२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वन जोगाउन एकजुट

मोहन शाही

डोटी — लामो समयदेखि वन संरक्षणमा जुटे पनि अपेक्षित उपलब्धि नभएपछि स्थानीयवासी अन्य उपाय खोज्न थालेका छन् । केआईसिंह गाउँपालिका ५ रानागाउँस्थित ३ वटा सामुदायिक वनका पदाधिकारीहरू एक अर्कासँग संरक्षणका लागि छलफल गर्न जुटेका छन् ।

‘कसले के राम्रो गरिरहेको छ, चुनौती र समस्या के भोग्दैछन् भनेर एक–अर्काका अनुभवहरू साटासाट गर्न छलफलमा जुटेका छौं,’ मष्टो सीताराम सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर रावलले भने, ‘छलफलले हामीलाई काम गर्न हौसला मिलेको छ ।’


सामुदायिक वनहरूमा वृक्षरोपण, गोडमेल, गाँजो तथा घाँस कटानी, आगो नियन्त्रण जस्ता सृजनात्मक कार्यबारे अपनाइएका प्रभावकारी कार्यविधि र कार्ययोजनाबारे सिक्न पाइएको लोड्याल सामुदायिक वनका अध्यक्ष लाल बहादुर मल्लले सुनाए ।


उनले आफूहरूले संरक्षणका लागि विभिन्न पहल गरे पनि उपलब्धि नभएको भन्दै खिन्नता प्रकट गरे । ‘सामुदायिक वन, कर्मचारी र जनप्रतिनिधिहरू आपसी अन्तर्क्रियाले नौलो उपाय निकाल्छौं,’ उनले भने ।


केआईसिंह गाउँपालिकाको ५ वडा कार्यालयले सामुदायिक वनका पदाधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । वडाध्यक्ष रामचन्द्र राणाले पछिल्लो समय वनजंगलको संरक्षणमा पदाधिकारीहरू नै सुस्ताउन थालेकाले उनीहरूको सक्रियता बढाउन वडा कार्यालयले अन्तर्क्रिया गरेको बताए । अन्तर्क्रियाको निचोडका आधारमा आगामी आर्थिक वर्षका लागि प्रभावकारी कार्ययोजना बनाउने बताए ।


२ दिनसम्म चल्ने सो अन्तर्क्रिया कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरूले आफूले भोग्दै आएका समस्या, चुनौती र सफलताहरूबारे प्रतिवेदन पेस गरेका थिए । वन डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत नवीनतम मिश्र र रेन्जर सुरेश रोकायाले सामुदायिक वन संरक्षणका लागि विद्यमान नीति नियम, कानुन, कार्यविधि र अपनाउनुपर्ने प्रभावकारी कार्ययोजनाबारे वनका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए ।


‘नेपालमा अपनाइएको सामुदायिक वनको अवधारणा दक्षिण एसियामै उत्कृष्ट छ,’ रेन्जर रोकायाले भने, ‘अझै यसबारे स्थानीय स्तरमा छलफल गर्न जरुरी छ । रानागाउँमा गरिएको छलफलले पदाधिकारीहरूले केही प्रयास गरिरहेको महसुस भयो ।’


केआईसिंह गाउँपालिकाको वडा नम्बर ५ मा ३ वटा सामुदायिक वन छन् । मष्टो सीताराम, लोड्याल र गाबर भत्कड सामुदायिक वन डोटीमा समुदायलाई हस्तान्तरण गरेका मध्ये पुराना वन हुन् । सामुदायिक वनबाट स्थानीयले भने अपेक्षित उपलब्धि गर्न नसकेको सामुदायिक वनका पदाधिकारीहरूले दुखेसो पोखेका थिए ।


उपझोक्ताहरूलाई वन अतित्रमण, आगलानी र रूख कटानी कार्यमा पदाधिकारीहरूले कडाइ गर्न नसक्दा मनोमानी बढ्दै गएको उनीहरूले समेत स्विकारे । ‘अब हामी कडाइका साथ जान्छौं,’ मष्टो सीताराम सामुदायक वनका अध्यक्ष कृष्ण बहादुर रावलले भने, ‘अतिक्रमण गर्नेलाई हटाउँछौं, यसमा वडा कार्यालय र वन डिभिजनको पनि साथ सहयोग चाहिन्छ ।’


मष्टोभित्र ३० परिवारले अतिक्रमण गरेकाले उनीहरूलाई हटाउन नसकिरहेको अध्यक्ष रावलको गुनासो थियो । सहायक वन अधिकृत नवीनतम मिश्रले प्रक्रिया पुर्‍याएर आए आफूहरू सामुदायिक वनले चालेका कदममा साथ दिन तयार रहेको बताए । सो सामुदायिक बैंकले विभिन्न स्रोतबाट आयआर्जन गरी १६ लाख रुपैया बैंकमा बचत गरेको छ । लोड्याल सामुदायिक वनमा भने पदाधिकारीहरू नै निष्क्रिय छन् ।


वन संरक्षणका लागि पटकपटक पहल भएपनि उपभोक्ताहरूबाट दुर्व्यवहार हुन थालेपछि काम गर्न छोडेको उपभोक्ता सदस्य कलावती मल्लले भनिन् । ‘नियमानुसार गल्ती गर्नेलाई कारबाही गर्न खोजे उल्टै पदाधिकारीसँग व्यक्तिगत रिसइबी लिन थालियो,’ मल्लले भनिन्, ‘०५२ सालमा समुदायलाई हस्तान्तरण गरिएको भए पनि कतिपय हाम्रै कमजोरी र कतिपय उपभोक्ताहरूको लापरबाहीले सफलता मिलेन ।’

प्रकाशित : चैत्र १४, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?