१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अल्लोको व्यावसायिक उत्पादन

बाजुरा — बाजुराको गौमुल गाउँपालिका १, अम्लिसकी भाना रोकाया ३ वर्षअघि खेतीपाती र पुर्खौली अल्लोको कपडा बुन्ने, नाम्लो, दाम्लो, बोरा बनाउन व्यस्त थिइन्  । उनले अहिले आफ्नो त्यही पुर्ख्यौली पेसा प्रवर्द्धन गरी बाजुरा सदरमुकाममा अल्लोबाट कपडा तयार गर्ने उद्योग सञ्चालन गरेकी छन्  ।

उनले सञ्चालन गरेको उद्योगमा अल्लो धागोको विभिन्न प्रकारका कपडा, झोला, टोपी जस्ता सामान उत्पादन हुने गरेको छ ।

स्थानीयले हेला गरेको कच्चा पदार्थ अल्लोबाट उनको उद्योगले मुलायम र बुट्टेदार कपडा उत्पादन गर्छ । उनले सञ्चालन गरेको लक्ष्मी अल्लो धागो उद्योगका उत्पादनको माग स्थानीय स्तरमा मात्र नभएर जिल्लाबाहिर पनि हुने गर्छ । ‘धेरैजसो उत्पादन जिल्लामै खपत हुने गरेको छ,’ भानाले भनिन्, ‘कहिले काँही जिल्ला कै माग पनि धान्न गाह्रो हुन्छ । जिल्लामा बिक्री नभएको मात्र बाहिर पठाउने हो ।’

उनले जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ५७ लाख ऋण निकालेर उद्योगको स्थापना गरेकी हुन् । जग्गा भाडामा लिएर सदरमुकाम मार्तडीमा खोलेको उनको उद्योगले भानाको आर्थिक अवस्था मात्र सुधार गरेको छैन, स्थानीय ९ महिलालाई रोजगारी र सीपसमेत प्रदान गरेको छ । उनले आफ्नै उद्योगमा सीप सिकाएर बाजुराकै महिलालाई रोजगारी दिएकी हुन् । उनले उद्योगको उत्पादन बिक्रीबाट कर्मचारीको तलब, छोराछोरीको पढाई खर्च, बैंकको ब्याज र घर खर्चसमेत कटाएर बार्षिक ३/४ लाख मुनाफा हुने गरेको बताइन् ।

उद्योगमा विभिन्न गाउँपालिका र संघसंस्थाहरूले पठाएका व्यक्तिलाई कपडा बुन्ने तालिमसमेत चलाउने गरेकी छिन् । उनको उद्योगबाट सिकेका धेरै महिलाहरूले घरमै अल्लोको धागो कातेर र कपडा बुनेर स्वरोजगार भइसकेको उनको भनाइ छ । उद्योगमा काम सिकेका महिलाले कातेको धागो केजीका दरले र बुनेको कपडा मिटरका दरमा उद्योगले नै किन्ने गरेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?