संस्कृति जोगाउन भिडियो प्रतियोगिता

धनगढी — आफ्नै गाउँबस्तीमा ओझेलमा परेका स्थानीय संस्कृति र गन्तव्यहरूको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा भिडियो प्रतियोगिता हुने भएको छ । ‘वि विल राइज फाउन्डेसन’ ले प्रतियोगिता गर्न लागेको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले प्रचारमा आउन नसकेका पर्यटकीय क्षेत्र, सांस्कृतिक भेषभूषा र खानपानलगायतको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

‘सुदूरपश्चिम पर्यटन गन्तव्य र संस्कृतिले समृद्ध क्षेत्र हो,’ बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘यो प्रतियोगितामार्फत गाउँ समाजमा लुकेका विषय, कुनै जातजातिको पहिचान, संस्कृति वा स्थानविशेषका गतिविधि उजागर भएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्छ ।’


प्रतियोगिताका लागि फाउन्डेसनले देशैभरबाट भिडियो संकलन गर्न लागेको छ । यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानमा समेत जोडिएको जनायो । कुनै पनि निश्चित विषयवस्तुमा आधारित बढीमा ५ मिनेटको भिडियो प्रतिस्पर्धामा सहभागी हुन पाउने श्रेष्ठले बताए ।


मोबाइलले खिचेका भिडियोलाई पनि समावेश गराइने उल्लेख गर्दै निर्देशक श्रेष्ठले भने, ‘एक जनाले ५ वटासम्म भिडियो प्रतिस्पर्धामा समावेश गर्न सक्नेछन् ।’ प्रतियोगिताको प्रचारप्रसार गर्न १३ पटक सगरमाथा चढेका आरोही तथा पत्रकार फुर्वा तेन्जिङ शेर्पा, अर्की सगरमाथा आरोही तथा पत्रकार रोजिता बुद्धाचार्यलगायत ‘वि विल राइज फाउन्डेसन’ को टोली धनगढी पुगेको छ । प्रतियोगितामा देशैभरिबाट संकलन भएका भिडियोमध्ये १० वटा छनोट गरी ६ वटालाई पुरस्कृत गरिनेछ ।


उत्कृष्ट भिडियोले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् । छनोटमा परेका भिडियो फेसबुकमा समेत राखेर पब्लिक च्वाइसका आधारमा उत्कृष्ट हुने भिडियोलाई पनि एक लाख रुपैयाँ उपलब्ध गराउने श्रेष्ठले बताए । उत्कृष्ट स्क्रिप्ट र उत्कृष्ट सम्पादनतर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित : माघ २५, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?