कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकारी मूल्यमै उखु खरिद

भवानी भट्ट

कञ्चनपुर — किसानको आन्दोलनपछि कञ्चनपुरका चिनी मिलहरूले उखुको मूल्य बढाएका छन् । यहाँ सञ्चालित दुइटा चिनी मिलले किसानसँगको सहमतिमा यसै सातादेखि मूल्य वृद्धि गरेका छन् । ती दुई मिल किसानलाई सरकारले निर्धारण गरेकै मूल्य उपलब्ध गराउन तयार भएका हुन् । 

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको महाकाली र पुनर्वास नगरपालिकास्थित भागेश्वर सुगर मिलले सरकारले तोकेको मूल्यबाट ३५ रुपैयाँ विकास खर्च काटेर प्रतिक्विन्टल ५ सय १ रुपैयाँ दिनेछन् । मिल सञ्चालक र किसानबीच भएको सहमतिअनुसार किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टलमा ५ सय १ रुपैयाँ पाउनेछन् । सरकारले प्रतिक्विन्टल उखुमा ६५ रुपैयाँ अनुदान दिएको छ ।


‘हामीले आन्दोलन घोषणा गरेपछि दुवै चिनी मिलहरू उखुको मूल्य बढाउन तयार भएका हुन्,’ उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्दले भने, ‘लामो प्रयासपछि मूल्य बढाउन सफल भएका छौं ।’ समितिले मंगलबारदेखि मिलमा उखु नदिने गरी आन्दोलन घोषणा गरेको थियो । आन्दोलन सुरु हुनुअगावै चिनी मिलहरू किसानसँग छलफल गरेर सहमतिमा आएका छन् ।


यसअघि किसानहरूले स्थानीय तहसँग पनि छलफल सुरु गरेका थिए । उखुको मूल्य बढाउन आवश्यक पहल गरिदिन समितिकै पहलमा बेल्डाँडी गाउँपालिका तथा बेलौरी र पुनर्वास नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरिएको थियो । छलफलमा महाकाली र भागेश्वर दुवै चिनी मिलका प्रतिनिधिहरू पनि सहभागी थिए ।


सरकारले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ मूल्य निर्धारण गरे पनि यहाँका चिनी मिलले गत वर्षकै हाराहारीमा मूल्य दिंदै आएका थिए । मिलहरूले उखु हेरेर प्रतिक्विन्टल ३ सय ७५ देखि ४ सय ५ रुपैयाँसम्म मूल्य तोकेका थिए ।


धेरै किसानले न्यून मूल्यमै पनि उखु बिक्री गरे । दुवै मिलले १४/१५ लाख क्विन्टल उखु न्यून मूल्यमा खरिद गरेका छन् । ‘धेरै किसानले सस्तोमै उखु बिक्री गरे,’ बेलौरी नगरपालिकाका उखु उत्पादक कृषक कर्मसिंह रानाले भने, ‘चिनी मिलले ढिलो मूल्य बढाउँदा साना किसानहरू मारमा परेका छन् ।’ उनका अनुसार मिलहरूले सोमबारदेखि उखुको मूल्य वृद्धि गरेका हुन् ।


‘जनप्रतिनिधि, किसान र मिलका प्रतिनिधिसहित सबैको सहमतिमा नयाँ मूल्य लागू गरिएको छ,’ महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने, ‘सरकारले तोकेको मूल्यमध्ये ३५ रुपैयाँ मिलको विकासका लागि काट्ने विषयमा कृषक पनि सहमत छन् ।’ उनका अनुसार हालसम्म महाकाली सुगर मिलले ७ लाख क्विन्टल उखु खरिद गरिसकेको छ । अब १०/१२ लाख क्विन्टलमात्रै खरिद हुन सक्ने उनको अनुमान छ ।


कञ्चनपुरमा करिब ७ हजार हेक्टरमा उखु खेती गरिन्छ । दुवै मिलको क्षमता २५/२५ लाख क्विन्टल उखु पेल्न सकिने भए पनि आवश्यकताअनुसार उखु उत्पादन हुन सकेको छैन ।


उन्नत जात र प्रविधिको प्रयोग तथा समयमै मलखादको उपलब्धता हुन सके उखु उत्पादन बढाउन सकिने प्राविधिक बताउँछन् ।

सुगर मिलहरूले पनि विभिन्न किसिमका उन्नत जातका बीउ उपलब्ध गराउनुका साथै उखु लगाउन र गोडमेलका नयाँ औजारसँगै प्रविधिबारे पनि जानकारी गराउँदै आएका छन् ।


तर त्यसले मात्रै उत्पादन वृद्धि हुन नसकेकाले स्थानीय तहले पनि यसतर्फ चासो दिनुपर्ने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?