कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय तहमा सरकारी साधनको दुरुपयोग

अछामका १० स्थानीय तहका ९१ वडामध्ये ८५ वडाध्यक्षले सरकारी मोटरसाइकलको प्रयोग गर्छन्
मेनुका ढुंगाना

अछाम — अछाममा स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधनको अत्यधिक दुरुपयोग गरिरहेका छन् । १० स्थानीय तह रहेको अछाममा ९१ वडा छन् । यी वडा मध्ये ढकारी गाउँपालिकामा ४ र मेल्लेख गाउँपालिकाका २ जना वडा अध्यक्ष बाहेक अन्य ८५ जना वडा अध्यक्षले सरकारी मोटरसाइकल बुझेका छन् ।

स्थानीय तहमा सरकारी साधनको दुरुपयोग

ती मोटरसाइकलहरू नातागोताले प्रयोग गर्दै आएका छन् । कतिपय लाइसेन्स नभएर पनि निर्वाध कुदाइरहेका छन् ।


मंगलसैन नगरपालिकाका १४ वटा वडा मध्ये वडा नम्बर १२ का अध्यक्ष प्रेम रावलको मात्रै सवारी चालक इजाजत पत्र (लाइसेन्स) छ । लाइसेन्स नभएपनि अन्य ४ जना वडा अध्यक्ष मोटरसाइकल आफैं चलाउँछन् । ९ जना अध्यक्षले सरकारी सवारी साधन छोरा, भतिजा, आफन्तलाई चलाउन दिएका छन् ।


सडक नपुगेको वडा नम्बर १३ बस्तीका अध्यक्ष प्रेम थापाले पनि मोटरसाइकल लिएका छन् । नगरपालिकाबाट पाएको मोटरसाइकल कसले चलाउँछ र कहाँ छ उनलाई थाहा छैन । 'सडक नपुगे पनि बाइक लिएकोे छु । आफूलाई चलाउन आउदैन । गाउँका जान्नेहरूले चलाइरहेका छन्' थापाले भने, 'जहाँसम्म सडक पुगेको छ त्यहाँसम्म बाइकमा जाने गरेको छु ।'


११ नम्बर वडाका अध्यक्ष डबल भण्डारी, १४ का अध्यक्ष तेजबहादुर भण्डारी, ३ का अध्यक्ष पदमसिंह भाट, ४ का अध्यक्ष पदम धामी, २ का अध्यक्ष मानबहादुर बोगटी, १ का अध्यक्ष गोपाल थापा ५ का अध्यक्ष हरीप्रसाद ढुंगाना र ७ का अध्यक्ष सिद्धराज ढुंगानाले लिएका सवारीहरू पनि उनीहरूका छोरा, भतिजा र नातेदारहरूको हातमा छन् ।


सवारी लिएका अध्यक्षहरूले मासिक १५ लिटर पेट्रोल पाउने गरेका छन् । 'सरकारी मोटरसाइकलबाट पेट्रोल निकालेर नीजिमा हाल्नेहरू पनि भेटिएका छन् । जनप्रतिनिधिलाई निगरानी गर्ने निकाय कोहि छैन । मनपरी ढंगले सरकारी सम्पत्तिको दुरुपयोग भएको छ' एक स्थानीयले भने । साँफेबगर नगरपालिकाका १४ वडा मध्ये वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर बुढा, ७ का अध्यक्ष मिठुसिंह भाट, १२ का अध्यक्ष प्रेमबहादुर राना र १३ का अध्यक्ष सागरसिंह सोनार आफैं चलाउँछन् ।


वडा नम्बर १ का अध्यक्ष अम्मरबहादुर शाह, २ का अध्यक्ष कालुसिंह कुवँर, ४ का अध्यक्ष बालगिरी कुवँर, ५ का अध्यक्ष उजिर साउँद, ६ का अध्यक्ष प्रेमराज शर्मा, ८ का अध्यक्ष टेकबहादुर कुँवर, ९ का अध्यक्ष धुर्ब थापा, १० का अध्यक्ष लालबहादुर खडाको सरकारी मोटरसाइकल पनि दुरुपयोग भइरहेको छ । यस्तै ११ का अध्यक्ष गणेशबहादुर खडा, १४ का अध्यक्ष कर्णबहादुर साउँदले लिएको मोटरसाइल छोरा, आफन्त र नातागोताले प्रयोग गरिरहेका छन् ।


पञ्चदेवल विनायक नगरपालिकामा पनि सवारी साधानको दुरुपयोग उस्तै छ । ९ वटा वडा रहेको नगरका सबै अध्यक्षले सरकारी मोटरसाइकल लिएका छन् । वडा नम्बर २ का अध्यक्ष, पदमबहादुर धामी, ३ का अध्यक्ष सुरेन्द्र शाही, ५ का अध्यक्ष कुलबहादुर बुढा, ६ का अध्यक्ष पुर्णबहादुर रावल र ८ का अध्यक्ष ताराप्रसाद खनालले आफैं चलाउछन् ।


४ का अध्यक्ष सज्जन बहादुर शाहीले कर्मचारीलाई चलाउन दिएका छन् भने १ का अध्यक्ष लक्ष्मिकान्त देवकाटाले वडाको मोटरसाइकल छोराको हातमा दिएका छन् । ७ का अध्यक्ष गोविन्द रावलले लिएको मोटरसाइकल पनि छोराले नै चलाएका छन् भने ९ का अध्यक्ष रामबहादुर शाहिले भतिजालाई दिएका छन् ।


मेल्लेख गाउँपालिकाका ८ वटा वडा मध्ये १ का अध्यक्ष तुलेकामी र २ का अध्यक्ष दानबहादुर बुढाले सवारी साधन लिएका छैनन् । अन्य ५ जना अध्यक्ष मध्ये ८ का अध्यक्ष खगेन्द्रबहादुर साउदले मात्रै आफैं प्रयोग गरेका छन् । ३ का अध्यक्ष केशबहादुर शाह , ४ का अध्यक्ष बीरबहादुर साउद , ५ का अध्यक्ष रामबहादुर बोहरा, ६ का अध्यक्ष नरपती रावल र ७ का अध्यक्ष अम्मरबहादुर लुहारले लिएको मोटरसाइकल पनि नातागोताले प्रयोग गरिरहेका छन् ।


'लाइसेन्स भएका अध्यक्षले मात्रै लैजानुस भनेका हौं । तर सबैले लिनुपर्छ भन्नेहरूको जमात बलियो भयो र दिन बाध्य भयौं' मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले भने । ढकारी गाउँपालिकाका ८ वडा मध्ये ४ वटा अध्यक्षले मोटरसाइकल लिएका छन् भने ४ अध्यक्षले लिन बाँकी छ । 'लाइसेन्स भएपछि मात्रै सवारी दिनु पर्ने हो । तर कर्मचारीलाई जनप्रतिनिधिको दबाब छ ।'


एक कर्मचारीले भने ,' बिस वर्षसम्म कर्मचारीले शासन चलाए । अब हाम्रो पालो हो भन्दै थर्काउछन् । लिएका बाइकहरू पनि थोत्रा काम नलाग्ने बनाइसके ।' चौरपाटी गाउँपालिकाका ७ र बान्निगढी गाउँपालिकाका ६ वटा वडाअध्यक्षहरूले लिएको बाइकको हालत पनि उस्तै छ । बान्नगढिका एक जना वडाअध्यक्षसँग लाइसेन्स छैन । 'कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहा छन् पत्तो छैन । कर्मचारीले चासो राख्दा दबाब आउँछ' एक कर्मचारीले भने ।


कमलबजार नगरपालिकाका १० वटै अध्यक्षहरूले मोटरसाइकल लिएको र लाइसेन्स कसैसँग नभएको नगरप्रमुख ओमप्रकाश बिष्ट बताउँछन् । तुर्माखाँद गाउँपालिका १ का अध्यक्ष थिरबहादुर रावत र २ का अध्यक्ष शुभ जैसीले पनि मोटरसाइकल लिएका छन् । तर यी दुवै वडामा सडक पुगेको छैन । तुर्माखाद गाउपालिकाका ७ वडाका अध्यक्षले लिएका सवारी पनि आफन्तले नै प्रयोग गरिरहेको स्थानीय बताउँछन् ।


यस्तै रामारोशन गाउँपालिकाका ७ वटा वडा मध्ये २ का अध्यक्ष चक्र साउँद , ३ का अध्यक्ष तारा साउँदले आफैं प्रयोग गरिरहेका छन् । अन्य ५ जना अध्यक्षले नातागोताकै हातमा थमाएका छन् ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?