कुसंस्कार हटाउन जनप्रतिनिधिको साथ मिलेन

मेनुका ढुंगाना

अछाम — मदिरा नियन्त्रण, छाउपडी कुप्रथालगायत सामाजिक कुसंस्कारविरुद्ध अभियान सुरु गरेका यहाँका महिलाहरूले जनप्रतिनिधिले साथ नदिएको बताएका छन् । 

कुसंस्कार हटाउन जनप्रतिनिधिको साथ मिलेन

‘मदिरा नियन्त्रण गर्न आमा समूह गस्तीमा जाने गरेका छौं । तर जनप्रतिनिधि देखे पनि नदेखे जस्तै गर्छन्,’ मंगलसैन नगरपालिका १० जुपुकी आमा समूहकी अध्यक्ष ललिता रावलले भनिन्, ‘मदिरा निषेध गर्ने मुद्दा जनप्रतिनिधिको पनि त हो । तर पुरुषले साथ दिएका छैनन् ।’ महिला हिंसाका घटना बढ्न थालेपछि गाउँ अशान्त छ ।


यसैविरुद्ध एकजुट भएका महिलाहरू सरोकारवालाले साथ नदिँदा निरास भएको बताउँछन् । सस्तो मूल्यमा पाइने मदिराको लत सानै उमेरका केटाकेटीमासमेत परेको छ । समाजमा हुने हत्या, आत्महत्या, गालीगलौज, कुटपिटलगायत अधिकांश घटनाका पछाडी मदिरा जोडिएको ठहर गर्दै अभियान सुरु गरेका महिलाहरू जनप्रतिनिधिले साथ दिनु पर्ने बताउँछन् ।


‘विद्यालय नजिकै मदिराका पसल छन् । सार्वजनिक स्थलमा पनि मदिरा पसल बाक्लै छन् । यसैको सिको सानो उमेरका केटाकेटीले गर्न थालेका छन्,’ जुपुकै गंगा बिकले भनिन्, ‘जनप्रतिनिधि मदिरा बन्द गर्ने निर्णय मात्रै गर्छन् । काम गर्दैनन् ।’


प्रत्येक महिना आमा समूहको बैठकमा एक महिनाको अवधिभर भएको प्रगतिको समिक्षा र अर्को महिनाको योजनाबारे समूहमा छलफल गर्ने र त्यसमा कुरीति, कुसंस्कार हटाउने बारे विषेश छलफल हुने गरेको आमा समूहकी सदस्य धना रावलले बताइन् । ‘हालसम्म हामी आफ्नै तरिकाले छलफल गरिरहेका र्छौ । नगरपालिका र वडाबाट कुनै सहयोग छैन’ उनले भनिन्, ‘जनप्रतिनिधिको सहभागितामा वडामा हुने कार्यक्रममा पनि महिलालाई खबर हुदैन ।’


महिनावारी भएका बेला छाउठगोठमा जनप्रतिनिधिकै घरबाट बस्ने भएकाले कुप्रथा हटाउन अप्ठ्यारो भएको आमा समूहकी अध्यक्ष लक्ष्मी रावलले बताइन् । ‘अरुलाई घरमा बस्नुपर्छ भन्ने महिला जनप्रतिनिधि गोठमा बस्छन् । पुरुष जनप्रतिनिधिका श्रीमती, छोरी, बुहारी गोठमा बस्छन् । यसका विरुद्ध पनि हामी लागेका छौं । तर साथ पाएका छैनौं’ उनले भनिन् । मदिरा सेवनकै कारण महिलामाथि भएका विभिन्न खाले हिंसाका घटनाहरू भइरहेको उनको भनाइ छ ।


ग्रामीण क्षेत्रमा सयौं महिलाहरू मदिरा र छाउप्रथाका कारण हिंसा भोग्न बाध्य रहेको उनले बताइन् । ‘हत्या, बलात्कार, सम्बन्ध विच्छेददेखि दैनिक हुने गरेका कुटपिटका घटनाका पछाडीको कारण अधिकांशमा मदिरा नै देखिन्छ । उनले भनिन्, ‘महिनावारीका बेला गोठमा बसेकै कारण धेरै महिला असुक्षित छन् ।’


जनप्रतिनिधिका लागि पहिलो वर्ष सिकाई र अभ्यासको वर्ष भएकाले महिलाको क्षेत्रमा काम गर्न नसकिएको वडा नम्बर १० का अध्यक्ष नेत्रबहादुर राववले बताए । ‘पहिलो वर्षमा महिलाको लागि विशेष के कार्यक्रम गर्ने भन्नेमै अन्योल भएकोले खासै काम गर्न सकिएन’ उनले भने, ‘अब महिलाका प्रत्येक अभियानमा साथ दिन्छौं र प्रभाव पर्ने खालका कार्यक्रम तय गर्छौ ।’


‘निर्वाचित भएर आइसकेपछि सुरुमै मदिरा व्यवस्थापन गर्ने निर्णय गरेका हौं’ मंगलसैन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्याय उनले भनिन्, ‘हालसम्म कार्यान्वयन गर्न सकिएको छैन ।’ महिलाहरूले सुरु गरेका अभियानमा पुरुषले साथ नदिने गरेको उनको भनाइ छ । ‘मदिरा खाएर हिंसा गर्ने पुरुष, बन्द गर्ने अभियानमा महिला छन् ।त्यसैले पनि पुरुषले साथ दिँदैनन्’ उनले भनिन् । महिला हिंसा अन्त्य, महिनावारी व्यवस्थापन, दलित महिला तालिम गरी लक्षित वर्गको लागि विभिन्न शीर्षकमा ८९ लाख बजेट छुट्याएको उनले बताइन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?