कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महुवा संकलन सुरु

गणेश चौधरी

टीकापुर — तराईका जंगलमा पाइने महुवाको फूल संकलन सुरु भएको छ । महुवाको फूल थारू समुदायले पुस्तौंअघिदेखि रक्सी बनाउन प्रयोग गर्छन् । जंगलमा रहेका महुवाको फूल खस्न थालेपछि संकलन थालिएको हो । 

महुवाको फूलबाट उच्च स्तरको रक्सी बन्ने थारूहरू बताउँछन् । जंगल छेउका गाउँका थारू समुदाय जंगलमा गई आजभोलि महुवाको फूल संकलन गर्ने र त्यसबाट रक्सी बनाउने गरेका हिरूलाल डगौराले बताए । उनले भने, ‘स्थानीयले आ–आफ्ना रूख रोजेर महुवा संकलन गर्छन् ।’


भजनी नगरपालिकाको वनदेवी सामुदायिक वनका सचिव लक्ष्मण चौधरीले महुवाको रक्सी केमिकलरहित हुने भएकोले रक्सी सेवन गर्नेहरूले यसको रक्सी धेरै मन पराउने गरेको बताउँछन् । उनले भने, ‘थारू समुदायमा पाहुनालाई रक्सी दिएर स्वागत गर्ने चलन छ र यसको रक्सीले विशिष्ट पाहुनालाई स्वागत गर्ने पुरानो चलन हो ।’


यहाँका सामुदायिक वनले महुवाबाट आर्थिक आम्दानी पनि गर्ने गरेका छन् । संरक्षणकर्मी विजयराज श्रेष्ठले एक रूखको करिब २ सयसम्म लिएर महुवाको फूल संकलन गर्न दिने गरेका बताए । उनले भने, ‘एक रूखबाट करिब ५०/६० किलो फूल झर्छ ।’


यो सिजनमा खासै खेतीपातीको काम पनि नहुने भएकोले जंगल किनारका थारू समुदाय जंगलमा गएर महुवाको फूल संकलनमा व्यस्त रहने श्रेष्ठले बताए । उनले भने, ‘कम्पनीमा बनाइएका रक्सीभन्दा यसको रक्सी उत्तम मानिएको छ ।’


महुवाको फूल राति बढी खस्ने भएकोले कतिपय संकलक जंगलमै रूखमुनि बास बस्ने पनि श्रेष्ठले बताए । उनले भने, ‘वर्ष दिनका लागि संकलन गर्ने र आवश्यकताअनुसार रक्सी बनाएर खाने, खुवाउने गर्छन् ।’


जंगलको विनाशसँगै महुवाको रूख पनि मासिंदै गएकोले यो पाउन मुस्किल हुँदै गएको बताइएको छ । महुवा कम हुँदै गएपछि यसबाट बनाइएको रक्सी पनि महँगो हुँदै गएको बताइएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?