ताल संरक्षणमा नगरपालिका

गणेश चौधरी

टीकापुर — घोडाघोडी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने तालहरूको संरक्षण र व्यवस्थापन गरी पर्यटन प्रवद्र्धनको योजना बनाएको छ । घोडाघोडी ताललाई केन्द्रमा राखेर वरिपरि रहेका अन्य तालहरूको उपयोगमा जोड दिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाको ओजहुवा तालमा डुंगा सयरका लागि बनाइएको पूर्वाधार । तस्बिर : गणेश/कान्तिपुर

घोडाघोडी तालसँगै जोडिएको ओजहुवा तालमा बोटिङको व्यवस्था गर्ने, हात्ती प्रजनन केन्द्र स्थापना र पर्यटकका लागि फिसिङ सेन्टर खोल्ने प्रक्रिया अगाडि बढाएको छ ।

तालको संरक्षण, विकास र व्यवस्थापनका लागि गुरुयोजनाको आवश्यकता महसुुस गरी नगर प्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड गठन गरिएको छ । ‘प्राकृतिक सम्पदालाई असर नपर्ने गरी योजना बनाएर पर्यटन पूर्वाधारका काम गरिरहेका छौं,’ नगर प्रमुख चौधरीले भने, ‘रामसारका कारणले घोडाघोडीमा पर्यटकका लागि डुंगा सञ्चालन गर्न पाइँदैन । त्यसैले डुंगा सयरका लागि ओजहुवा ताल छनोट गरेका छौं ।’

प्राकृतिक सम्पदामा असर नपरोस् र पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भनेर विभिन्न क्षेत्रका विशेषज्ञको सहायतामा पर्यटन पूर्वाधार निर्माण थालेको नगर प्रमुख चौधरीले बताए । उनले भने, ‘ओजहुवा तालमा सयरका लागि डुंगा चढन जैविक खुट्किला बनाएका छौं । केही दिनमा डुंगा आउँछ र पर्यटकका लागि खुला गरिनेछ ।’

घोडाघोडी तालमा पाइने जंगली धानको प्रवद्र्धन, गोही र हात्ती प्रजनन केन्द्र तथा हरिहाँसलगायतका विभिन्न चराको संरक्षित क्षेत्र बनाइने नगरप्रमुख चौधरीले बताए । घोडाघोडीमा अहिले पर्यटक मुस्किलले ३० मिनेट जति अडिने गरेकामा आउँदा दिनमा एक सातासम्म पर्यटक रोकिने सम्भावनाको खोजी गरिरहेको उनको भनाइ छ ।

‘स्थानीयसित हस्पिटालिटी मेनेजमेन्ट र विद्यालयस्तरमा पाठ्यक्रममा संरक्षणका कुरा राख्ने पनि सोच छ,’ उनले भने । घोडाघोडी नगरपालिकास्थित घोडाघोडी तालको पानी निकास द्वार तथा बाँध जीर्ण भएकाले यसलाई यो वर्ष मर्मत गर्ने योजना छ । करिब ३५ वर्षअघि जिल्ला विकास समिति कैलालीले निर्माण गरेको निकास द्वार जीर्ण हुनुका साथै आउट लेटसहितको बाँध भाँचिएर तालको पानी निरन्तर बग्दै गएको छ ।

तालको पानी नरोकिँदा पानी सुक्दै गएको र झार बढी उम्रिएका छन् । ताल सुक्दै जान थालेपछि सिमसारको अस्तित्व नै संकटमा पर्न सक्ने संरक्षणकर्मीहरूले बताए । स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले भने, ‘बाँध धेरै पुरानो भई जीर्ण हुँदा जोखिम बढेको छ । बाँध जतिबेला पनि भत्केर तालको पानी सुकेर सिमसार नै उच्च जोखिममा पर्न सक्छ ।’

पन्छी संरक्षण संघ नेपालमा कार्यरत हिरुलाल डंगौराले ताल सुकेमा गोही, रैथानेलगायत विभिन्न प्रजातिका माछा, जल पन्छीलगायत विस्थापित भएर जलीय जैविक विविधतामा ठूलो असर पर्ने बताए । उनका अनुसार सिमसार क्षेत्र २ सय ९९ प्रजातिका पन्छी, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, घस्रने जीवलगायतको प्रमुख आश्रयस्थल तथा प्रजनन केन्द्र हो ।

त्यतिमात्रै होइन सो सिमसार क्षेत्रमा ४ सय ५० प्रजातिको वनस्पति समेत पाइन्छ । संरक्षणकर्मी डंगौराले बेलैमा नयाँ संरचना निर्माणमा ध्यान नदिए त्यहाँको जैविक विविधता मात्रै होइन, मानव बस्तीसमेत जोखिममा पर्ने बताए ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७ सय २६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । सन् २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो ।

प्रकाशित : माघ २८, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

भीमदत्तको नगरसभा स्थगित

भवानी भट्ट

कञ्चनपुर — कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहिष्कारपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको चौथो नगरसभा स्थगित भएको छ । शनिबार सुरु हुने भनिएको नगरसभा बहिष्कारपछि एक साता पछाडि धकेलिएको छ ।

नगरसभामा प्रस्तुत हुने विषयवस्तु समयमै अध्ययनका लागि उपलब्ध नगराएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेका हुन् । स्थानीय तह सञ्चाल ऐन २०७४ अनुसार सभा सुरु हुनुभन्दा ४८ घण्टाअगाडि नै विषयवस्तुबारे जनप्रतिनिधिलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

नगर उपप्रमुख सुशीला चन्द सिंहको नेतृत्वमा वडाध्यक्ष र सदस्यहरूले सभा बहिष्कार गरे । ‘सभामा प्रस्तुत हुने विषयवस्तु नै जानकारी नभएपछि कसरी सहभागी हुने, कुन विषयमा छलफल गर्ने,’ उपप्रमुख सिंहले भनिन्, ‘यसमा जनप्रतिनिधि र कर्मचारी सबैको कमजोरी छ, कार्यपालिकाले निर्देशन दिएर पनि समयमै विषयवस्तु जनप्रतिनिधिले पाएनन् ।’ उनले वडाध्यक्ष र सदस्यहरूले विषयवस्तुकै जानकारी नपाएकाले बहिष्कार गरेको बताइन् ।

नगरसभामा नगरपालिकाले गरेको काम कारबाहीको समीक्षा गरिन्छ । नीतिगत रूपमा परिमार्जन गर्नुपर्ने विषयमा पनि छलफल हुन्छ । चौथो नगरसभामा कुन विषयवस्तुमा छलफल हुने हो भन्ने कुरा जानकारी नभएको जनप्रतिनिधिको गुनासो छ । माघ २१ गते बसेको नगर कार्यपालिकाको बैठकले माघ २७ गते नगरसभा गर्ने निर्णय गरेको थियो ।

माघ २५ गते पनि सभाको तयारीका विषयमा छलफल गर्न कार्यपालिका बैठक बसेको थियो । ‘त्यतिबेलासम्म कुनै पनि कार्यपालिका सदस्यले यस विषयमा कुरा उठाएनन्,’ भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ‘एक्कासि नगरसभा हुने दिन सभाहलमै प्रवेश नगरी बहिष्कार गरेर फर्किए ।’

प्रवक्ता पाण्डेका अनुसार नगरसभा हुनुभन्दा अघिल्लो दिन नै सबै वडा कार्यालयमा विषयवस्तु पठाइएको थियो । कांग्रेस निकट जनप्रतिनिधिहरूले ४८ घण्टाअघि नै उपलब्ध हुनुपर्नेमा जोड दिएको उनले बताए । स्थानीय तह सञ्चालन ऐनमा विशेष अवस्थामा ८ घण्टा अगाडि उपलब्ध गराए पनि हुने व्यवस्था छ ।

शनिबार स्थगित भएको नगरसभा फाुगन १ गते सारिएको छ । प्रवक्ता पाण्डेयका अनुसार बहिष्कार गरेका जनप्रतिनिधिहरूकै सल्लाहमा फागुन १ गते सारिएको हो । विगतमा पनि जनप्रतिनिधिहरूले नगरसभामा प्रस्तुत हुने विषयवस्तु अध्ययनका लागि निर्धारित समयमा उपलब्ध नगराएको भन्दै विरोध जनाउँदै आएका थिए ।

प्रकाशित : माघ २८, २०७५ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्