ज्यान जोखिममा राखेर बुढ्यौलीमा आमा

वसन्तप्रताप सिंह

बझाङ — गत आइतबार खप्तड छान्ना गाउँपालिका ६, बडाकोटकी ४१ वर्षीया उजलीदेवी थापाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । राति खाना खाएपछि उनलाई सुत्केरी व्यथाले च्यापेको थियो ।

पाको उमेरमा आमा बनेकी बझाङको साइपाल गाउँपालिकाकी महिला । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

एक घण्टा टाढाको पाटादेवल स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो । उनले जन्म दिएकी छोरी भने स्वस्थ छिन् । नवजात शिशुको एक स्थानीय महिलाले स्याहार गरिरहेकी छन् ।

घर्किंदो उमेरमा ज्यानै जोखिममा राखेर गर्भवती हुनु उजलीको रहर थिएन । उनका दुई छोरा र एक छोरी छन् । जेठो छोराका नाति नै दुई वर्षका भए । उनका श्रीमान् मौसमी रोजगारीका लागि भारत जान्थे । एक/दुई वर्ष बिराएर श्रीमान् घर आउँथे । छोराबाट नातिसमेत भइसकेको अवस्थामा आफू गर्भवती भएको कुराले उजलीले निकै लज्जाबोध गरिरहेको र लाजकै कारण उनको ज्यान गएको स्थानीय बताउँछन् ।

‘बुढ्यौली उमेरमा बच्चा बस्यो, भनेर निकै तनावमा हुनुहुन्थ्यो,’ उजलीकी आफन्त दूधकला थापाले भनिन्, ‘लाजले गर्दा गर्भ जाँच गराउन पनि मान्नुभएन । स्वास्थ्यचौकीमा जान पनि मान्नुभएन । लाज मानेर ज्यान नै फाल्नुभयो ।’ लाजकै कारण लामो समयसम्म गर्भ रहेको कुरासमेत नभनेको र अरूले थाहा पाउँदासम्म गर्भपतन गराउने अवधि घर्किसकेको उनले बताइन् ।

गर्भावस्थामा पर्याप्त पोषणको अभाव र बुढ्यौलीका कारण उनको प्रसव असहज भएको र त्यसैका कारण ज्यान गएको जिल्ला अस्पतालका प्रमुख अनुप रेग्मीले बताए । उनले बच्चा सहज रूपमा जन्माए पनि सालको सानो टुक्रा पाठेघरमा अड्किएकाले रक्तस्राव भएको र त्यसैका कारण उनको ज्यान गएको बताए ।

जयपृथ्वी नगरपालिकाकी ३९ वर्षीया रामकला नेपालीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । छोरा पाउने आशामा लगातार गर्भपतन गराएका कारण अत्यधिक रक्तस्राव भएर उनको ज्यान गएको थियो । रामकलाले सुरुमा जिल्ला अस्पताल बझाङमा नै आएर सुरक्षित गर्भपतन गराइन् । त्यसको केही महिनापछि उनको गर्भमा फेरि बच्चा बस्यो । भारतको पलिया गएर गर्भ परीक्षण गर्दा गर्भमा रहेको बच्चा छोरी रहिछन् ।

रामकला दम्पतीले धनगढीमा आएर सुरक्षित गर्भपतन गर्‍यो । दोस्रोपटक गर्भपतन गराएको एक महिनामा फेरि गर्भ रह्यो । जँचाउँदा फेरि पनि छोरी नै भएको बताएपछि उनले घरमै मेडिकलको औषधि खाएर गर्भपतन गराउन खोजिन् । त्यही नै उनको काल बन्यो । औषधि सेवन गरेर गर्भपतन गराउँदा अत्यधिक रगत बगेपछि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा उनको ज्यान गएको थियो ।

जयपृथ्वी नगरपालिकाकी चन्द्रकला ओलीको उमेर ४९ पुग्यो । हालसम्म उनले १२ सन्तान जन्माए पनि ५ वटा मात्र जीवित छन् । ९ वटा छोरी र ३ वटा छोरा जन्माएकी उनका २ छोरा र ३ छोरी मात्र जीवित छन् । चार वर्षअघि कान्छो छोरो जन्माउँदा उमेरले ४४ पुगेकी उनले प्रसवकालमा झन्डै ज्यान गुमाउन पुगेकी थिइन् ।

जिल्ला अस्पताल नजिक भएका कारण समयमै उपचार पाएर आफ्नो ज्यान बचेको सम्भँmदै उनले भनिन्, ‘रगतको खोलो देखेर बेहोस भइसकेकी थिएँ । कसरी बचाए थाहै भएन ।’ छोराको आशामा
बुढेसकालसम्म पनि सन्तान जन्माउन खोज्दा ज्यान जोखिममा परेको थाहा पाए पनि उनले भनिन्, ‘एकै छोराको क्या छोर्‍याइतो ? (एउटा मात्र छोरालाई के छोरा छ भन्नु ?)’

यस्तै जयपृथ्वी नगरपालिका ३ कै जुनकिरी खड्काले पनि ४५ वर्षको उमेरमा आठौं बच्चा जन्माइन् । ५ छोरा र ३ छोरीकी आमा उनलाई थप बच्चा जन्माउन रहर नलागेको भए पनि परिवार नियोजनको साधन प्रयोग गर्न लाज लागेकाले लगातार बच्चा जन्माउनुपरेको बताइन् । विभिन्न कारणले बुढ्यौलीमा गर्भवती भएर प्रसव अवस्थामा ज्यान गुमाउने वा ज्यान जोखिममा राखेर बच्चा जन्माउने यी तीन जना महिला बझाङका प्रतिनिधि पात्र मात्र हुन् ।

छोराको आस, परिवार नियोजनका साधनको प्रयोगबारे चेतनाको अभाव र यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न लजाउने स्वभावका कारण बझाङका धेरैजसो महिलाहरूले जोखिम मोलेर बुढ्यौलीमा गर्भधारण गर्ने गरेका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

सरकारी मूल्यमै उखु खरिद

भवानी भट्ट

कञ्चनपुर — किसानको आन्दोलनपछि कञ्चनपुरका चिनी मिलहरूले उखुको मूल्य बढाएका छन् । यहाँ सञ्चालित दुइटा चिनी मिलले किसानसँगको सहमतिमा यसै सातादेखि मूल्य वृद्धि गरेका छन् । ती दुई मिल किसानलाई सरकारले निर्धारण गरेकै मूल्य उपलब्ध गराउन तयार भएका हुन् । 

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको महाकाली र पुनर्वास नगरपालिकास्थित भागेश्वर सुगर मिलले सरकारले तोकेको मूल्यबाट ३५ रुपैयाँ विकास खर्च काटेर प्रतिक्विन्टल ५ सय १ रुपैयाँ दिनेछन् । मिल सञ्चालक र किसानबीच भएको सहमतिअनुसार किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टलमा ५ सय १ रुपैयाँ पाउनेछन् । सरकारलेप्रतिक्विन्टल उखुमा ६५ रुपैयाँ अनुदान दिएको छ ।

‘हामीले आन्दोलन घोषणा गरेपछि दुवै चिनी मिलहरू उखुको मूल्य बढाउन तयार भएका हुन्,’ उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्दले भने, ‘लामो प्रयासपछि मूल्य बढाउन सफल भएका छौं ।’ समितिले मंगलबारदेखि मिलमा उखु नदिने गरी आन्दोलन घोषणा गरेको थियो । आन्दोलन सुरु हुनुअगावै चिनी मिलहरू किसानसँग छलफल गरेर सहमतिमा आएका छन् ।

यसअघि किसानहरूले स्थानीय तहसँग पनि छलफल सुरु गरेका थिए । उखुको मूल्य बढाउन आवश्यक पहल गरिदिन समितिकै पहलमा बेल्डाँडी गाउँपालिका तथा बेलौरी र पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरिएको थियो । छलफलमा महाकाली र भागेश्वर दुवै चिनी मिलका प्रतिनिधिहरू पनिसहभागी थिए ।

सरकारले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ मूल्य निर्धारण गरे पनि यहाँका चिनी मिलले गत वर्षकै हाराहारीमा मूल्य दिंदै आएका थिए । मिलहरूले उखु हेरेर प्रतिक्विन्टल ३ सय ७५ देखि ४ सय ५ रुपैयाँसम्म मूल्य तोकेका थिए ।

धेरै किसानले न्यून मूल्यमै पनि उखु बिक्री गरे । दुवै मिलले १४/१५ लाख क्विन्टल उखु न्यून मूल्यमा खरिद गरेका छन् ।‘धेरै किसानले सस्तोमै उखु बिक्री गरे,’ बेलौरी नगरपालिकाका उखु उत्पादक कृषक कर्मसिंह रानाले भने, ‘चिनी मिलले ढिलो मूल्य बढाउँदा साना किसानहरू मारमा परेका छन् ।’ उनका अनुसार मिलहरूले सोमबारदेखि उखुको मूल्य वृद्धि गरेका हुन् ।

‘जनप्रतिनिधि, किसान र मिलका प्रतिनिधिसहित सबैको सहमतिमा नयाँ मूल्य लागू गरिएको छ,’ महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने, ‘सरकारले तोकेको मूल्यमध्ये ३५ रुपैयाँ मिलको विकासका लागि काट्ने विषयमा कृषक पनि सहमत छन् ।’ उनका अनुसार हालसम्म महाकाली सुगर मिलले ७ लाख क्विन्टल उखु खरिद गरिसकेको छ । अब १०/१२ लाख क्विन्टलमात्रै खरिद हुन सक्ने उनको अनुमान छ ।

कञ्चनपुरमा करिब ७ हजार हेक्टरमा उखु खेती गरिन्छ । दुवै मिलको क्षमता २५/२५ लाख क्विन्टल उखु पेल्न सकिने भए पनि आवश्यकताअनुसार उखु उत्पादन हुन सकेको छैन ।

उन्नत जात र प्रविधिको प्रयोग तथा समयमै मलखादको उपलब्धता हुन सके उखु उत्पादन बढाउन सकिने प्राविधिक बताउँछन् ।
सुगर मिलहरूले पनि विभिन्न किसिमका उन्नत जातका बीउ उपलब्ध गराउनुका साथै उखु लगाउन र गोडमेलका नयाँ औजारसँगै प्रविधिबारे पनि जानकारी गराउँदै आएका छन् ।

तर त्यसले मात्रै उत्पादन वृद्धि हुन नसकेकाले स्थानीय तहलेपनि यसतर्फ चासो दिनुपर्ने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्