बन्द भए विद्यालय

निरन्तर हिमपात
वसन्तप्रताप सिंह

बझाङ — माघ महिनाको सुरुवातदेखिको निरन्तर हिमपातले बन्द विद्यालय अझै खुल्न सकेका छैनन् । सामान्य अवस्थामा पनि अन्यत्रको तुलनामा कम पढाइ हुने हिमाली क्षेत्रका विद्यालयमा हिमपातले सयौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । उत्तरी भेगका ६० भन्दा बढी विद्यालय करिब एक महिनादेखि खुल्न नसकेका हुन् ।

हिउँले पुरिएपछि बन्द भएको बझाङ बित्थड चिर गाउँपालिकाको एक विद्यालय । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

‘जमेको हिउँ पग्लन पाएको छैन । लगातार हिमपात भइरहेकाले हिउँ थपिएको थपियै छ,’ साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने, ‘घरबाट बाहिर निस्कनै गाह्रो भयो । स्कुल खुल्ने त कुरै भएन ।’

उनले जाडो अत्यधिक बढेका कारण साना बालबालिकाहरूलाई समस्या हुने भएकाले विद्यालय खुल्न नसकेको बताए । हिमपातका कारण जिल्लाको उत्तरवर्ती साइपाल, तल्कोट, सुर्मा र मष्टा गाउँपालिकाका सबैजसो विद्यालय बन्द छन् । बित्थड चिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकाका उत्तरी भेगका विद्यालय पनि हिमपातका कारण बन्द भएको स्थानीयले बताए । जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रका गरी सयभन्दा बढी विद्यालय करिब एक महिनादेखि बन्द छन् ।

विद्यालय बन्द हुँदा विशेषगरी यार्चागुम्बा संकलन हुने साबिकका गाविस काँडा, सुर्मा, दौलीचौर, दाँतोला मेलबिसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिल क्षेत्रका विद्यार्थीको पढाइ बढी प्रभावित भएको छ । वैशाखदेखि असारसम्म यार्चा संकलनका लागि बन्द हुने यहाँका विद्यालय दसैं/तिहार बिदा, जाडो बिदा, स्थानीय बिदा कटाएर वर्षमा ३/४ महिना मात्र खुल्ने गर्छन् ।

‘हिउँ परेर बाटाघाटा पनि बन्द भएका छन्,’ साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयका एक विद्यार्थी जस्मल बोहराले भने, ‘बाहिरफेर हिंड्डुल गर्न पनि समस्या भइरहेको छ । हिउँ पर्न सुरु भएदेखि बन्द भएका स्कुल खुलेका छैनन् ।’ लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक गुणस्तर खस्किँदै गएकाले स्थानीय तहहरूले हिउँदे बिदा नदिने निर्णय गरेका थिए । तर हिमपातका कारण उक्त निर्णय लागू हुन नसकेको विद्यार्थीले बताए । ‘यो वर्षदेखि हिउँदे बिदामा पनि स्कुल खुल्छ भनेका थिए,’ साइपाल गाउँपालिकाकै धलौन माध्यमिक विद्यालयमा अध्ययनरत कविता बोहराले भनिन्, ‘फागुन लाग्न थालिसक्यो । हिउँ परेको पर्‍यै छ ।’
वर्षमा तोकिएको दिनभन्दा निकै कम दिन मात्र विद्यालय खुल्ने भएकाले पढाइ पूरा नहुने र आफूहरू परीक्षामा सधैं कमजोर हुने गरेको उनको भनाइ छ ।

वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २ सय १० दिन कक्षा सञ्चालन भएको हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भए पनि बझाङका उच्च पहाडी तथा हिमाली भेगका विद्यार्थीले ६०/७० दिन मात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने बाध्यता छ । निरन्तर पढाइ नहुने भएका कारण आफूहरूलाई जिल्लाका अन्य क्षेत्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको यस क्षेत्रकाविद्यार्थीको गुनासो छ ।

प्रकाशित : माघ २५, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्

थाइल्यान्डकी राजकुमारी चुनावी दौडमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजकीय थाइ परम्परा तोड्दै थाइल्यान्डकी राजकुमारी उबोलरत्ना राजकन्या चुनावी प्रतिस्पर्धामा उत्रने भएकी छन् । आगामी मार्च २४ का लागि तय भएको आम निर्वाचनमा उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

६७ वर्षीया राजकुमारी माहिडोलले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछिन्। ५ वर्षदेखिको सैन्य शासनलाई यो निर्वाचनले प्रतिस्थापन गर्ने अनुमान विश्वले गरेको छ।

सन् १९५१मा जन्मिएकी राजकुमारी उबोलरत्ना थाइल्यान्डका पूर्वराजा भूमिबोल अदुल्यादेजकोछोरी हुन्। सन् १९७२ मा एक अमेरिकी नगरिकसँग विवाह गरेपछि उनले राजकीय पद त्यागेकी थिइन्।

डिभोर्सपछि उनी पुनः थाइल्यान्डमा फर्किइन्। थाइलेन्डमा उनी सामाजिक सञ्जाल र थाइ चलचित्रहरुमा काम गर्न थालिन्। राजकुमारी उबोलरत्नाको तीन सन्तानमध्ये एक जनाको सन् २००४ सुनामीका कारण मृत्यु भएको थियो। उनका अन्य दुई सन्तान अमेरिका मै बस्छन्।वर्तमान प्रधानमन्त्री प्रयुथ चान ओचा पनि चुनावी मैदानमा छन्।

प्रकाशित : माघ २५, २०७५ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्