पथप्रदर्शकमा जम्दै

भवानी भट्ट

कञ्चनपुर — ४५ वर्षीय महानन्द जोशी निर्माण व्यवसायी थिए । भीमदत्त नगरपालिका १६ मा बस्ने उनी ठेकापट्टाको काम छाडेर पर्यटक पथप्रदर्शक भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै घर भएकाले पनि उनलाई यसतर्फ आकषिर्त गरेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउँदै पथप्रदर्शक । तस्बिर : भवानी/कान्तिपुर

कहिले गड्डाचौकीमा रहेको अध्यागमन कार्यालय र कहिले महेन्द्रनगरका विभिन्न होटल पुगेर उनी पर्यटकहरूलाई निकुञ्ज घुमाउन लैजान्छन् ।

पथप्रदर्शकको काममा लागेपछि उनी सन्तुष्ट छन् । घर परिवारको खर्च चलाउन यहि पेशाले धानेको छ । सिजनमा महिनामा १५/२० दिन काम पाइए रामै्र आम्दानी हुने उनी बताउछन् । यहां आउने पर्यटकलाई शुक्लाफांटा निकुञ्जसंगै संगै महाकालीको झोलुंगे पुल, ब्रहृमदेव, झिलमिला ताल, भम्केनी धाम, बेदकोट ताल र लिंगेश्वर धाम पनि घमाउन लैजाने गरेको उनले बताए । 'धेरै जसो पर्यटक निकुञ्ज घुम्न आऊँछन्,' उनले भने, 'सिजनका बेला राम्रै आम्दानी हुन्छ ।'

निकुञ्जभित्र पर्यटक घुमाएको आधा दिनका १ हजार र एक दिनको २ हजार निर्धारण गरिएको छ । यसबाहेक पर्यटक आफैले पनि खुशी भएर हजार/पाँच सय अतिरिक्त खर्च दिन्छन् । सबै जोडर मासिक रुपमा १५/२० हजार सम्म आम्दानी हुने पथप्रदर्शकहरू बताउछन् । पछिल्लो पटक शुक्लाफाँटामा आन्तरिक पर्यटकको संख्या बढै गएपछि उनीहरूले पनि विगतको भन्दा बढी काम पाउन थालेका हुन् ।

'एक/दुई वर्षयता निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्न थालेको छ,' छ वर्षदेखि शुक्लाफाँमा पथप्रदर्शकको काम गरिरहेका कुम करण ठाकुरले भने, 'त्यहि अनुसार हामीले पनि काम पाइरहेका छौं र आम्दानी बढीरहेको छ ।' उनी निकुञ्ज छेउमै रहेको रिसोर्ट शुक्लाफाँटा जंगल कटेलका पथप्रदर्शक हुन् । चरा हेर्नआउने पर्यटकका लागि उनी पहिलो रोजाएमा पर्छन् । निकुञ्जभित्र पाइने
चराका विषयमा अन्यको तुलनामा उनले बढी जानकारी राख्दछन् ।

'नेचर गाइडहरूको क्षमता विकासका लागि निकुञ्ज कार्यालय र अन्य सरोकारवालाले ध्यान दिनुपर्छ,' ठाकुर भन्छन्, 'पर्यटकसंग गर्ने व्यवहार, निकुञ्जको प्रचार प्रसार आदीका बारेमा सबैलाई जानकारी छैन, बेला बेला तालिम र अन्तरक्रिया गरेर क्षमता विकास गर्नुपर्छ ।' उनका अनुसार जंगलभित्र वाइनाकुलर र क्यामेराको समेत पथप्रदर्शकहरूसंग अभाव छ ।

नेचर गाइड एशोसिएसनले यस्ता सामग्री सहयोग गर्न निकुञ्ज कार्यालय र विभिन्न स्थानीय तहसंग आग्रह गरिरहेको छ । कञ्चनपुरमा २०/२५ जना पर्यटक पथप्रदर्शक छन् । ति मध्ये नियमित रुपमा थोरैले मात्रै काम गरिरहेका छन् । निकुञ्ज घुम्ने पर्यटक बढ्न थालेपछि यसतर्फ आकषिर्त हुनेको संख्या पनि विस्तारै बढै गएको नेचर गाईड एशोसिएसनका पुर्व अध्यक्ष ईश्वर पन्त बताउछन् । 'गाइडहरूको संख्या बढो छ,' उनले भने, 'निकुञ्जको प्रचार प्रसार गर्न सके पर्यटकको संख्या बढछ, त्यसपछि गाइडहरूले पनि पर्याप्त मात्रामा काम पाउछन् ।'

अहिले पथप्रदर्शकहरूले माहिनामा १५/२० दिन मात्रै काम पाइरहेका छन् । महिनाभरि काम पाइए २५/३० हजार सम्म आम्दानी हुने पन्तले बताए । यो कमाईबाट घर परिवारको खर्च राम्ररी चल्ने उनी बताउँछन् ।

प्रकाशित : वैशाख २६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

विकास बजेट खर्च भएन

प्राविधिक अभाव र बजेट ढिलो आउँदा समयमै काम हुन सकेन
भवानी भट्ट

कञ्चनपुर — आर्थिक वर्ष सकिनै लाग्दा पनि यहांँका स्थानीय तहले विकास तर्फको बजेट खर्च गर्न सकेका छैनन् । टुक्रे योजनामै अल्झिएका स्थानीय तहले आर्थिकबर्षको २ महिना बाँकी रहदा पनि आधा बजेट पनि खर्च गर्न सकेनन्। 

कतिपय ठाउँमा भरखर टेण्डर आव्हान भएको छ भने उपभोक्ता समिति पनि हालै गठन भईरहेका छन् । जनप्रतिनिधिहरूले आफुनिकटका व्यक्तिलाई समितिमा राख्न खोज्दा समेत विवाद भएर लामो समय लागेको देखिन्छ । केहि ठाउँमा स्थान्यीले अवरोध गरेका कारण पनि ढिलाई भएको छ ।

‘अधिकांस ठाउँमा सडक सांँघुरो छ, चौडा बनाउन खोज्दा स्थानीयले मानेनन्,’ बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने, ‘धेरै योजना सडकका नै छन्, त्यहि भएर बजेट खर्च हुन नसकेको हो ।’ उनका अनुसार बेलौरीमा विकासतर्फ करिब १५ करोड बजेट मध्ये ५/६ करोड मात्रै खर्च भएको छ ।

बेलौरीमा उपभोक्ता समितिमार्फत सञ्चालन भएको योजना अन्तिम चरणमा पुगेका छन् । टेण्डरबाट सञ्चालन गर्नुपर्ने योजनामा भने निकै ढिलाई भएको छ । केहि योजनाको भरखर सम्झौता भएको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार समयमै सम्झौता भएका योजनामा ठेकेदारले काम नगर्दा समेत योजना सम्पन्न हुन नसकेको हो । नगर प्रमुख चौधरीका अनुसार १० वटा योजनाको काम टेण्डरबाट भईरहेको छ ।

७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा प्रायजसोले सडक निर्माणलाई नै प्राथमिकता दिएका छन् । ग्रामीण भेगमा साँघुरा सडक चौडा गर्ने क्रममा स्थानीयले विरोध जनाउदा निर्माण कार्य ढिलो भएको देखिन्छ । ‘सडक निर्माणमा धेरै ठाउँमा स्थानीयले विवाद गरे,’ बेलडाडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने, ‘विवाद मिलाउनमै धेरै समय लाग्यो ।’

बेलडाडी गाउँपालिकामा विकासतर्फ करिब ७ करोड बजेट आएको थियो, जसमध्ये आधा पनि खर्च हुन सकेको छैन । प्रदेशबाट ढिलो गरि बजेट आउनु र प्राविधिकको समस्याका कारण पनि खर्च हुन नसकेको अध्यक्ष थापाले बताए । उनका अनुसार प्रदेश सरकारबाट बेलडाडी क्याम्पस भवन निर्माणका लागि हालै बजेट आएको छ । त्यसको टेण्डरका लागि भरखरै प्रक्रिया सुरु भएको उनले बताए ।

स्थानीय तहमा प्राविधिक नहुँदा पनि समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । एक स्थानीय तहभित्रका सबै योजना एक/दुई जना प्राविधिकले हेर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउछन् । ‘हाम्रो नगरपालिकामा १५ जना प्राविधिकको दरबन्दी छ’ बेलौरीका नगर प्रमुख चौधरीले भने, ‘तर अहिले ४ जना मात्रै यहांँ कार्यरत छन् ।’ उनका अनुसार अहिले एक इन्जिनियर र ३ जना ओभरसियरले जेनतेन काम गरिरहेका छन् ।

स्थानीय तहका सबै वडामा एक/एक प्राविधिकको दरबन्दी छ । अहिले नगरपालिका वा गाउँपालिकाको कार्यालयमा समेत दरबन्दी अनुसार प्राविधिक छैनन् । एउटै प्राविधिकलाई २/३ वडाको काम हेर्ने जिम्मा दिएको पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताए । ‘केहि प्रक्रियाका कारण र केहि प्राविधिक अभावका कारण समस्या भएको छ,’ उनले भने, ‘तै पनि हामी यो आर्थिक वर्षभित्रै योजना सक्नेगरि काम गरिरहेका छौं ।’

पुनर्वासमा विकासतर्फको २१ करोडमध्ये ५१ प्रतिशत खर्च भईसकेको छ । उपभोक्ता समितिमार्फत सञ्चालन भएको योजनाको काम सम्पन्न भईसकेको छ । टेण्डरबाट हुने कामको भर्खरै सम्झौता भएको छ । उनले केहि योजनाको काम सम्पन्न भएर पनि भुक्तानी हुन मात्रै बांँकीरहेको बताए ।

प्रकाशित : वैशाख २५, २०७६ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्