कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हिमाल फर्किंदै भेडीगोठ

यस वर्ष हिमाली क्षेत्रमा भएको भारी हिमपताले प्रभावित भेडापालक ढिलोगरी फर्कंदै
मनोज बडू

दार्चुला — हिउँदमा जाडो छल्न बेंसी झरेका भेडीगोठ चिसो घटेपछि हिमालतिर उक्लिन थालेका छन् । यहाँका भेडापालक किसान हिउँदमा बेंसी र न्यानो सिजनमा हिमालतिर भेडीगोठ सार्ने गर्छन् । ‘यसअघिका वर्ष चैतमा फर्किसक्थे, योपालि वैशाख लागेको छ,’ नौगाड गाउँपालिका २ सुन्डमुडका रामसिंह धामीले भने, ‘यस वर्ष हिमाली क्षेत्रमा हिमपात धेरै भएकाले ढिलोगरी हिमालतिर जाँदै छौं ।’

हिमाल फर्किंदै भेडीगोठ

जिल्लाका व्यास, अपीहिमाल, नौगाड, मार्मा र दुहुलगायत गाउँपालिकाका बासिन्दाको मुख्य पेसा अहिले पनि भेडाबाख्रा पालन हो । चरन क्षेत्र रहेको हिमाली भेकमा हिउ जमेपछि बेंसी झरेका भेडीगोठहरूलाई चरन क्षेत्र अभाव रहेको धामीले बताए । वेशी क्षेत्रमा भेडाबाख्रालाई चराउन ठाउँ मिल्नै छोडेको छ । उनले भने, ‘बेंसीमा धेरै समयसम्म भेडीगोठ राख्न सकिँदैन ।’


यसअघिका वर्षमा यो समयमा भेडीगोठ हिमाल पुगिसक्थे । यसपालि हिमाली क्षेत्रमा अझै हिउँ नपग्लँदा भेडीगोठ पुरानै ठाउँमा पुर्‍याउन सकिएको छैन । यहाँको नजिकका जंगली क्षेत्र अहिले स्थानीयका सामुदायिक वन भइसकेका छन् । हिउँदको समयमा मेलापाखामा घाँस पाइँदैन । बेंसीको अन्य क्षेत्रमा किसानहरूको खेतीपाती हुने हुँदा भेडापालनका लागि उफयुक्त हिमाल नै हो । त्रमिक रूपमा चरन क्षेत्र घट्दै गएको हुनाले भेडापालन संकटमा परेको व्यवसायीहरू बताउँछन् ।


पहिले पहिले प्रशस्त जंगल भएकाले जिल्लाका सबै ठाउँमा भेडाबाख्रा पालेको भेटिन्थे । यो क्रम विस्तारै घट्न थालेको स्थानीय बासिन्दा बताउँछन् । तर, पछिल्लो समय व्यास, नौगाड, दुहु, अपीहिमाल गाउँपालिकाका विभिन्न ठाउँमा भेडापालन हुने गर्छ । यहाँका स्थानीयले पुस्तौंदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न सक्दैनन् । उनीहरूले मौसमअनुसार हिमालदेखि पहाडसम्म डुलाउनेपर्ने व्यवसायी बताउँछन् । चरन क्षेत्र बढी भएको ठाउँमा भेडापालन व्यवसाय चलेकै छ । अन्य ठाउँमा क्रमिक रूपमा घट्दै गएको नौगाड गाउँपालिका १ इयरकोटका जयदेव महतोले बताए ।


सडक मार्गको पहुँच नपुगेको ठाउँमा ढुवानीको प्रमुख साधन अहिले पनि भेडाच्यांग्रा नै हुन् । साँघुरो बाटोमा सहजै र सुरक्षित रूपमा सामान ढुवानी गर्न सकिने भएकाले हिमाली क्षेत्रहरूमा भेडाबाख्रामा सामान बोक्ने क्रम अझै हटेको छैन । भेडापालन व्यवसाय पछिल्लो समय घट्दै गए पनि धेरैले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् ।


‘नुन, चामल, गुडलगायत वस्तुको ढुवानी भेडाबाख्राबाटै गरिन्थ्यो,’ नौगाड गाउँपालिका १ इयरकोटका उज्जले डडालले भने, ‘पहिला सबैभन्दा बढी भेडाबाख्राहरूको ऊन प्रयोगमा ल्याइथ्यो, त्यो पनि अहिले घटिसकेको छ ।’ भेडाबाख्राको ऊनबाट अतिथि सत्कारका लागि ओछ्याउने राडी तथा जाडो समयमा चिसोबाट बच्न सिरकका रूपमा प्रयोग गरिने पाखी तयार गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?