२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

किसानलाई गहुँ भित्र्याउने चटारो

धनगढी — जताततै नयाँ वर्षको उमंग छ । तर, कैलालीका किसानलाई भने नयाँ वर्षभन्दा पनि गहुँ काट्ने र भित्र्याउने चटारो छ । यहाँका किसान बिहानै हातमा हसियाँ समातेर गहुँ काट्न खेततिर लाग्छन् । साँझ अबेर मात्रै फर्कन्छन् ।

किसानलाई गहुँ भित्र्याउने चटारो

‘नयाँ वर्ष त मनाउँदै गरौंला, तर वर्षा र असिना पर्‍यो भने भित्र्याउन ठिक्क पारेको गहुँ बाली नासिएर भोकै बस्नुपर्छ,’ खेतमा गहुँ काट्दै गरेकी धनगढी ४ उत्तरवेहडीकी कमला धामीले भनिन्, ‘अरू वर्षभन्दा यसपालि बाली राम्रो छ । त्यसैले पाकेका बेला भित्र्याउन हतारो भएको हो ।’


‘यो बेला समयमै पानी परेर गहुँ बाली अरू वर्षभन्दा सप्रेको छ । दाना पनि भरिएका र ठूला छन्,’ कमला बोहराले भनिन्, ‘अहिले गाउँतिर सबैलाई पाकेको बाली भित्र्याउन चटारो छ ।’ चैत दोस्रो सातादेखि नै गहुँ काट्न सुरु गरेका यहाँका कतिपय किसानहरूले बाली भित्र्याइसकेका छन् । तर, केही ढिला छरेका किसानलाई भने चाँडो बाली भित्र्याउन हतार छ ।


किसानहरू पालोपैंचो गरी सामूहिक रूपमा बाली काटिरहेका छन् । एक परिवारको सकिएपछि सबै अर्को परिवारको खेतमा जान्छन् । आफ्नो गहुँ बाली भित्र्याएर छिमेकीको गहुँ काट्न गएकी धनगढीकी गीता साउदले भनिन्, ‘मेरो सकियो, अहिले छिमेकीलाई सघाउन आएकी छु ।’ कैलालीमा ३४ हजार ५ सय हेक्टरमा गहुँ खेती हुन्छ । हालसम्म धेरैजसो किसानले बाली भित्र्याइसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय उपसचिव यज्ञराज जोशीले बताए ।


– निर्मला खडायत (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख २, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?