वर्षातले महाकाली तटबन्ध निर्माण प्रभावित

मनोज बडु

दार्चुला — वर्षाले महाकाली तटबन्ध निर्माण प्रभावित भएको छ । नदीमा पानीको सतह बढेपछि तटबन्धको जग राख्ने ठाउँ हिलाम्ये छ । खलंगाको बजार किनारको साढे चार किलोमिटर लम्बाइको पक्की तटबन्धमध्ये ४ दशमलब १५ किलोमिटरको निर्माण सम्पन्न भए पनि बाँकी क्षेत्रको काम प्रभावित भएको हो ।

वर्षातले महाकाली तटबन्ध निर्माण प्रभावित

महाकाली नदी नियन्त्रण आयोजनाको १६ प्याकेजमध्ये ११, १३ र १६ मा तटबन्धको जग राख्ने कार्य चलिरहेको आयोजनाका इन्जिनियर कलामुद्दिन अन्सारीले बताए । ‘४/५ दिनको वर्षाले केही काम प्रभावित हुन पुगेको छ,’ उनले भने, ‘५ दिनसम्म त कामै गर्न सकिएन ।’ बीचमा एक दिन जग राख्ने काम बाहेक अन्य निर्माण प्रभावित भयो । वर्षातले यो साता काम हुन नसकेको उनको भनाइ छ ।


नदी कटानसँगै बाढीको उच्च जोखिम भएका ठाउँहरूमा तटबन्ध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । अहिले प्याकेज ११ को २४ मिटर, प्याकेज १३ को ३४ मिटरको जग राख्ने कार्य अगाडि बढेको छ । नयाँ ठेक्काको प्याकेज १६ मा ५० मिटर लम्बाइको जग राख्ने तयारी भइरहेको आयोजनाले जनाएको छ । तीनवटै प्याकेजमा यो महिनाभरि जग राख्ने काम सकिने र अन्य कार्य पछि पनि सजिलै गर्न सकिने हुँदा तटबन्धको फाउन्डेसनमा जोड दिन निर्माण व्यवसायीहरूलाई ताकेता गरिरहेको आयोजनाका इन्जिनियर अन्सारीले जानकारी दिए ।


वर्षाका कारण तलबाट पानी पस्ने र माथिबाट ढुंगा खस्न नरोकिएपछि तटबन्ध निर्माणको कार्य बन्द हुन पुगेको निर्माण व्यवसायी दानसिंह तिंकरीले बताए । ‘वर्षातकै कारण तटबन्ध निर्माण प्रभावित हुँदा काम एक साता पर धकेलिएको छ,’ उनले भने, ‘कामदार माघी मनाउन तराई झरेपछि प्रभावित हुन पुगेको काम अझै पूर्ण रूपमा संचालन हुन सकेको छैन ।’ अन्य वर्ष माघीको समयमा पूर्ण रूपमा बन्द हुने तटबन्ध निर्माणको काम यस वर्ष पहाडी जिल्लाका कामदार पनि मजदुरी गरिरहेकाले आंशिक रूपमा बाहेक चालु नै रहेको उनको भनाइ छ । फागुन नलाग्दासम्म महाकाली नदीमा पानीको सतह खासै नबढ्ने हँुदा त्यसयता जग निर्माण कार्य सक्ने गरी फाउण्डेसनको कार्य अगाडि बढेको इन्जिनियर अन्सारीको भनाइ छ । सदरमुकामको तटबन्ध बाहेक आयोजनाले ब्यास गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म नदी नियन्त्रणको काम गरिरहेको छ ।


सदरमुकाम बाहिरको करिब १६ किलोमिटरमध्ये साढे ८ किलोमिटर क्षेत्रमा ग्याबिन तारजालीको तटबन्ध निर्माण भइसकेको छ । करिब ३ किलोमिटर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीको उच्च जोखिममा रहेका ठाउँहरूमा तटबन्ध निर्माण भइरहेको छ । लाली, राडम, बाकु, उकु, जौलजिवी, दत्तु, धाप, मसिनी बालुवा, खेट्याबगड, किम्तडी, श्रीबगड लगायतका ठाउँहरूमा ग्याबिन तारजालीको तटबन्ध निर्माण भइसकेको छ ।


संघीय सरकारबाट चालु आर्थिक वर्षमा तटबन्ध निर्माणका लागि १९ करोड विनियोजन बजेटमध्ये पुस मसान्तसम्म १२ करोड खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । ३ अर्ब बढीको बजेटबाट महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गर्न अहिलेसम्म २ अर्बभन्दा बढी बजेट खर्च भइसकेको छ । २०७० सालमा महाकालीमा बाढी आए लगत्तै बनेको ५ वर्षे गुरुयोजनाको ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजनाको दाबी छ ।


प्रकाशित : माघ १३, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?