कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नगरपालिकामा बालबालिका कुपोषित

टीकापुर — टीकापुर नगरपालिकामा ८ बालक र ९ बालिकासमेत १७ जनालाई कुपोषण भएको पाइएको नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ । नगरपालिकाको टोल टोलमा रहेका स्वास्थ्य स्वयंसेविकामार्फत र भिटामीन ए कार्यक्रमबाट पनि यो आर्थिक वर्षमा बालबालिकालाई कुपोषण भएको थाहा भएको हो । 

बच्चा हुर्काउने जिम्मा महिलाको मात्र हो भन्ने सोचाइ र महिलाको कामको बोझका कारण बालालिकालाई समयानुसार खानपान नगराउदा कुपोषण भएको नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए । उनले भने, ‘दलित तथा विपन्न र अशिक्षित समुदायका बालबालिका बढी कुपोषणको शिकार भएका छन् ।’


कुपोषणमा परेका बच्चालाई नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखा मार्फत उपचारात्मक तयारी खाना दिने गरेको जनाइएको छ । नगरपालिकाको नारायणपुर स्वास्थ्य चौकीमार्फत नगरपालिकामा रहेका कुपोषित बालबालिकालाई उपचारात्कमक खाना दिने गरिएको छ ।


नारायणपुर स्वास्थ्य चौकीका प्रमुख हिमाल सारु मगरले अति नै कुपोषणको शिकार भएका १७ बालबालिकालाई उपचारात्मक खाना दिएपछि उनीहरूको अवस्था सुधार हुँदै गएको बताए । उनले भने, ‘कुपोषणको रेड जोनमा रहेका बच्चालाई यो खाना दिएर एल्लो जोनमा ल्याएर ग्रिन जोनमा ल्याउने गरिएको छ ।’


उनका अनुसार गत वर्ष १२ जना बच्चालाई कुपोषण भएको पाइएकोमा यो वर्ष कुपोषित बच्चाको संख्या बढेर १७ पुगेको छ । नेपाल भारत सीमासँग जोडिएको यो भागका अधिकांश मानिस रोजगारका लागि भारत जाने भएकाले घरको सबै काम महिलाले नेै गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २८, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?