१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पन्चैबाजा बजाउन सिकाउँदै स्थानीय तह

मोहन शाही

डोटी — कक्षा ८ मा पढ्ने तेज ढोली १४ वर्षका भए । गत शनिबार उनी बिछट्टै खुसी देखिन्थे । ४ दिनको कडा मिहिनेतपछि रामेछापका रामजी परियारको सहयोगबाट उनी सहनाई बजाउन सफल भएकोमा प्रफुल्ल थिए ।

पन्चैबाजा बजाउन सिकाउँदै स्थानीय तह

‘बल्ल यो तेज बाबुले सहनाई मुखले फुक्दै लामो समयसम्म नाकले सास फेर्न सिकेका छन्,’ रामजी परियारले १५ जनाको समूहमा रहेका तेजलाई हौस्याउँदै भने, ‘अब औंलामा केही नियन्त्रण गर्न सके यो टोलीको नाइके हुन सक्ने देखेको छु ।’


उता डबल ढोली हुड्के गीत गाउन र नृत्य सिक्न व्यस्त थिए । उनी जंगे ढोलीका छोरा हुन् । जंगे ढोली हुड्के संस्कृतिमा ख्याति कमाएका कलाकार हुन् । बुवाले कमाएको ख्याति जोगाउन डबल दिनरात गाउँले साथीहरूसँग हुड्के नृत्यमा निखार ल्याउन अभ्यास गरिरहेका छन् । ‘मेरा बुवा कुनै बेला तत्कालीन राजा वीरेन्द्रलाई हुड्के संस्कृतिबारे जानकारी दिन काठमाडौं गएका थिए । बुवाको हुड्के कलाबारे अहिले पनि जिल्लामा चर्चा चल्छ’, डबलले भने, ‘बुवाले राजालाई हुड्केको महत्त्व र महिमाबारे जानकारी गराएपछि त्यही बेलादेखि नेपाली सेनामा पनि हुड्के संस्कृति देखाउन सुरु भएको हो ।’ बुवाले कमाएको पहिचान जोगाउन आफू अहिले वडा कार्यालयले दिइरहेको तालिम लिइरहेको डबलले बताए ।


अर्का डम्बर ताम्राकार भने नरसिंहा बजाउन सिक्दै थिए । ६५ वर्षीय डम्बरका औंला नरसिंहा बजाउँदा नियन्त्रण भए पनि सासले फुक्न भने सकिरहेका थिएनन् । प्रशिक्षक रामजी परियार डम्बरलाई लामो समयसम्म नरसिंहा बजाइराख्ने कला सिकाउन जुटेका थिए ।


केआईसिंह गाउँपालिका ५ रानागाउँमा शनिबार बेग्लै वातावरण थियो । कोही नरसिंहा बजाउन सिकिरहेका थिए भने कोही दमाहाको ताल मिलाउने प्रयास गरिरहेका थिए । परम्परागत पोसाक लगाएर सजिएका रानागाउँका १५ जना दलित पुरुषहरू चैतको अन्तिम सातादेखि आफ्नो परम्परागत संस्कृति सिक्न फरक अभ्यासमा जुटिरहेका छन् ।


सडक, बिजुली बत्ती, खानेपानी जस्ता भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिहरू जुटिरहेका बेला केआईसिंहको ५ नम्बर वडा कार्यालय भने विभिन्न सीपमूलक तालिम सञ्चालन गरेर आयमूलक काममा हात हालिरहेको छ । परम्परागत संस्कृति सिकाएर व्यावसायिक बनाउन वडाध्यक्ष रामचन्द्र राणाले रामेछापबाट २ जना प्रशिक्षक ल्याएर तालिम दिइरहेका छन् ।


वडामा रहेका दलित परिवारले अँगाल्दै आएको परम्परागत हुड्के तथा पन्चैबाजालाई व्यावसायिक बनाउन वडा कार्यालयले सिकाइरहेको छ । नेपाल दलित संघका पूर्वअध्यक्ष कुमारसिं टेलरले दलित जातिलाई व्यावसायिक बनाउन थालिएको तालिम जिल्लामै सृजनात्मक कार्य भएको बताए । उनले बेरोजगार र गरिबीले जरा गाडेको दलित जातिमा व्यावसायिक हुने सीपमूलक तालिमले सशक्तीकरण गराउने बताए । वडाध्यक्ष राणाले तालिमबाट निपूर्ण भइसकेपछि उक्त टोलीलाई आवश्यक बाजागाजा, पहिरन र आवश्यक स्रोतको व्यवस्थासमेत वडाले बेहोर्ने प्रतिबद्धता जनाए ।


पछिल्लो समय पन्चैबाजा र हुड्के नृत्य संस्कृति हराउँदै गएको छ । दलित जातिले बजाउने पन्चैबाजा विभिन्न विवाह, व्रतबन्ध तथा शुभकार्यहरूमा व्यावसायिक रूपमा प्रदर्शन हुने भए पनि पछिल्ला दिनमा दलित जातिले यो परम्परा छोड्दै गएका छन् । ‘संस्कृति पनि जोगियोस्, विपन्न अवस्थामा रहेका दलित दाजुभाइको आयस्रोत पनि होस् भनेर तालिमको आवश्यकता महसुस गरेको हुँ’, वडाध्यक्ष रामचन्द्र राणाले भने, ‘बजाउन छाडेकाले नयाँ पुस्ताका युवाहरूले लगभग बिर्सिइसकेका थिए, तालिमपछि उनीहरूलाई पुनर्ताजगी भएको छ ।’


मौलिक परम्परा मानिने हुड्के र विवाहमा बजाइने डोटेली पन्चैबाजाबारे सामान्य जानकारी भए पनि पूर्वेली र लोकदोहोरीमा बजाउने पन्चैबाजाबारे उनीहरूलाई खासै थाहा थिएन । ‘रामेछापबाट ल्याइएका प्रशिक्षकको तालिमबाट अब पूर्वर्लेी तथा लोकदोहोरीको पन्चैबाजा बजाउन सिक्यौं’, १८ वर्षीय इन्द्र ताम्राकारले भने, ‘यसले हामीलाई केही गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।’

प्रकाशित : वैशाख ५, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?