जन्ती बोकेको जिप दुर्घटनामा एकको मृत्यु, ११ घाइते 

बसन्तप्रताप सिंह

बझाङ — जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खप्तड छान्ना गाउँपालिका २ निम भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिकाका ७० वर्षीय वासुदेव जोसीको घटनास्थलमै ज्यान गएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानी परिरहेको बेला गुडिरहेको जिप सडकबाट चिप्लिएको स्थानीयले बताएका छन् । घाइतेको उद्धार कार्यमा डिएसपीसहितको प्रहरी टोली र स्थानीय खटिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सूर्यबहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलास्थलबाट विस्फोटक पदार्थ बरामद 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाकै प्रशिद्ध मेलाको रुपमा रहेको चैतलीको मेलास्थलबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ । छविसपाथीभेरा गाउँपालिका-३ बान्नीचउर नजिकैको जंगलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले छोडेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोली देखेपछि भागेका चन्दका कार्यकर्ताले छोडेको झोलाबाट विस्फोटक पदार्थ डिटोनेर ६ थान, बारुद भएको लोला २ थान, विद्युतीय तार ६० मिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै झोलाबाट अखिल (क्रान्तिकारी) को छाप १ थान, चन्दा उठाउन प्रयोग गरिने रसिद ठेली ४ थान, चन्दा उठाइसकेका रसिदको अर्धकट्टी ठेली ३ थान प्रहरीले बरामद गरेको डिएसपी सूर्यबहादुर केसीले बताएका छन् ।
बुधबार राति साढे १ बजेतिर नियमित गस्तीमा रहेको प्रहरीलाई देखेपछि चन्दका तीन कार्यकर्ता विस्फोटक पदार्थको झोला छोडेर भागेका थिए । बुधबार घोषणा गरिएको नेपाल बन्दलाई लक्षित गर्दै उनीहरुले विस्फोटक पदार्थ बोकेर हिँडेको प्रहरीको अनुमान छ ।

गत हप्तामात्रै बझाङ प्रहरीले एकथान पेस्तोल, विस्फोटक पदार्थ र लागूऔषध चरेससहित चन्द समूहका जिल्ला सचिव भरत मल्ललाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ १५:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×