१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चैतलीको कांकर ल्याइयो

बसन्तप्रताप सिंह

बझाङ — मध्य तथा सुदूरपश्चिमको प्रसिद्ध बान्नीकी चैतली मेलाको रौनक सुरु भएको छ । मेला सुरुवातको संकेत स्वरूप ल्याइने तीन गाउँका कांकर (काठको लिङ्गो) ल्याइएको छ । काँक्रेसी भनिने यो मेला भर्नका लागि देश विदेशमा रहेका यहाँका स्थानियबासी गाउँ फर्किएका छन् । 

चैतलीको कांकर ल्याइयो

चैतली मेलाको दिन बान्नी मष्टाको मन्दिरमा चढाउनका लागि यहाँका तीन वटा गाउँका मानिसले अलग अलग कांकर ल्याउने चलन छ । साविक कडेल गाविस ४ वान्नीकोट, व्यासी २ र कडेल ६ का गाउँलेहरू मिलेर ल्याउने कांकरलाई वोहराको काकर भनिन्छ । साविक कडेल ९ का धामीगाईं, थान बाहुनहरू र जोशी गाउँकाहरू मिलेर ल्याउने कांकरलाई धामी गाउँको कांकर भन्ने गरिन्छ ।

यस्तै, कडेलकै मुम्ला र मोतै गाउँका बासिन्दाले ल्याउने कांकरलाई मुम्ल्यालको कांकर भन्ने गरिन्छ । तीन वटै कांकरलाई चैत्र त्रयोदशीमा लाग्ने बान्नीकी चैतली मेलामा मष्टा मन्दिरमा चढाउने गरिन्छ । यो वर्ष बान्नीकी चैतलीको मुख्य मेला वैशाख ४ मा परेको छ ।

तीन वटै गाउँका मानिस सामल सहित बोकेर कांकर काट्नका लागि घरबाट निकै टाढा जंगलमा गएर सबै भन्दा अग्लो रुख काटेर बोकेर ल्याउने गर्दछन । राती त्यही बसेर भोली पल्ट कांकर काटेर फर्कने गर्दछन् । ठुलो समूहले सिंगैरुख बोकेर ल्याएको दृश्य हेर्न लायक हुन्छ । यो वर्ष पनि ५० देखी ६० हातसम्म लम्बाई भएका काँकरहरू ल्याईको छविस पाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास अयडीले बताए ।

घोडेजात्राको दिन देखि सुरु भई पूर्णिमासम्म चल्ने यो मेलाको काँकर ल्याउने दिन महत्त्वपूर्ण मानिन्छ । यस दिन घरबाट लगिएका बोकाहरू काँकरमा बलि दिने गरिन्छ । बोका बलि दिएर बन्चरो पूजा गरिसकेपछि काँकर काट्ने प्रचलन रहेको छ । बाजागाजासहित तीन वटा गाउँका अलग अलग समूह काँकर काट्न गएको र काँकर बोकेर ल्याएको हेर्नका लागि छविस क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यो मेलाको प्रमुख आकर्षण चैत्र शुक्ल त्रयोदशीका दिन मन्दिरमा कांकर चढाएको र झोडाखेल्ना चौरमा कांकर हिंडाएको हेर्नका लागि बझाङलगायत छिमेकी जिल्लाका मानिस आउने गर्छन् ।

चैतली मेलाको अर्को आकर्षण भनेको तल्लो छबिस र मल्लो छबिस गाउँका मानिसहरूले छालाको भकुन्डो खेल्ने र दाइना (दमाहा) जुधाउने खेल हो । यो मेला हेर्नका लागि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिकाबाट विदेश गएका तथा जिल्लाबाहिर गएकाहरू समेत सम्भव भएसम्म घर फर्किनुपर्ने नियम रहेको बान्नी मष्टाका पुजारी देवीलाल पण्डितले बताए । गत वर्ष जिल्लाभित्र र बाहिरका गरी ५० हजारभन्दा बढीले बान्नीकी चैतली मेला हेरेको उनले बताए ।

यो वर्ष मेलाको आकर्षण बढाउनका लागि विभिन्न गाउँका बीच देउडा प्रतियोगिता, भलिबल प्रतियोगिता समेत आयोजना गरेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले जनाए । उनले मेला हेर्न आउनेको खाना र बासको व्यवस्था गर्न मेला स्थल आसपासका गाउँहरूलाई अस्थायी होमस्टेको रूपमा प्रयोग गर्नका लागि तयारी भैरहेको बताए ।

दर्शनार्थीहरूलाई निश्चित शुल्क लिएर स्थानीयका घरमा खाना र बासको व्यवस्था मिलाइने धामीको भनाइ छ । सबै गाउँका अगुवासहित मेला व्यवस्थापन समितिको बैठक बसेर विभिन्न उपसमितिहरू बनाई मेलाको व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष राधिका रतालाले बताइन् । उनले मेला अवधिभर मदिरा बिक्रीवितरण र सेवन प्रतिबन्ध गरिएको जानकारी दिइन् ।

प्रकाशित : चैत्र २६, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?