१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६ लेनको सडक धुलाम्मे

एकातिर धूवाँ, धूलोले सास्ती हुने गरेको छ भने अर्कातिर सडक निर्माणमा बनाइएका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् ।

धनगढी — ‘अत्तरियादेखि धनगढी पुग्दा राम्रै मान्छे पनि बिरामी पर्छन्, महेन्द्रनगरबाट उपचारका लागि आइतबार धनगढी पुगेकी कौशिला ढाँटले भनिन्, ‘मोहना– अत्तरिया सडक चाँडो निर्माण हुनुपर्छ, गर्मीयाममा धूलो उडेर समस्या भयो ।’ धनगढी पुग्दाको सास्ती सम्झेर उनलाई उपचारपछि यही धुलाम्मे सडक भएर कसरी घर फर्किने भन्ने चिन्ताले सताएको थियो । 

६ लेनको सडक धुलाम्मे

‘हिजोआज कसैलाई श्राप दिनुछ भने, अत्तरीया– धनगढी सडक यात्रा गर्न परि जावस भन्नु पर्छ’ धनगढी बुद्धचोकका राज बिष्टले भने, ‘यो सडकमा यात्रा गर्न जस्तो दुःख कतै छैन ।’ गर्मीको महिना घामले गर्दा दिउँसो र साँझ धुलो उडेर हिड्न नसकिने अवस्था हुने गरेको उनले बताए । ‘प्राय कामले त्यो बाटो गइरहनुपर्छ । हिड्दै जाँदा अगाडी ठुलो सवारी साधन आउँदा सडक धुलोले ढाकिएपछि बाइक नै चलाउन गाह्रो हुन्छ’ राजले भने ।

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएको मोहना पुल– अत्तरीया ६ लेन सडक यहि जेठ मसान्त सम्म निर्माण भैसक्नुपर्ने थियो । ढिलासुस्तीले समयमै सडक निर्माण हुन सकेन । जसको प्रत्यक्ष मारमा त्यो बाटो भएर यात्रा गर्ने सर्वसाधारणहरू र सवारी चालकहरू परेका छन्।

‘६ लेन सडक समयमै सम्पन्न होला र १५ मिनेटमा धनगढी– अत्तरीयाको यात्रा गर्न पाइएला सोचेका थियौं’ धनगढी १ का जितु कुँवरले भने, ‘सडक निर्माण कार्यमा भएको ढिलाईले अहिले हैरान बनेका छौं ।’ एकातिर धुवा धुलोले सास्ती हुने गरेको छ भने अर्को तिर सडक निर्माणमा बनाइएका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउछन ।

‘धेरै गाह्रो छ । हप्तामा कामले ३/४ पटक धनगढीबाट अत्तरीया पुग्न पर्छ’ नमुना इलेक्ट्रोनिक धनगढीका टेक्निसियन राम चौधरीले भने, ‘बाइकमा जाँदा चलाउनेलाई धेरै दुख हुन्छ । त्यसैले कहिले कहि बसमा यात्रा गर्छु । धुलोले त्यसमा पनि यात्रा गरि नसक्नु हुन्छ ।’ ‘ठुलो ठुला खाल्डाखुल्डी अझ अगाडि बस गयो भने, धुलोले बाटो नै देखिदैन’ रामले भने, ‘६ लेन बन्ने कुराले जति खुशि बनेका थियौं त्यो भन्दा बढि सास्ती छ अचेल ।’

६ लेन सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन्, त्यो लाइनमा सञ्चालन गरिएका होटल ब्यवसाय पनि चौपट भएको ब्यवसायी बताउछन । उनीहरू सडकमा दिनभरी उडने धुलोका कारण आफ्नो ब्यापार डुब्ला भन्ने चिन्ता थपिएको बताउछन । ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरेको भएपनि धुलो नउडने गरि पानी नहालेको चौराहका व्यवसायीहरूको आरोप छ । ‘धुलोले कुहिरो लागे जस्तै हुन्छ ग्राहक सडक बनिरहेको बजार तिर आउनै छोडि सके’ एक कपडा व्यवसायीले भने, ‘व्यापार घाटामा जान थाल्यो, अब त एक दुई महिनाम पसल नै बन्द गरेर बस्नु पर्ने जस्तो भैसक्यो ।’

तर यता सडक निर्माण कम्पनी मध्येको एक राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्ट भने, आफुहरूले बिहान बेलुका सडकमा पानी हाल्ने गरेको बताए । उनले सडकको भार भन्दा बढि सवारी साधन चल्ने भएकोले पानी हालेपनि धुलो हुने गरेको बताए । ‘पानी भन्दा बढि धुलोको क्षमता छ, त्यसैले धुलो कम हुँदै छैन’ कार्यकारी अधिकृत रोशनले भने, ‘हामी सडकमा धुलो कम गर्न पानी हाल्नेसंँगै नयाँ विकल्प खोज्दैछौं ।’

३ वटा निर्माण कम्पनीले ३ खण्डमा निर्माण गरिरहेको ६ लेनको सडक ठेक्का सम्झौता अनुसार यहि जेठमा सम्पन्न हुनुपर्ने हो । तर विगतमा सडक क्षेत्रमा पर्ने घर र अन्य संरचना हटाउने प्रकृयामा सर्वोच्च अदालत सम्म मुद्दा परेका कारण निर्माण कार्य समयमै सुरु हुननसकेको हो । सुरुवातको अवस्थामा समस्या भएपनि अब सडक निर्माण कार्यले गति लिइरहेको राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत भट्टको भनाइ छ । ‘काम पहिले भन्दा द्रुत गतिमा छ, हामीले डेढ बर्ष म्याद थपको माग गरेका छौं’ उनले भने, ‘त्यो भए थप म्यादको समय भित्र सडक निर्माण कार्य सक्छौ’ उनले भने ।

‘ठेकेदारको लापरवाही भन्दा पनि सरकारी कारणले नै ६ लेन सडकको निर्माण कार्यमा ढिलो भएको हो’ आयोजनाका प्रमुख होम बहादुर एसिले भने, ‘रुख कटानी नहुन्जेल बिद्युतका पोल नहट्ने, बिद्युत पोल नहट्दा सम्म टेलिफोनको लाइन नहटाइने । यहि कारण निर्माण कार्यमा ढिलाई भएको हो ।’ उनकाअनुसार सडकको अहिले सम्मको भौतिक प्रगती ४० देखि ४५ प्रतिशत सम्पन्न भैसकेको छ । ‘यदि बर्खायाममा पनि निर्वाध रुपमा काम गर्न सके अबको एक बर्षमै ६ लेन सडक निर्माण कार्यले पूर्णता पाउने छ ।’

–निर्मला खडायत

प्रकाशित : वैशाख २४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?