भर्नामा अभिभावकको हानथाप

विभिन्न स्रोत प्रयोग गरी अभिभावकहरु नै विद्यालय भर्नाका लागि दबाब दिन्छन्
मोहन शाही

डोटी — केही दिनयता कपल्लेकी माविका प्रधानाध्यापक गगनसिंह ऐर र लेखापाल सुरेश भट्टलाई भ्याइनभ्याइ छ । दुबै बिहानै स्कुल पुग्छन् । अबेर फर्कन्छन् । बिहान ७ बजे विद्यालय पुग्नुअघि भर्ना हुन चाहने विद्यार्थी र अभिभावकहरूको भिड लागिसकेको हुन्छ ।

डोटीस्थित कपल्लेकी माविमा भर्ना हुन आएका विद्यार्थी । तस्बिर : मोहन/कान्तिपुर

‘खानेबस्ने फुर्सद छैन, भर्ना हुन चाहने विद्यार्थीहरूको चाप छ,’ ऐरले भने, ‘हामी कहाँ बर्सेनि बाहिरबाट नयाँ विद्यार्थी पढ्न थपिने भएकाले अरू विद्यालयभन्दा चाँडै भर्ना सुरु गर्छौं ।’

आदर्श गाउँपालिकाको तलारास्थित भगवती माविका प्रधानाध्यापक टेकबहादुर सिंहलाई बेग्लै तनाव छ । बिहान उठेदेखि राती नसुत्दासम्म उनको मोबाइल बजिरहन्छ । प्रधानाध्यापक सिंह भन्छन्, ‘हजुर मेरो बच्चा जसरी भए पनि भर्ना लिइदिनुपर्‍यो भनेर अभिभावकहरूले फोन गरी हैरान पारिरहेका छन् ।’

उनले यो वर्ष बैतडी र बझाङका अभिभावकहरू भगवती माविमा आफ्ना नानीबाबु पढाउन बढी आकर्षित भएको बताए । उनले दबाब झेल्न नसकेर बाहिरबाट पढ्न चाहने विद्यार्थीलाई निश्चित भर्ना दिनको सूचना जारी गरी परीक्षा लिएर छनोट गर्ने तयारी भइरहेको बताए । सिंह झैं विद्यार्थी भर्नाको झमेलामा सीताराम माविका प्रधानाध्यापक केशर बिष्ट पनि परेका छन् ।

सीताराम माविमा गत शैक्षिक सत्रमा भर्ना भएका ५ सय ३० मध्ये ४ सय ३० बाहिरबाट पढ्न आएका विद्यार्थी छन् । ‘सीताराम माविमा बाहिरबाटै पढ्न आउने विद्यार्थी बढी छन्,’ विष्टले भने, ‘त्यसैले अभिभावकहरू विभिन्न स्रोत प्रयोग गरी भर्नाका लागि दबाब दिन्छन्, त्यो हाम्रो विद्यालयको पढाइको गुणस्तर देखेर हो ।’ पढ्न चाहने आकांक्षी विद्यार्थी बढी हुने भएकाले भर्नाका बेला अभिभावकको हानाथाप हुने प्रधानाध्यापक बिष्टले बताए ।

कपल्लेकी, भगवती र सीताराम मावि जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालय हुन् । यतिबेला यी विद्यालयको गुणस्तर देखेर भर्ना गर्न चाहने अभिभावकहरूको हानथाप भइरहेको छ । बर्सेनि यी विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउँछन् । शैक्षिक गुणस्तर, अनुशासन र वातावरणबाट प्रभावित भएर भर्ना गर्ने समयमा अभिभावकहरूको हानथाप हुने गर्छ ।

यी विद्यालयहरूमा पढ्न कैलाली, बैतडी, डडेल्धुरा र बझाङका विद्यार्थीहरू आउने गर्छन् । ‘निःशुल्कमा गुणस्तरीय शिक्षा पाइने भएपछि कुन अभिभावक आकर्षित हुन्न,’ कैलालीको धनगढीबाट छोरालाई कक्षा ८ मा भर्ना गराउन आएका सुरेन्द्र शाहीले भने, ‘लाखौं पैसा असुल्ने बोर्डिङभन्दा सामुदायिक विद्यालयमै पढाउनु बेस भनेर भगवती माविमा भर्ना गर्न आएको हुँ ।’

कपल्लेकी माविले चैत १७ गतेबाटै भर्ना लिन सुरु गरिसकेको छ । जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये पर्ने सो विद्यालयमा बाहिरका बिद्यार्थी आकर्षित छन् । प्रत्येक वर्ष २ सयसम्म बाहिरबाट नयाँ बिद्यार्थी पढ्न आउने भट्ट बताउँछन् । यी तीनवटै विद्यालयको अर्को समान विशेषता पनि छ । तीनवटै विद्यालयहरूमा छात्राबासको व्यवस्था छ ।

‘बाहिरबाट विद्यार्थी पढ्न आउने भएकाले विद्यालयहरूले न्युन शुल्क लिएर छात्राबास सञ्चालन गरेको छ,’ भगवती माबिका प्रधानाध्यापक सिंहले भने, ‘क्षमता थोरै विद्यार्थीको छ, दवाब थेग्न नसकेर राख्न बाध्य छौं ।’ भगवती माविमा कक्षा ८ र ९ मा पढ्न बाहिरबाट विद्यार्थी बढी आउने गर्छन् ।

सीताराम मावि २०१७ सालमा स्थापना भएको र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अध्ययन गरेको विद्यालय हो । सो विद्यालयमा झन्डै २ सय ५० विद्यार्थी बस्न सक्ने क्षमता भएको छात्राबास छ । जिल्लामा निरन्तर उत्कृष्ट ३ सामुदायिक विद्यालयभित्र पर्दै आएको छ ।
कपल्लेकी मावि त्यस्तो विद्यालय हो जहाँको शैक्षिक वातावरणप्रति खुसी भएर अभिभावकहरूले नै बर्सेनि वार्षिकोत्सवको आयोजना गर्ने जिम्मा लिन्छन् । अनुशासनका लागि जिल्लाकै नमुना विद्यालय मानिने कपल्लेकी माविबाट गत वर्ष एसईईको नतिजामा सबैभन्दा बढी ए प्लस ग्रेड ल्याएर उत्तीर्ण भएका थिए ।

भगवती मावि भने कडा अनुशासन तथा सीमित स्रोतसाधनमा उत्कृष्ट अंक ल्याएर बिभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको विद्यालय हो । विद्यालयकै आन्तरिक स्रोतबाट पढाइमा लगानी गरी जेहेनदार विद्यार्थी उत्पादन गर्दै आएको छ । विभिन्न विद्यालयमा पढ्न नसकेर कमजोर तथा बानी बिग्रेका विद्यार्थीहरूसमेत भगवती माविमा जेहेनदार विद्यार्थीका रूपमा पढाइ सुधार्ने गरेको अभिभावकहरू बताउँछन् ।

प्रकाशित : चैत्र २९, २०७५ १०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटन विकासमा छैन योजना

कान्तिपुर संवाददाता

डोटी — पर्यटन विकास जिल्लाको मुख्य आयस्रोत हुन सक्ने भए पनि स्थानीय तहबीच एकीकृत योजना अभाव देखिएको छ जसकारण समयमै बनिसक्नुपर्ने पर्यटन क्षेत्रका सम्भावना प्रवर्द्धन गर्ने कार्यले गति लिन सकेको छैन ।

९ स्थानीय तह रहेको जिल्लामा एउटै क्षेत्रविशेषमा मात्रै पर्यटनका सम्भावनाहरू छैनन् । ९ वटै स्थानीय तह आआफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय सम्भावनाको प्रवर्द्धनका लागि पहिलो गाउँसभाबाटै बजेट विनियोजन गरी लगानी गर्दै आएका छन् । तर, पनि समग्र जिल्लाको एकीकृत योजना बनाउन स्थानीय तहहरूले आपसमा छलफल गरि साझा एजेन्डा बनाएर हिड्न सकेका छैनन् । स्थानीय तहका प्रमुखहरूले साझा एजेन्डा तथा एकीकृत योजना बनाएर जाने विषयमा छलफलको अभाव खडकिए पनि अहिलेसम्मसंँगै बसेर गृहकार्य गर्न नसकेको स्विकारे ।

‘आ–आफ्नो खुसीले साना योजनामा मात्र ब्यस्त हुँदा उहाँहरू बिचको प्रतिस्पर्धा मात्र झल्किन्छ,’ जिल्ल्ला समन्वय समिति संयोजक रामबहादुर ऐरले भने, ‘जिल्लाका सबै क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना बनाएर आ(आफ्नो क्षेत्रमा काम गर्दा ठुलो उपलब्धि मिल्छ, दुर्भाग्य त्यसो हुन सकेको छैन ।’ उनले जिल्ला समन्वय समितिसंँग खासै त्यसबारे बजेट नभएकाले स्थानीय तहहरूबिच छलफल गराउन नसकेको बताए ।

सबै स्थानीय तहहरूमा कुनै न कुनै सम्भावना छन् । दिपायल सिलगढी नगरपालिकाले सेती नदी, डोटेली राजाको दरबार, दुधेश्वर, बासुधारा र शैलेश्वरीलाई लक्षित गरी विभिन्न लोकप्रिय योजना ल्याइरहेको छ । शिखर नगरपालिकाले नगरको सिरानीमा वर्षौंदेखि ओझेलमा रहेको तेले लेकलाई पर्यटनको नयाँ गन्तव्य बनाउन लगानी गरिरहेको छ ।

त्यस्तै बडीकेदार गाउँपालिकाले बडीकेदार मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा अघि बढाइरहेका बेला बोगटान गाउँपालिकाले उज्यालो गाउँपालिकाको अभियानमार्फत पर्यटन प्रवर्द्धन गर्न थालेको छ । पूर्वीचौकी, आदर्श र सायल गाउँपालिका भने खप्तडको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले खप्तडको विकाससंँगै मध्यावर्ती क्षेत्रको जनजीवन र सांस्कृतिक विरासतलाई प्रवर्द्धन गरिरहेका छन् ।

‘जिल्लाका विभिन्न ठाउँमा पर्यटनका लागि रमणीय गन्तव्य छन्,’ शिखर नगरपालिका प्रमुख सीताराम जोशीले भने, ‘ती सबैको एकीकृत योजना बनाएर अगाडि बढ्न सक्यौं भने मात्र आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।’ जिल्लामा पर्यटकका लागि मुख्य आकर्षक मानिएको क्षेत्र खप्तड सायल र पूर्वीचौकी गाउँपालिकाको सिमानामा पर्छ । यी २ गाउँपालिकाको सीमामा परे पनि पर्यटकले पाइला टेक्ने मुख्य ठाउँ हो दिपायलको सिलगढी नगरपालिका ।

पर्यटकहरूका लागि उचित आवास, सूचना केन्द्र र दिपायल सिलगढीमा मन बुझाउने पर्यटनका अन्य सहायक गन्तव्यहरू तयार गर्न दिपायल सिलगढी नगरपालिकै मुख्य भूमिका खेल्नुपर्ने नगर प्रमुख मञ्जु मलासी बताउँछिन् । जिल्लामा सबैभन्दा ठूलो आयस्रोतका रूपमा पहिचान भइसके पनि पर्यटन क्षेत्रलाई सरकारी पक्षबाट पर्यटकीय सम्भावना भएका सम्पदाहरूको एकीकृत प्रचारप्रसार र पूर्वाधार तयार गर्न नसक्दा यहाँको पर्यटन क्षेत्र ओझेलमा पर्दै आएको छ ।

डोटीको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको खप्तड र तेलेलेक वरपर रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनाबारे अहिलेसम्म सरकारीपक्षबाट अध्ययन भएको छैन ।

‘डोटीका लागि पर्यटन सबैभन्दा बढी आयस्रोत बन्न सक्छ,’ उद्योग वाणिज्य संघका महासचिव दीपक खडकाले भने, ‘तर हामीकहाँ गफ बढी काम कम गर्ने प्रवृत्तिले समस्या पारेको छ ।’ जिल्लामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक भिक्रिने त्रम बढ्दै गएको छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT