विमानस्थलका लागि अध्ययन

मनाेज बडु

दार्चुला — अढाई दशकदेखि बन्द दार्चुलाको गोकुलेश्वर विमानस्थल पुन: सञ्चालनका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थलको अध्ययन गरेको हो ।

लामो समयदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल । तस्बिर : मनोज/कान्तिपुर

प्रारम्भिक अध्ययनका क्रममा प्राविधिकहरूले विमानस्थलमा हवाई सेवा सञ्चालन गर्नका लागि आसपासका केही घर र दार्चुला–बैतडी जोड्नेमोटरेबल पुल बाधक रहेको बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकिशोर रेग्मीले विमानस्थल नजिकका २/३ घर र महाकाली लोकमार्गको गोकुलेश्वर पुलको माथिको भागले बाटो रोक्न सक्ने जानकारी स्थानीयलाई गराएका थिए ।

गोकुलेश्वरका स्थानीय व्यापारी देवदत्त विष्टले ०५० सालसम्म सञ्चालनमा रहेको विमानस्थलको पुन: अध्ययन सुरु भएकोमा स्थानीय बासिन्दा उत्साहित भएको बताए । ‘देशमा सशस्त्र द्वन्द्वको सुरुवातसँगै जहाज आउन छाड्यो । त्यसपछि हालसम्म बन्द अवस्थामै छ,’ उनले भने ।

योसँगै बन्द रहेका सुदूरपश्चिमका अन्य विमानस्थलहरू सञ्चालन भइसकेको र केही सञ्चालनको तयारीमा छन् । झन्डै २५ वर्षदेखि बन्द विमानस्थल सञ्चालनका लागि अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिक टोली यहाँ पुग्दा सञ्चालनको आस जागेको व्यापारी बिष्टले बताए ।

नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर रेग्मीको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आएको थियो । उनीहरू अध्ययन सकेर काठमाडौं फर्किएका छन् । अध्ययनपछि टोलीले स्थानीयसँग छलफल गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले बताए ।

छलफलमा टोलीले अहिले विमानस्थलको सामान्य अध्ययन गरेको र त्यसपश्चात् प्रतिवेदन तयार पारेर विभागलाई बुझाइनेबारे आफूहरूलाई जानकारी गराएको उनको भनाइ छ ।

अहिलेको अध्ययनले विमानस्थल नजिकका केही घर र मोटरेबल पुल विमानस्थल सञ्चालनमा बाधक देखिएका छन् । सामान्य अध्ययनपछि मात्रै विस्तृत अध्ययन गरिने उक्त टोलीले जनाएको छ । केही घरहरू र पुलको माथिल्लो भाग हटाउन सके विमानस्थल सञ्चालन गर्न सकिनेछ ।

स्थानीयहरूले विमानस्थल सञ्चालनमा समस्या पुर्‍याउने खालका घरहरू हटाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको नगर प्रमुख धामीले जानकारी दिए । लामो समयदेखि विमानस्थल बन्द रहँदा यहाँको प्राकृतिक र धार्मिक पर्यटन ओझेलमा छ ।

लामो समयसम्म विमानस्थल बन्द रहँदा गाई, भैंसी चराउने चउर र खेल सञ्चालन गर्ने मैदानमा रूपमा प्रयोगमा आइरहेको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

३० वर्षदेखि अस्पताल विशेषज्ञविहीन

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्ला अस्पताल, सल्ले ३० वर्षदेखि विशेषज्ञविहीन छ । जिल्ला अस्पतालमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि हालसम्म पदपूर्ति भएको छैन । स्वास्थ्य विभागले एउटा पनि विशेषज्ञ डाक्टर काम गर्नेगरी जिल्लामा पठाएका छैन ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१, सल्लेस्थित जिल्ला अस्पतालको अन्तरंग विभागमा बिरामी जाँच्दै स्वास्थ्यकर्मी । तस्बिर : हरि गौतम/कान्तिपुर

२०४५ सालमा स्थापना भएदेखि नै अस्पताल विशेषज्ञविहीन हुँदै आएको छ । ‘जिल्ला अस्पतालमा एउटा विशेषज्ञ डाक्टरको दरबन्दी छ,’ जिल्ला अस्पताल प्रमुख डा. सुशील पोखरेलले भने, ‘उपचार गर्ने गरी हालसम्म कोही विशेषज्ञ डाक्टर आएको मैले थाहा पाएको छैन ।’ कुनै पनि रोगको विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि त्यो पूर्ति नभएको भनाइ डा. पोखरेलको छ । उनका अनुसार नवौं तहको दरबन्दी जिल्ला अस्पतालमा छ ।

अस्पताल स्थापना भएयता एक विशेषज्ञ डाक्टर जिल्ला अस्पताल आएका छन् । यसअघि २०७३ मंसिर २१ देखि २०७४ असोज महिनासम्म छाला विशेषज्ञ डा. राजेन्द्र जिसी जिल्ला अस्पतालमाआएका थिए ।

जिल्ला अस्पतालप्रमुखको रूपमा जिल्ला आएका उनी कार्यालयको प्रशासनिक काम मात्रै गरेर सरुवा भए । झन्डै एक वर्ष जिल्ला बसेका उनी बिरामीको उपचार नगरेरै सरुवा भएका थिए ।

‘अस्पताल स्थापना भएको ३० वर्ष भइसक्दा पनि एक जना विशेषज्ञको सेवा नपाउनु दुर्भाग्य हो,’ जिल्ला अस्पताल विकास समितिका पूर्वअध्यक्ष धनवीर ओलीले भने, ‘दरबन्दी भएर पनि स्वास्थ्य मन्त्रालय तथा विभागले एक जना विशेषज्ञ जिल्ला पठाउँदैन ।’ अस्पतालले बेला बेलामा विशेषज्ञ डाक्टर ल्याउन गरेका प्रयास कहिल्यै सफल नभएको नमीठो अनुभव गरेको उनले बताए ।

‘कतिपय अवस्थामा डाक्टरले नै आउन नमान्ने, विभाग र मन्त्रालयले पठाउन पनि आनाकानी गर्नाले लामो समयदेखि विशेषज्ञ डाक्टरको दबरन्दीको अभाव अस्पतालले बेहोरिरहेको छ, यसको परिपूर्तिका लागि सबै निकाय गम्भीर हुनुपर्छ,’ ओलीले भने । पुरानो र जिल्ला अस्पताल भएकाले सेवा विस्तार तथा सहज उपचारका लागि स्थानीय, तह प्रदेश देखि संघीय सरकारले पनि ध्यान पुर्‍याउनुपर्ने भनाइ उनको छ ।
अस्पताल प्रशासन भन्दा बिरामीको उपचार महत्त्वपूर्ण हुने भएकाले विभागले उपचारमै खट्ने डाक्टर जिल्ला अस्पतालमा पठाउनुपर्ने भनाइ सर्वसाधारणको छ । नवौं तहको विशेषज्ञ डाक्टर आएर प्रशासन मात्रै चलाएर बस्ने भएपछि त्यसबाट बिरामीले फाइदा लिन नसक्ने भएकाले उपचार गर्नेगरी नै विशेषज्ञ डाक्टर पठाउनुपर्ने मुसीकोट नगरपालिका–१, का विष्णुबहादुर ओलीले बताए ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विशेषज्ञ डाक्टरले प्रशासन चलाउने भन्दा पनि उपचार गर्नु महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘उपचार गर्नका लागि विशेषज्ञ पठाइनुपर्छ ।’ विशेषज्ञ डाक्टरको दरबन्दी हुँदा पनि डाक्टर नआउँदा बिरामीले ठूलो समस्या भोग्दै आएका छन् । एउटा मात्रै रोगको विशेषज्ञ भएपछि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट छुटकारा पाउने बिरामीहरूले बताएका छन् ।

प्रकाशित : पुस ३, २०७५ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्