चैतलीको कांकर ल्याइयो

बसन्तप्रताप सिंह

बझाङ — मध्य तथा सुदूरपश्चिमको प्रसिद्ध बान्नीकी चैतली मेलाको रौनक सुरु भएको छ । मेला सुरुवातको संकेत स्वरूप ल्याइने तीन गाउँका कांकर (काठको लिङ्गो) ल्याइएको छ । काँक्रेसी भनिने यो मेला भर्नका लागि देश विदेशमा रहेका यहाँका स्थानियबासी गाउँ फर्किएका छन् । 

बझाङको मुम्लागाउँको कांकर (काठको लिङ्गो) जयपृथ्वी नगरतर्फ लैजाँदै स्थानीयवासी । तस्बिर : बसन्तप्रताप/कान्तिपुर 


चैतली मेलाको दिन बान्नी मष्टाको मन्दिरमा चढाउनका लागि यहाँका तीन वटा गाउँका मानिसले अलग अलग कांकर ल्याउने चलन छ । साविक कडेल गाविस ४ वान्नीकोट, व्यासी २ र कडेल ६ का गाउँलेहरू मिलेर ल्याउने कांकरलाई वोहराको काकर भनिन्छ । साविक कडेल ९ का धामीगाईं, थान बाहुनहरू र जोशी गाउँकाहरू मिलेर ल्याउने कांकरलाई धामी गाउँको कांकर भन्ने गरिन्छ ।

यस्तै, कडेलकै मुम्ला र मोतै गाउँका बासिन्दाले ल्याउने कांकरलाई मुम्ल्यालको कांकर भन्ने गरिन्छ । तीन वटै कांकरलाई चैत्र त्रयोदशीमा लाग्ने बान्नीकी चैतली मेलामा मष्टा मन्दिरमा चढाउने गरिन्छ । यो वर्ष बान्नीकी चैतलीको मुख्य मेला वैशाख ४ मा परेको छ ।

तीन वटै गाउँका मानिस सामल सहित बोकेर कांकर काट्नका लागि घरबाट निकै टाढा जंगलमा गएर सबै भन्दा अग्लो रुख काटेर बोकेर ल्याउने गर्दछन । राती त्यही बसेर भोली पल्ट कांकर काटेर फर्कने गर्दछन् । ठुलो समूहले सिंगैरुख बोकेर ल्याएको दृश्य हेर्न लायक हुन्छ । यो वर्ष पनि ५० देखी ६० हातसम्म लम्बाई भएका काँकरहरू ल्याईको छविस पाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास अयडीले बताए ।

घोडेजात्राको दिन देखि सुरु भई पूर्णिमासम्म चल्ने यो मेलाको काँकर ल्याउने दिन महत्त्वपूर्ण मानिन्छ । यस दिन घरबाट लगिएका बोकाहरू काँकरमा बलि दिने गरिन्छ । बोका बलि दिएर बन्चरो पूजा गरिसकेपछि काँकर काट्ने प्रचलन रहेको छ । बाजागाजासहित तीन वटा गाउँका अलग अलग समूह काँकर काट्न गएको र काँकर बोकेर ल्याएको हेर्नका लागि छविस क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यो मेलाको प्रमुख आकर्षण चैत्र शुक्ल त्रयोदशीका दिन मन्दिरमा कांकर चढाएको र झोडाखेल्ना चौरमा कांकर हिंडाएको हेर्नका लागि बझाङलगायत छिमेकी जिल्लाका मानिस आउने गर्छन् ।

चैतली मेलाको अर्को आकर्षण भनेको तल्लो छबिस र मल्लो छबिस गाउँका मानिसहरूले छालाको भकुन्डो खेल्ने र दाइना (दमाहा) जुधाउने खेल हो । यो मेला हेर्नका लागि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिकाबाट विदेश गएका तथा जिल्लाबाहिर गएकाहरू समेत सम्भव भएसम्म घर फर्किनुपर्ने नियम रहेको बान्नी मष्टाका पुजारी देवीलाल पण्डितले बताए । गत वर्ष जिल्लाभित्र र बाहिरका गरी ५० हजारभन्दा बढीले बान्नीकी चैतली मेला हेरेको उनले बताए ।

यो वर्ष मेलाको आकर्षण बढाउनका लागि विभिन्न गाउँका बीच देउडा प्रतियोगिता, भलिबल प्रतियोगिता समेत आयोजना गरेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले जनाए। उनले मेला हेर्न आउनेको खाना र बासको व्यवस्था गर्न मेला स्थल आसपासका गाउँहरूलाई अस्थायी होमस्टेको रूपमा प्रयोग गर्नका लागि तयारी भैरहेको बताए ।

दर्शनार्थीहरूलाई निश्चित शुल्क लिएर स्थानीयका घरमा खाना र बासको व्यवस्था मिलाइने धामीको भनाइ छ । सबै गाउँका अगुवासहित मेला व्यवस्थापन समितिको बैठक बसेर विभिन्न उपसमितिहरू बनाई मेलाको व्यवस्थापन गरिएको गाउँपालिकाउपाध्यक्ष राधिका रतालाले बताइन् । उनले मेलाअवधिभर मदिरा बिक्रीवितरण र सेवन प्रतिबन्ध गरिएको जानकारी दिइन् ।

प्रकाशित : चैत्र २६, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धाको १८ वर्षदेखि जंगल बास

कान्तिपुर संवाददाता

बैतडी — बैतडी सदरमुकामबाट टाढा र विकट पञ्चेश्वर गाउँपालिका पुग्न सवारी साधनबाट दिनभरि लाग्छ । गाउँपालिका केन्द्र आमचौरा पुगेर करिब आधा घण्टा अगाडि पूर्वतिर वडा नम्बर ३ को मड भन्ने ठाउँमा पाटन—पञ्चेश्वर सडकको छेउमै जंगल देख्न सकिन्छ ।

जंगलको छाप्रोमा बस्दै आएकी हिरादेवी चन्द । तस्बिरः कान्तिपुर

त्यही जंगलको छेउमै बोटबिरुवाको झारपात र कपडाको पालले बारेको सानो र साँघुरो छाप्रो छ । ७० वर्ष नाघेकी वृद्धा त्यही छाप्रोभित्र देखिन्छिन् । प्रायः छाप्रोभित्रै हुने वृद्धा कहिलेकाहीं घस्रिंदै बाहिरभित्र गर्छिन् । घरी हाँस्न थाल्छिन्, घरी बोल्दै कराउँछिन् र रुन थाल्छिन् ।

हिँडडुल गर्न नसक्ने अशक्त ती महिला हिरादेवी चन्द हुन् । उनी त्यो जंगलको छाप्रोमा बस्न लागेको करिब १८ वर्ष भइसकेको बताउँछिन् । त्यहाँका स्थानीयहरू पनि हिरादेवीको कुरामा सही थाप्छन् । दुई दशकअघि पनि उनी जिल्लाकै शिवनाथ गाउँपालिकाको जंगलमा बस्दै आएको बताउँछिन् । ‘पछि सरेर यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘यहाँ आएर यही जंगलको छाप्रोमा बसेको पनि १८ वर्ष पुगिसक्यो ।’ पञ्चेश्वर गाउँपालिका ३ वडा बगरेथीमा जन्मिएकी हिरादेवी वडा नम्बर २ को मटेलामा ११ वर्षकै उमेरमा बिहे भएको बताउँछिन् । उनले भनिन्, ‘मेरो पहिलो बिहेबाट २ छोरा र पछिको बिहेबाट १ छोरी गरी ३ छोराछोरी थिए । पहिलो श्रीमानको मृत्यु भएपछि फेरि ६० वर्षीय वृद्धसंँग मेरो १७ वर्षकै उमेरमा अर्को बिहे भयो ।’

दोस्रो बिहे भएको ५ वर्षमै अर्का श्रीमानको पनि मृत्यु भएको उनको भनाइ छ । श्रीमानको मृत्युपछि कहिले माइतीघर त कहिले घर गरेर जीवन धानिरहेको बेला एक्कासि आफ्ना हातखुट्टा चल्न छोडेको उनी बताउँछिन् । गाउँले भनाइअनुसार उनलाई कुष्ठरोग लागेको हो । ‘हातखुट्टा चल्न छोडेर अपांगता भएपछि सबैले हेला गर्न थाले,’ जंगलको छाप्रोको बास हुन पुगेको पीडा पोख्दै उनले भनिन्, ‘छोराछोरी, घरपरिवार कता पुगे कता आफन्त समाज सबैले हेला गर्न थालेपछि जंगलमा बस्न थालेकी हुँ, अहिलेसम्म यही जंगलमै छु ।’ पहिलो बिहेपछि २ छोरा भएको र दोस्रो बिहेबाट पनि छोरी जन्मेकी उनी बताउँछिन् । दुवै छोरा भारतमा रहेका र छोरीको विहे धेरै अगाडि भइसकेको उनले बताइन् । ‘छोराछोरीहरू कुनै वास्ता गर्दैनन्, आजसम्म भेट्नसम्म नआएको उनको गुनासो छ ।

घरपरिवार र आफन्तहरूले नै घरबाट निकालेकाले घर र गाउँ पस्न मन नलाग्ने गरेको उनको भनाइ छ । ‘एकल महिलाको भत्ता पनि त्यही आसपासका गाउँका जँड्याहाहरूले खाइदिने गरेका छन् । उनले भनिन्, ‘पैसा आयो कि रक्सी खानेहरू पछि दिन्छु भन्दै माग्न आउँछन्, नदिए खोसेर लैजान्छन् ।’ हिरालाई स्थानीय सरकारले भने गाँस, बासको व्यवस्था गर्ने भने पनि उनी घरमा बस्न नमान्ने भएकाले केही गर्न नसकिएको वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर चन्दले बताए ।

उनले भने, ‘हिरा दिदीलाई केही महिना अगाडि नागरिकता र अपांगता परिचय पत्र बनाइदिन बोकेरै गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी आएको दिन लगेर गइयो र प्रमाणपत्र बनाएरभत्ता खाने बनाइयो, गाउँमै बसौं भन्यौं मान्नुहुन्न ।’ गाउँपालिका र वडाको सहयोगमा नजिकै टिनको छाप्रो बनाइदिए पनि उनी नबस्ने गरेको अध्यक्ष चन्दको भनाइ छ । अहिले उनलाई जंगल नजिक घर भएकाहरूले खाना दिने गरेको चन्दले बताए । जे मन लायो, त्यही बोल्ने, गाउँलेहरूलाई गालीगलौज गर्ने, होहल्ला गर्ने उनको व्यवहार देखेर उनको मानसिक सन्तुलन ठिक छैन भन्ने सबै गाउँलेहरूको अनुमान रहेको चन्दले बताए ।

हिरा भने गाउँ बाहिरबाट आएका मान्छेहरूसँग राम्रोसंँग बोल्ने व्यवहार पनि राम्रो गर्ने गर्छिन् । आफ्ना जीवनका सबै कुरा भन्नुका साथै उनले धेरै अगाडिका राजनीतिक, सामाजिक कुराहरू पनि गर्ने गर्छिन् । आफूलाई आफन्त र समाजले अझै वास्ता नगरेको उनको दुखेसो रहेको छ ।

–तृप्ति शाही
(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २६, २०७५ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्