भेटिएको छ ।

५० प्रतिशत दम्पतीको ४ देखि ६ जना र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको तथ्यांक फेला परेको सामाजिक विकास अधिकृत जोशीले बताए । उनले बालविवाह गर्ने दम्पतीकाबढी सन्तान जन्मिने गरेको जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्