कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फराकिलो पारिँदै टुँडिखेल

खेलकुदका लागि मैदान अभाव झेलिरहेका खेलाडीले राहत पाउने
मोहन शाही

डोटी — राणाकालमै निर्मित डोटीको सिलगढीस्थित टुँडिखेलको स्तरोन्नति थालिएको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित टुँडिखेलमा ७० लाखको लागतमा भौतिक संरचनाहरूको स्तरोन्नति सुरु भएको हो ।

जमिन सम्याउन थालिएको छ । स्तरोन्नतिपछि खेलकुदका लागि मैदान अभाव झेलिरहेका खेलाडीले राहत पाउनेछन् ।


सेनाको स्वामित्वमा रहेको टुँडिखेलको स्तरोन्नतिका लागि सहमति जुटेपछि नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । तत्कालीन भीम दल गणको नाममा रहेको टुँडिखेलको कित्ता नं. २०५ मा १० रोपनी १० आना क्षेत्रफलमा खेलकुद मैदान छ । संरक्षण अभावमा मैदान चारैतिरबाट अतिक्रमण भएको छ ।


टुँडिखेलमा शौचालय र कोठासहितको सुविधायुक्त मञ्च, दर्शकको सहजताका लागि प्याराफिट, चारैतिर रेलिङ, मध्यम खालका बोटविरुवा, फूलका गमला र बीचमा दुबो रोप्ने योजना रहेको टुँडिखेल फिनिसिङ उपभोक्ता समिति अध्यक्ष नरेश मलासीले जानकारी दिए ।

यसअघि दिपायल सिलगढी नगरपालिकाकै नेतृत्वमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ३० लाखको लगानीमा टुँडिखेलको मर्मत गरिएको थियो । मैदानको दक्षिणतर्फ भत्किएको भागमा पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको थियो ।


सेनाको मातहत रहे पनि टुँडिखेलबाहेक अन्यत्र फराकिलो जमिन नहुँदा सिलगढीबासीले खेदकुद, राजनीतिक तथा सामाजिक क्षेत्रका सभा, सम्मेलन त्यहीँ गर्नुपर्ने बाध्यता थियो । ‘अहिले नगरपालिकाकै पहलमा सेनासँग सहमति लिएर लगानी गरिरहेका छौं,’ नगरप्रमुख मलासीले भनिन्, ‘आवश्यकताका आधारमा हेलिकप्टर उडान गर्न, खुल्ला सभा समारोह आयोजना गर्न र विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ ।’


टुँडिखेलको जमिन विस्तार गर्न डोटी बहुमुखी क्याम्पसले समेत जमिन उपलब्ध गराएको छ भने जिल्ला अदालत डोटीका नाममा रहेको प्रयोगविहीन जमिनसमेत खेलमैदानका रूपमा प्रयोग हुने गरी समन्वय अगाडि बढाइएको नगरप्रमुख मलासीले जानकारी दिइन् ।


डोटीमा खेलमैदान नहुँदा खेलाडीहरूले गहुँबारी तथा नदीको बगरमा अभ्यास गर्नुपर्ने बाध्यता थियो । क्रिकेट र फुटबलका खेलाडी बढी समस्यामा रहेको पूर्व राष्ट्रिय भलिबल खेलाडी राजबहादुर खड्काले बताए ।


उनले मैदान नहुँदा खेलाडीहरू भलिबलमा मात्र सीमित हुनुपर्ने गुनासो सुनाए । तीन वर्षअघि दिपायल राजपुरमा डोटी उद्योग वाणिज्य संघको अगुवाइमा नगरपालिकासँग सहकार्य गरी खप्तड रंगशाला निर्माण गरिएको थियो ।


रंगशाला निर्माणमा जगेडा कोषबाट नगरपालिकाले ५० लाख लगानी गरेको थियो । जिल्लास्तरमा आयोजना हुने ठूलो खेलकुद प्रतियोगिताहरू खप्तड रंगशालामा आयोजना हुने गरेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खड्काले बताए ।


खेलकुद क्षेत्रको विकासका लागि सरकारको निकायका रूपमा रहेको खेलकुद विकास समितिको स्वामित्वमा जमिन नै नहुँदा जिल्लाको खेलकुद गतिविधिमा प्रगति नभएको खेलप्रेमीहरू बताउँछन् ।


जीर्ण घर र भलिबल खेलमात्र खेल्न सकिने सानो जमिनका भरमा खेलकुद विकास समितिले सीमित कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित : पुस १२, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?