१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बर्थिङ सेन्टरमै असुरक्षित

मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका १४ कि भजन लुहारले गत चैत पहिलो साता कालागाउँ स्वास्थ्य चौकीमै रहेको बर्थिङ सेन्टरमा छोरी जन्माइन् । यसअघिका २ सन्तान घरमै जन्म दिएकी उनी यो पटक सुरक्षित सुत्केरीका लागि स्वास्थ्य चौकी पुगेकी थिइन् ।

बर्थिङ सेन्टरमै असुरक्षित

तर, उनले सोचेको सेवा भने पाइनन् । सानो कोठा, पत्थरले छाएको छानो भएको जीर्ण भवन । उनी प्रसूति कक्ष भित्र पस्ने बेला आकाश गड्याङगुडुङ भयो । हावाहुरी चल्न थालेपछि उनी आत्तिइन् ।

‘व्यथाले च्यापेर म बेहोस जस्तै जुन बेडमा थिएँ, त्यसैमा माथि छानोबाट पानी चुहिन थाल्यो । भुइँमा पानी जम्यो खुट्टा टेक्ने समेत ठाउँ भएन,’ उनले भनिन्, ‘माथिबाट पानीसँगै खसेको माटो आँखामा पर्‍यो । व्यथाको पीडा एकातिर आँखामा माटो खसेको पीडा अर्कोतिर थियो । घरमा भन्दा गाह्रो भयो स्वास्थ्य चौकीमा ।’

कालागाउँकै सरु सार्कीको पीडा पनि उस्तै थियो । सुरक्षित सुत्केरी हुन गत फागुनमा उनी त्यही जीर्ण स्वास्थ्य चौकीमा आइपुगिन् । तर स्वास्थ्य चौकीमा छोरा जन्मेको दिनदेखि उनी तनावमा छिन् । ‘छोरा जन्मेर अर्को बेडमा राख्ने बित्तिकै माथिबाट नाइटोमा माटो खस्यो । त्यही दिनदेखि नाइटोमा घाउ भएर पाक्न थालेको हो । अहिलेसम्म सञ्चो भएको छैन ।’ उनले भनिन्, ‘सुरक्षाका लागि पो हामी यहाँ आउँछौं । तर यहाँ त झनै सास्ती थपिएको छ । बर्थिङ सेन्टरको कोठाबाट पुरै आकाश देखिन्छ ।’

साबिकको कालागाउँमा रहेको एक मात्र स्वास्थ्य चौकीमा प्रसूति गराउन लैजान जोखिम रहेको स्वास्थ्य स्वयंसेविका वसन्ती नेपाली बताउँछिन् । ‘प्रत्येक टोलमा गएर स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भनेर सुझाव सल्लाह दिन्छौं । तर चौकीको अवस्था नाजुक छ,’ उनले भनिन्, ‘यही कारणले स्वास्थ्य संस्थामा जानुस् भन्न पनि डर लाग्छ । त्यता केही भइहाल्यो भने हामी जिम्मेवारी लिन सक्दैनौं ।’ महिलालाई स्वास्थ्य चौकीको पहुँचसम्म पुर्‍याउने दायित्व भए पनि सुरक्षाको कारण देखाउँदै कतिपय अझै पनि घरमै सुत्केरी हुने गरेको स्वयंसेविका धनी बोहराले बताइन् । चुहिने घरमा गएर हामीले दुःख पाउनु छैन भन्छन् । यस्तो बेला हामी पनि केही जवाफ दिन सक्दैनौं,’ उनले भनिन् ।

चौकीका अनमी सरस्वती ओखेडाका अनुसार ३ वटै कोठामा पानी चुहिन्छ । ढुक्कले सेवा दिनसक्ने अवस्था छैन । ‘यहाँ भएका औषधि पानी पर्दा छाता ओढाएर जोगाउनुपर्छ । औषधि राख्ने ठाउँ छैन । सबै कोठा चुहिन्छन् । कहिले मुसाले औषधि बर्बाद बनाउँछ,’ उनले भनिन्, ‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सक्सन मेसिन, बिजुली, बेडमा ओढ्ने ओछ्याउने, शौचालय अनिवार्य आवश्यक पर्छ । तर यहाँ केही छैन ।’ स्वास्थ्यकर्मीको दक्षता र सीपले हालसम्म जबर्जस्ती सेवा दिएको र व्यवस्थापन पक्ष फितलो भएको अनमी इन्दु सोडारी बताउँछिन् ।

‘सुत्केरी गराउने संवेदनशील क्षेत्रमा कसैले वास्ता गर्दैनन्,’ उनले भनिन्, ‘अनुगमनमा आएका सबै गाडीमै आउँछन् । एकछिन हेर्छन्, जान्छन् । त्यसपछि कहिल्यै फर्किंदैनन् ।’ जोखिम मोलेर स्वास्थ्य चौकीमा गत साउनदेखि हालसम्म ३१ जना सुत्केरी भएको अनमी सोडारीले बताइन् । ‘व्यथा लागेर आउँछन् । भवन भत्किन सक्छ, नआउनुस् पनि कसरी भन्नु । यस्तो जीर्ण भवनमा सेवा पनि कसरी दिनु ?’ उनले भनिन्, ‘मध्यराति पनि हामी यही जीर्ण भवनमा हुन्छौं । यस्तो अवस्थामा केही भइहाल्छ कि भन्ने डर लाग्छ ।’

स्थानीयका अनुसार स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको काम सुरु भएको छ । गत पुसमा ढलान सकेपछि निर्माणको जिम्मा पाएको स्वार कन्ट्रसनका कुनै पनि प्रतिनिधि निर्माण स्थलमा देखिएका छैनन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?