वृद्धाको १८ वर्षदेखि जंगल बास

बैतडी — बैतडी सदरमुकामबाट टाढा र विकट पञ्चेश्वर गाउँपालिका पुग्न सवारी साधनबाट दिनभरि लाग्छ । गाउँपालिका केन्द्र आमचौरा पुगेर करिब आधा घण्टा अगाडि पूर्वतिर वडा नम्बर ३ को मड भन्ने ठाउँमा पाटन—पञ्चेश्वर सडकको छेउमै जंगल देख्न सकिन्छ ।

वृद्धाको १८ वर्षदेखि जंगल बास

त्यही जंगलको छेउमै बोटबिरुवाको झारपात र कपडाको पालले बारेको सानो र साँघुरो छाप्रो छ । ७० वर्ष नाघेकी वृद्धा त्यही छाप्रोभित्र देखिन्छिन् । प्रायः छाप्रोभित्रै हुने वृद्धा कहिलेकाहीं घस्रिंदै बाहिरभित्र गर्छिन् । घरी हाँस्न थाल्छिन्, घरी बोल्दै कराउँछिन् र रुन थाल्छिन् ।


हिँडडुल गर्न नसक्ने अशक्त ती महिला हिरादेवी चन्द हुन् । उनी त्यो जंगलको छाप्रोमा बस्न लागेको करिब १८ वर्ष भइसकेको बताउँछिन् । त्यहाँका स्थानीयहरू पनि हिरादेवीको कुरामा सही थाप्छन् । दुई दशकअघि पनि उनी जिल्लाकै शिवनाथ गाउँपालिकाको जंगलमा बस्दै आएको बताउँछिन् । ‘पछि सरेर यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘यहाँ आएर यही जंगलको छाप्रोमा बसेको पनि १८ वर्ष पुगिसक्यो ।’ पञ्चेश्वर गाउँपालिका ३ वडा बगरेथीमा जन्मिएकी हिरादेवी वडा नम्बर २ को मटेलामा ११ वर्षकै उमेरमा बिहे भएको बताउँछिन् । उनले भनिन्, ‘मेरो पहिलो बिहेबाट २ छोरा र पछिको बिहेबाट १ छोरी गरी ३ छोराछोरी थिए । पहिलो श्रीमानको मृत्यु भएपछि फेरि ६० वर्षीय वृद्धसंँग मेरो १७ वर्षकै उमेरमा अर्को बिहे भयो ।’


दोस्रो बिहे भएको ५ वर्षमै अर्का श्रीमानको पनि मृत्यु भएको उनको भनाइ छ । श्रीमानको मृत्युपछि कहिले माइतीघर त कहिले घर गरेर जीवन धानिरहेको बेला एक्कासि आफ्ना हातखुट्टा चल्न छोडेको उनी बताउँछिन् । गाउँले भनाइअनुसार उनलाई कुष्ठरोग लागेको हो । ‘हातखुट्टा चल्न छोडेर अपांगता भएपछि सबैले हेला गर्न थाले,’ जंगलको छाप्रोको बास हुन पुगेको पीडा पोख्दै उनले भनिन्, ‘छोराछोरी, घरपरिवार कता पुगे कता आफन्त समाज सबैले हेला गर्न थालेपछि जंगलमा बस्न थालेकी हुँ, अहिलेसम्म यही जंगलमै छु ।’ पहिलो बिहेपछि २ छोरा भएको र दोस्रो बिहेबाट पनि छोरी जन्मेकी उनी बताउँछिन् । दुवै छोरा भारतमा रहेका र छोरीको विहे धेरै अगाडि भइसकेको उनले बताइन् । ‘छोराछोरीहरू कुनै वास्ता गर्दैनन्, आजसम्म भेट्नसम्म नआएको उनको गुनासो छ ।


घरपरिवार र आफन्तहरूले नै घरबाट निकालेकाले घर र गाउँ पस्न मन नलाग्ने गरेको उनको भनाइ छ । ‘एकल महिलाको भत्ता पनि त्यही आसपासका गाउँका जँड्याहाहरूले खाइदिने गरेका छन् । उनले भनिन्, ‘पैसा आयो कि रक्सी खानेहरू पछि दिन्छु भन्दै माग्न आउँछन्, नदिए खोसेर लैजान्छन् ।’ हिरालाई स्थानीय सरकारले भने गाँस, बासको व्यवस्था गर्ने भने पनि उनी घरमा बस्न नमान्ने भएकाले केही गर्न नसकिएको वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर चन्दले बताए ।


उनले भने, ‘हिरा दिदीलाई केही महिना अगाडि नागरिकता र अपांगता परिचय पत्र बनाइदिन बोकेरै गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी आएको दिन लगेर गइयो र प्रमाणपत्र बनाएर भत्ता खाने बनाइयो, गाउँमै बसौं भन्यौं मान्नुहुन्न ।’ गाउँपालिका र वडाको सहयोगमा नजिकै टिनको छाप्रो बनाइदिए पनि उनी नबस्ने गरेको अध्यक्ष चन्दको भनाइ छ । अहिले उनलाई जंगल नजिक घर भएकाहरूले खाना दिने गरेको चन्दले बताए । जे मन लायो, त्यही बोल्ने, गाउँलेहरूलाई गालीगलौज गर्ने, होहल्ला गर्ने उनको व्यवहार देखेर उनको मानसिक सन्तुलन ठिक छैन भन्ने सबै गाउँलेहरूको अनुमान रहेको चन्दले बताए ।


हिरा भने गाउँ बाहिरबाट आएका मान्छेहरूसँग राम्रोसंँग बोल्ने व्यवहार पनि राम्रो गर्ने गर्छिन् । आफ्ना जीवनका सबै कुरा भन्नुका साथै उनले धेरै अगाडिका राजनीतिक, सामाजिक कुराहरू पनि गर्ने गर्छिन् । आफूलाई आफन्त र समाजले अझै वास्ता नगरेको उनको दुखेसो रहेको छ ।


– तृप्ति शाही

(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २६, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?