बचतको रकमबाट महिलाले बनाए छाउगोठ

बसन्तप्रताप सिंह

बझाङ — बझाङको साइपाल गाउँपालिकाका महिलाले मासिक बचत गरेको रकमबाट छाउगोठ निर्माण गरेका छन् । गाउँपालिकाले जवरजस्ती छाउगोठ भत्काई दिएपछि महिनावारीका बेला उनीहरू ओडारमा बस्दै आएका थिए । गत वर्ष छाउपडी प्रथा विरुद्धको अभियानका क्रममा गाउँपालिकाले यहाँका छाउगोठहरू भत्काएको थियो । 

साइपाल गाउँपालिकाको जगेरा गाउँमा स्थानीय महिलाको बचतबाट निर्माण गरेको छाउगोठ । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

‘बर्ष दिन ओडारमा बसेर बितायौं । ४ फिट हिउँमा पर्दा पनि बाहिरै बस्नु पर्‍यो । बर्खामा झरीले सतायो’ साइपाल गाउँपालिका ४ जगेराकी बिरती रोकायाले भनिन् ‘आफु मात्रै बस्नु पर्ने भए त जसोतसो सहन्थ्यौं । दुध चुस्ने केटाकेटीले पनि हामीसँगै दुख पाइयो । अति भएपछि महिलाको कोषबाट छाउगोठ बनायौं ।’

गाउँमा महिलाहरूले ३ वर्षदेखि गर्दै आएको नियमित मासिक बचतको रकमले छाउगोठ निर्माण गरेको फुलमती रोकायाले बताइन् । ‘३५ हजार खर्च लाग्यो’ उनले भनिन् ‘महिलाको आयआर्जनमा सहयोग गर्ने, साह्रोगाह्रो पर्दा चलाउने घुम्तीकोषको लागि बचत गरेका थियौं । ओडारमा सुत्नुभन्दा नयाँ घर बनाऔं भन्ने दिदिबहीनीको सल्लाहअनुसार त्यही रकम खर्च गरेर छाउगोठ बनायौं ।’ हाल निर्माण भएको छाउगोठमा ६ जना सुत्न मिल्ने ठाउँ छ ।

धुलीको जगेरा गाउँमा ३० परिवारको बसोबास रहेको छ । धेरै महिलाहरू एकै पटक महिनावारी भएमा नवजात शिशु भएका, उमेर पुगेका र विरामी भएकाहरूलाई छाउगोठमा सुताएर अरु महिलाहरू ओडारमा नै सुत्न जाने गरेको यहाँका महिला बताउँछन् ।
आफुहरूसँग पर्याप्त रकम नभएकोले बचतको पैसा खर्चेर छाउगोठ निर्माण गरेको स्थानीय उजली रोकायाले बताइन् ।

‘ठूलो पानी परेको बेला, हावाहुरी चलेको बेला यही भित्र बसेर रात काट्ने गरेका छौं’ उनले भनिन् ‘अरुबेला बढी भएपछि यता नअटाएकाहरू अहिलेपनि ओडारमा गएर सुत्छन् ।’ गाउँपालिकाले यसअघि रहेका ५ वटा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काउन महिलाको सहमति थिएन । जगेरा मात्र हैन । ४० परिवारको बसोबास रहेको धुलीका महिलाले पनि बचत संकलनकै पैसाले सार्वजनिक छाउगोठ निर्माण गरेका छन् । यहाँका ६ वटा छाउगोठ गाउँपालिकाले भत्काइदिएको थियो ।

छाउगोठ निर्माण भएपछि सजिलो भएको वडा नम्बर ५ की महिला स्वास्थ्य स्वंयसेविका गंगादेवि बोहराले बताइन् । ‘गोठ भत्काएपछि केही दिन भित्रै पनि बस्यौं’ उनले भनिन् ‘कोही काँप्न थाले, कोही बेहोस हुन थालेपछि देउताले सहेन भनेर ओडारमा बस्न थालेका हौं ।’

गाउँपालिकाले छाउगोठ भत्काएका र पुनःनिर्माण गर्न नसकेका सैनगाउँ, लाफडी लगायतका महिलाहरू अहिले पनि ओडारमै बस्ने गरेको स्थानिय महिलाले बताए । उनीहरूले पनि प्रत्येक घरबाट रकम संकलन गरेर छाउगोठ निर्माणको लागि पहल गरिरहेको
सैनगाउँकी अमृता विकले बताईन् ।

गत वर्ष जेठ महिनामा छाउगोठ मुक्त गाउँपालिका घोषणा गर्ने भन्दै यहाँ रहेका सबै छाउपडी गोठहरू गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले भत्काएका थिए । महिनावारीका बेला बर्षौदेखि बस्दै आएको न्यानो र सुरक्षित गोठ गाउँपालिकाले जवरजस्ती भत्काएका कारण यहाँका कतिपय महिलाहरू ओडारमा बस्दै आएका छन् । कतिपयले भत्काएका छाउगोठलाई टालटुल पारेर पुन प्रयोगमा ल्याएका छन् ।

गाउँपालिकाले छाउगोठमूक्त गाउँपालिका घोषणा गर्न ३ लाख विनियोजन गरेको र सोही रकम खर्च गर्न जवरजस्ती गोठ भत्काएको यहाँका महिलाहरूको आरोप छ । साइपाल गाउँपालिकाको लासीकी शंकधारा बोहराले भनिन् ‘३ लाख पनि खाए, गोठ पनि भत्काए । हामीले जाडोमा कठ्याङग्रिनु पर्‍यो ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिकामा बालबालिका कुपोषित

कान्तिपुर संवाददाता

टीकापुर — टीकापुर नगरपालिकामा ८ बालक र ९ बालिकासमेत १७ जनालाई कुपोषण भएको पाइएको नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ । नगरपालिकाको टोल टोलमा रहेका स्वास्थ्य स्वयंसेविकामार्फत र भिटामीन ए कार्यक्रमबाट पनि यो आर्थिक वर्षमा बालबालिकालाई कुपोषण भएको थाहा भएको हो । 

बच्चा हुर्काउने जिम्मा महिलाको मात्र हो भन्ने सोचाइ र महिलाको कामको बोझका कारण बालालिकालाई समयानुसार खानपान नगराउदा कुपोषण भएको नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए । उनले भने, ‘दलित तथा विपन्न र अशिक्षित समुदायका बालबालिका बढी कुपोषणको शिकार भएका छन् ।’

कुपोषणमा परेका बच्चालाई नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखा मार्फत उपचारात्मक तयारी खाना दिने गरेको जनाइएको छ । नगरपालिकाको नारायणपुर स्वास्थ्य चौकीमार्फत नगरपालिकामा रहेका कुपोषित बालबालिकालाई उपचारात्कमक खाना दिने गरिएको छ ।

नारायणपुर स्वास्थ्य चौकीका प्रमुख हिमाल सारु मगरले अति नै कुपोषणको शिकार भएका १७ बालबालिकालाई उपचारात्मक खाना दिएपछि उनीहरूको अवस्था सुधार हुँदै गएको बताए । उनले भने, ‘कुपोषणको रेड जोनमा रहेका बच्चालाई यो खाना दिएर एल्लो जोनमा ल्याएर ग्रिन जोनमा ल्याउने गरिएको छ ।’

उनका अनुसार गत वर्ष १२ जना बच्चालाई कुपोषण भएको पाइएकोमा यो वर्ष कुपोषित बच्चाको संख्या बढेर १७ पुगेको छ । नेपाल भारत सीमासँग जोडिएको यो भागका अधिकांश मानिस रोजगारका लागि भारत जाने भएकाले घरको सबै काम महिलाले नेै गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २८, २०७६ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्