समृद्धिका लागि लगानी आवश्यक : सभापति देउवा

कान्तिपुर संवाददाता

कञ्चनपुर — पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्राकृतिक स्रोत र भौगोकिताका कारण देशकै धनी भएकाले यहाँ लगानीको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । उनले अन्य पूर्वाधार विकासबाट प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका छन् । जलस्रोत र अन्य प्राकृतिक स्रोतको उपयोगले प्रदेशलाई धनी बनाउन सकिने देउवाको भनाइ छ ।

समृद्धिका लागि लगानी आवश्यक : सभापति देउवा

‘औद्योगिक क्षेत्र स्थापनासँगै कर छुट तथा विभिन्न सहुलियत दिएर उद्योग स्थापनामा जोड दिनुपर्छ,’ शुक्रबारदेखि सुरु भएको १२ औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उदघाटनपछि उनले भने, ‘पश्चिम सेती, पञ्चेश्वर तथा अन्य साना जलविद्युत् आयोजनाको काम छिटै सुरु हुनुपर्छ ।’


उनले पश्चिम सेतीको सेयर यहींका जनतालाई दिनुपर्ने बताए । अहिले रेमिटयान्सका भरमा मुलुकले बजेट धानेको बताउँदै आर्थिक समृद्धिका लागि उद्योग स्थापना हुनुपर्ने उनले बताए । सडक र ऊर्जाको विकासबाट मात्रै ग्रामीण भेकमा विकासले गति लिने भएकाले यसमा सबैले एकजुट भई लाग्नुपर्ने बताए । उनले महाकालीमा ४ लेनको पक्की पुल, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह र दैजीमा औद्योगिक क्षेत्र स्थापनापछि सुदूरपश्चिम प्रदेशले साँच्चै विकासमा फडको मार्ने बताए । यसका लागि सबै राजनीतिक दल एकजुट हुनु आवश्यक रहेको उनले बताए ।


अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिम पिछडिएको भए पनि बजेट तथा विकास निर्माणका योजनाका हिसाबले अहिले पनि विभेद भइरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा आउने बजेट अन्य क्षेत्रमा एउटै जिल्लामा जाने समेत बताए । कञ्चनपुर उद्योग वाणिज्य संघले यस क्षेत्रको औद्योगिक तथा पर्यटन विकासका लागि विगत झैं यस पटक पनि शुक्रबारदेखि पर्यटन महोत्सव सुरु गरेको हो ।


संघले १२ वर्षदेखि नियमित रूपमा महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सवमा स्थानीय उत्पादनसँगै राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सय बढी स्टल राखिएका छन् । कार्यक्रममा आयोजकले देउवालाई १२ किलोको माला लगाएर स्वागत गरेको थियो ।


प्रेसलाई दमन गर्न पाइँदैन

यसअघि शुक्रबार बिहान नेपाल प्रेस युनियनको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा देउवाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताए । उनले अहिले सरकारले प्रेसमाथि अंकुश लगाउने भएकाले त्यसलाई कुनै पनि हालतमा पास हुने नदिने उनले बताए । ‘प्रेसमाथि अंकुश लगाउने विधेयक कुनै हालतमा पास हुन दिँदैनाैं,’ उनले भने, ‘कांग्रेस आन्दोलनमा गएर पनि यो विधेयक रोक्छ ।’ उनले प्रधानमन्त्री केपी ओलीले आफ्नो आलोचना सुन्न नसकेर प्रेसमाथि कठोर हुन लागेको आरोप लगाए ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?