कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बालविवाहविरुद्ध किशोरी

बालविवाह हुन लागेको जानकारी पाएपछि उनीहरुले अभिभावकलाई सम्झाउने गरेका छन् 
मेनुका ढुंगाना

अछाम — अछाममा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन् । बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमि नआएपछि उनीहरू अग्रसर हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय विद्यालयका किशोरीले यो अभियान सुरु गरेका हुन् ।

बालविवाहविरुद्ध किशोरी

संगठित रुपमा अघि बढे समाजमा जरा गाडेको बालविवाह जस्तो कुरिती अन्त्य गर्न सकिने भन्दै स्थानीय किशोरी समुहवद्ध भएका छन् । उनीहरूले बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने गर्छन । जिल्लाका धेरै ठाउँमा हुनै लागेका बालविवाह समेत रोक्न थालेका छन् । बालविवाह रोकथामको लागि समूहमा छलफल हुने गरेको छ । समुहमा बसेर किशोरीहरू आपसमा अन्य समस्यासमेत हल गर्ने गरेको ढकारी ३ कि पानसरा थापाले बताइन् । गाउकै कालिका माविमा कक्षा ११ र १२ मा पढिरहेका उनीहरू आफैं समूहमा आबद्ध भएर बालबिबाह विरुद्ध लागेका हुन् ।


बालविवाहबाट हुने हानी, कानुनी प्रावधान तथा सजायबारे सर्वसाधारणलाई जानकारी गराउन थालेको पानसरा बताउछिन । यसअघि विभिन्न संघसंस्थाले जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो । धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो ।


‘चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन । छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ’ अर्की किशोरी पद्मा शाहीले भनिन् । बालविवाहबारे चेतना मात्र होइन समाजका अन्य गलत संस्कारलाई समेत हटाउने प्रयास गर्दै आएको उनले बताइन् ।


‘जाँड रक्सी, जुवातास र बहुविवाह लैंगिक हिंसालगायतका विकृतिबारे पनि समाजमा जानकारी गराउछौं’ उनले भनिन, ‘पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरीहरू आफैं भागेर विवाह गर्ने क्रम बढेकाले किशोरीहरूलाई सचेत गराउन आवश्यक भएर जनचेतनाका कार्यक्रम सञ्चालन गरेका छौं।’


बालविवाह न्यूनीकरण गर्न किशोरीहरू अग्रसर भएपछि बालविवाहमा कमी आउने भएकाले उनीहरूको क्षमता बढाएर संगठित गरिएको ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँदले बताइन् । गाउँमा कानुनी प्रावधान, सजायको व्यवस्थासँगै यसबाट हुने शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गर्न सकिने उपाध्यक्ष साउँदले बताइन् । दिगो विकासका लक्ष्यमध्ये बालविवाह न्यूनीकरण पनि एक हो, लक्ष्य प्राप्ति गर्न र हाम्रो समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह घटाउन आवश्यक भएको उनले बताइन् ।


तथ्यांक कार्यालय डोटीका अनुसार अछाममा सबै भन्दा ठूलो हिस्साको विवाह १५ देखि १९ वर्षको उमेरमा हुने गरेको छ । यो उमेरभित्र ५६.३ प्रतिशत विवाहित व्यक्तिहरूको पहिलो विवाह भएको पाइएको छ । अछाममा सबै भन्दा बढी करिव ४५.४५ प्रतिशत पुरुषहरूको १५-१९ बर्षको उमेरमा विबाह भएको छ । ६३.९ प्रतिशत महिलाको विवाह १५-१९ वर्ष उमेरमा नै भएको पाइन्छ ।


प्रकाशित : वैशाख २५, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?