१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खेतबारीमा आगो

भवानी भट्ट

कञ्चनपुर — गहुँबाली भित्र्याएपछि यतिबेला कृषक धानबालीका लागि खनजोतको तयारीमा छन् । उनीहरू गहुँको ठुटा तथा अन्य झारपात सफा गरिरहेका छन् । तर अधिकांशले खेत सफा गर्दा आगो लगाउने गर्छन् । यसरी आगो लगाउनुले थोरै फाइदा बढी नोक्सान हुने कृषि प्राविधिकहरू बताउँछन् । 

कृषकहरूले रोग कीरा नलाग्ने र खेत पनि सफा हुने भएकाले आगो लगाउने गरेका हुन् । गबारो रोग नलाग्ने र अन्य रोगका किरासमेत मर्ने धानबाली राम्रो हुने भएकाले आगो लगाउने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बाग्फाँटाका कृषक दामोदर पाण्डेय बताउँछन् । 'गहुँका ठुटा नजलाए धानमा गबारो रोग लाग्छ,' उनले भने, 'गत वर्ष फौंजी किराले पनि धानमा धेरै नोक्सान गर्‍यो ।'


तर कृषि प्राविधिक भने यसरी खेतमा आगो लगाउँदा रोग कीरासँगै खेतीपातीका लागि सहयोगी हुने मित्रजीवसमेत मर्ने बताउँछन् । यसले वातावरण प्रदूषणसँगै राम्रा वनस्पतिसमेत नाश हुने उनीहरू बताउँछन् । 'आगोले जलेर र माटोको तापक्रम वृद्धि भएर विभिन्न रोगका कीरा त मर्छन्,' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कञ्चनपुरका कृषि अधिकृत राम चन्द्र भट्टले भने, 'तर त्यसभन्दा बढी मित्रजीवहरू पनि मर्छन् ।'


यसरी जलाउनुभन्दा चाँडै खेत जोतिदिए गहुँको ठुटा तथा अन्य पदार्थ कुहिएर माटोमा प्रांगारिक पदार्थ बढ्ने प्राविधिकहरू बताउँछन् । तर आगो लगाउँदा माटोमा मिसिनुपर्ने कार्बन उडेर वातावरणसमेत प्रदूषण हुने गर्छ । 'खेतमा आगो लगाउँदा फाइदाभन्दा नोक्सान धेरै छ,' कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले भने, 'केही सीमित रोग त नियन्त्रण गर्छ तर माटोलाई चाहिने गड्यौंला, पुतली र अन्य धेरै मित्रजीवहरू पनि नष्ट गरिदिन्छ ।'


कञ्चनपुरमा यतिबेला अधिकांश ठाउँमा खेतमा आगो लगाएको देखिन्छ । हावाहुरीका बेला खेतको आगो घर टहरामा आएर ठूलो क्षति हुने खतरा पनि हुन्छ । वनजंगलका किनारमा आगोबाट डढेलोको रूप पनि लिने गरेको छ ।


केही वर्षयता खेतीपातीमा यन्त्रको प्रयोग बढ्दै गएको छ । गहुँ तथा धान काट्ने मेसिनले ठुटाहरू ठूलो छाड्ने भएकाले त्यसलाई जलाउन थालिएको हो । केही वर्षयता यो क्रम निकै बढेको पाइन्छ । 'किसानहरूले आगो लगाएर माटोलाई चाहिने प्रांगारिक पदार्थ हावामा उडाइरहेका छौं,' बोहराले भने, 'एक/दुई वर्षयता यो चलन निकै बढेको छ ।'


कृषकमा जनचेतना अभाव तथा एक-अर्काको देखासिकिले यो क्रम बढेको हो । यसबाट हुने नोक्सानका विषयमा तत्काल जानकारी गराउनु आवश्यक देखिन्छ । स्थानीय तहहरूले नीति नै बनाएर यसलाई नियन्त्रणमा अग्रसर हुनुपर्ने देखिएको देखिएको छ । 'कृषकलाई जनचेतनासँगै कडाइ गर्नुपर्ने देखिन्छ,' बोहराले भने ।

प्रकाशित : वैशाख २०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?