१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कामदारले ज्याला पाएनन्

मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका ११, खिमाडाकी भक्ति भण्डारी काम गरेको ज्याला माग्न ठेकेदार खोज्दै धाउन थालेको २ वर्ष बित्यो  । तर, उनले काम गरेवापतको ज्याला पाउन सकेकी छैनन्  ।

कामदारले ज्याला पाएनन्

हालसम्म उनले न त उनले काम गरेको पैसा पाइन्, न त काम लगाउने ठेकेदारलाई नै भेट्न सकिन् । '११ दिनसम्म ढुंगा, गिट्टीको काम गरेँ । तर अहिलेसम्म ज्याला पाइएन,' उनले भनिन् ।

२ वर्षसम्म ज्याला नपाएपछि उनी निरास छिन् । 'ज्याला पाउने आशमा दसैंतिहार गए । अन्य चाडपर्व पनि बिते । तर ज्याला पाइएन' उनले भनिन्, अहिले पनि काम गरेेरै गुजारा चलाउदै आएकी छु ।' ठेकेदारहरूले पनि गरिबलाई नै ठग्ने गरेको भन्दै उनले गुनासो पोखिन् । भक्ती मात्र होइन, खिमाडा गाउँका ५० जना बढिले काम गरेको ज्याला अझै पाएका छैनन् । साना सिंचाई कार्यक्रम अन्तर्गत सिंँचाई आयोजना कार्यान्वयन गर्न जिल्ला प्राविधिक कार्यालयमार्फत उपभोक्ता समितिलाई दिएको रुमाल खोला सिंचाई आयोजनामा काममा संलग्न भएका मजदुरले पनि ज्याला पाएका छैनन् ।

'आज दिन्छु भन्छन्, भोली दिन्छु भन्छन् । तर, ठेकेदारले भनेको आज र भोली कहिलै नआउने भयो,' स्थानीय शारदा परियारले भनिन् 'काम गरेर घर चलाउने हामी, पैसा नहुँदा के खाने भन्ने समस्या पर्यो । ऋण सापट गरेको ठाउँमा तिर्नै पाइएको छैन् । पसलेले पनि अब त सामान दिनै छाडे ।'

०७३ पुसमा सुरु भएको सिंँचाई योजना ०७४ असाढमा निर्माण सम्पन्न भएको थियो । ५१ लाख ५९ हजारमा कुल लागत र ३ लाख ८४ हजार जनश्रमदानमा सिंँचाई आयोजना निर्माण भएको थियो । 'दैनिक ५ सय दिने भनेर काम गरेका हौं । तर अहिलेसम्म ठेकेदार सम्पर्कमा छैन । काम गरेका रकम नपाउँदा घरायसी खर्च धान्नसमेत धौधौ परेको छ' स्थानीय पशुपती भण्डारीले भनिन्, 'गाउँमा पुरुष मान्छे कोहि छैनन् ।

महिलाहरू बोल्दैनन भनेर ज्याला पनि दिएनन् ।' स्थानीयका अनुसार उपभोक्ता समितिका अध्यक्ष पुर्ण भण्डारीले श्रमिकको र सामानको रकम नदिएर सदरमुकाम मंगलसैनमा आफ्नै घर बनाएका छन् । 'गाउँमा जनताको आँखा छलेर सदरमुकाम घर लगाइरहेका रहेछन् । हामीलाई त पछि पो थाहा भयो ।' एक स्थानीयले भने, 'आफ्नै गाउँको मान्छे यसरी ठग्छ होला भन्ने लागेको थिएन । विश्वासले काम गरियो ।'

प्रकाशित : वैशाख १८, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?