आत्मनिर्भर बन्दै महिला

कान्तिपुर संवाददाता

अछाम — चौरपाटी गाउँपालिका ५ दुनीकी १९ वर्षीया बृहस्पति परियार सामान्य सिलाइकटाइको सीप सिकेर आत्मनिर्भर हुन सकिँदो रहेछ भन्ने उदाहरण बनेकी छन् ।

केही वर्षको अन्तरालमा आमाबुवाको मृत्यु भएपछि उनी बेसहारा जस्तै थिइन् । नियमित स्कुल जान पाइनन् । घरको सबै काम उनकै थाप्लोमा आयो । तर पनि दाजु–भाउजूले वास्ता गरेनन् । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर काकाको घरमा बस्न थालिन् ।

उनलाई आफैं आत्मनिर्भर कसरी हुने भन्ने चिन्ता थियो । एकजना आफन्तले जिल्लामा कार्यरत गैरसरकारी संस्थामा पुर्‍याएर सिलाइकटाइको तालिम लिने व्यवस्था मिलाइदिए । उनले करिब ३ महिना साँफेबगरमा सिलाइकटाइ तालिम लिइन् । तालिमपछि आत्मनिर्भर हुने ढोका खुल्यो ।

केही समय साँफेबगरमै काम सिकेपछि उनले चौखुट्टेमा सिलाइ पसल खोलिन् । उनी अचेल सिलाइकटाइमै व्यस्त भएकी छन् । त्यसैबाट मासिक ३० हजार आम्दानी भइरहेको बताउँछिन् । ‘त्यही कमाइबाट उच्च शिक्षा पढ्ने धोको समेत पूरा हुन थालेको छ,’ बृहस्पतिले भनिन् । कमाउन थालेपछि घरमा बस्न नदिने दाइभाउजू समेत बेलाबेला भेट्न आउँछन् । ‘पहिला उमेर भइसक्यो । अब बिहे गर भनेर कुरा सुनाउँथे । अहिले कमाउन थालेपछि केही भन्दैनन्,’ उनले कुरा खोलिन् ।

श्रीमान् पैसा कमाउन भारत गएपछि आफू पनि स्वरोजगार हुने विचारले चौरपाटी–७ की उमा बोगटी सिलाइकटाइ तालिम लिन मंगलसेन गइन् । ६० हजार खर्च गरेर ६ महिना सीप सिकेपछि उनी पुन: मार्कु फर्किइन् ।

गाउँमै सिलाइ पसल सञ्चालन गरेर बसेकी उनी अचेल मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आएकी छन् । श्रीमान्–श्रीमती दुवै कमाउने हुँदा जीविकोपार्जनमा सहज भएको छ । दुई छोरा निजी विद्यालयमा पढाउँदै आएकी उनले भविष्यमा छोराहरूलाई ठूलो मान्छे बनाउने संकल्प लिएकी छन् ।

त्यसैगरी तीन वर्षदेखि निरन्तर सिलाइकटाइ गर्दै आएकी दुनीकी कमला विकले पनि यो व्यवसायबाट मासिक ३० हजारभन्दा बढी कमाइ गर्दै आएकी छन् । घरको दैनिक काम सकेर बाँकी समय उनी सिलाइ पसलमा काम गर्छिन् । सानो बच्चासँगै कामकाज गर्नुपर्ने धेरै महिलाको बाध्यता जस्तै छ, कमलाको पनि । उनी बच्चा स्याहार्दै सिलाइकटाइ गर्छिन् । ‘आफैंले कमाइ गर्न थालेपछि कसैबाट हेपिनुपरेको छैन,’ उनले भनिन् ।

अछाममा यसरी सिलाइकटाइ गरेर स्वरोजगार हुने महिलाको संख्या बढ्दै गएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने तथा जोखिम पनि नहुने भएकाले जिल्लामा यो पेसाप्रति महिलाको आकर्षण बढ्दै गएको हो । पुरुष वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहेको बेला महिला स्वरोजगार हुने गरी सीप सिक्न थालेपछि धेरैले यो पेसाको प्रशंसा गरेका छन् ।

सधैं घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका महिला हिजोआज विभिन्न सीप सिकेर स्वावलम्बी बन्दै गएका हुन् ।

सिलाइकटाइ बाहेक ब्युटिपार्लर र गुडिया बनाउनेलगायत सीपले आत्मनिर्भर बनाएको छ । मंगलसेन, साँफेबगर र चौखुट्टे क्षेत्रमा मात्रै डेढसय बढी महिला सिलाइकटाइ र २५ जना ब्युटिपार्लर व्यवसायमा संलग्न छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

भाइरलले सुन्तला उत्पादनमा कमी

मेनुका ढुंगाना

अछाम — कुनै बेला अछाममा उत्पादित सुन्तला जहाजमा नेपालगन्ज र काठमाडाैंसम्म पठाइन्थ्यो । अहिले जिल्लामै अपुग छ । उत्पादनमा कमी आएपछि खरिदबिक्री घटेको छ ।

जिल्लाका मुख्य व्यापारिक केन्द्र साँफेबगर, सदरमुकाम मंगलसेन र बाहिरी जिल्लाका दिपायल, धनगढी, टीकापुर, महेन्द्रनगर र नेपालगन्जसम्म पुग्ने सुन्तला यस वर्ष भने जिल्लाकै उपभोक्तालाई पनि अपुग भएका हुन् ।

फल्ने समयमा ‘सिट्रस ग्रिनिङ’ भाइरलको संक्रमणले यस वर्ष उत्पादनमा कमी आएको किसानले बताए । जिल्लाका केही लेकाली भागमा फले पनि अन्य ठाउँमा बोट सुकेका छन् । पकेट क्षेत्र कहलिएको मंगलसेन ५ मा पर्ने कुडबस्ती, भाटवाडा, वडा नं. ३ को लाछिमना, बिसाकोट, बिरलतोली, वडा नं. २ को मिस्तुर र वडा नं. ४ को कुस्नाव लगायत क्षेत्रमा प्रशस्त सुन्तला फल्थे ।

यस्तै जिल्लाको तुर्माखाँद र मार्कुमा पनि राम्रै सुन्तला फल्ने जिल्ला कृिष विज्ञान केन्द्रले जनाएको छ । अहिले तुर्माखाँद र मार्कुमा केही मात्रामा सुन्तला फले पनि अन्य क्षेत्रहरूमा सुन्तलाका बोटहरू सुकिसकेका छन । ‘१७/१८ वर्षअघि सुन्तला बेचेर एक सिजनमा ३ लाख रुपैयाँ आम्दानी हुन्थ्यो ।

अहिले आफूलाई खान पनि सुन्तला उत्पादन हुँदैन । त्यतिबेला साढे ४ सयभन्दा बढी बोटमा सुन्तला फल्थे,’ मंगलसेन नगरपालिका ५ की भगवती जैसीले भनिन, ‘तर ५/७ वर्ष अघिदेखि सुन्तलाका बिरुवा टुप्पोबाट सुक्दै गए र सखाप भए, अहिले त्यो बारीमा सुन्तलाको बोट त के जरा सम्म छैन ।’

त्यतिबेला बोटमा फागुनसम्म सुन्तला रहने र १ दानाको १ रुपैयाँ, किलोको १२ देखि १५ रुपैयाँमा बेचिन्थ्यो । अछामका सुन्तला अहिले दस रुपैयाँ दाना बिक्री भइरहेका छन् । २०६७ मा २/३ पटक माटो परीक्षणका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा लगेको भए पनि अहिलेसम्म परीक्षणको रिपोर्ट नआएको र नयाँ बिरुवा रोपे पनि नहुर्किने र सुकेर जाने गरेको उनले बताइन् ।

पहिले बारीमा उत्पादन भएका सुन्तला सदरमुकाम मंगलसेन, बयालपाटा हुँदै साँफेबगरसम्म भरिया लगाएर बिक्रीका लागि लैजाने गरेको र साँफेबगरबाट हवाईजहाजमा बाहिर जाने यात्रुहरूले कोसेली स्वरुप लैजाने गरेको मंगलसेन नगरपालिका २ का अध्यक्ष मानबहादुर बोगटीले बताए । ‘त्यतिबेला मिस्तुररुमा फलेका सुन्तलाको ठाउँठाउँमा चर्चा हुने गर्दथ्यो । तर अहिले वडाभरि नै सुन्तलाको बोट छैन,’ उनले भने, ‘पहिलेका सुन्तला सुकेपछि नयाँ सय बिरुपा रोपे पनि २/४ बिरुवा बचे । बाँकी सबै सुकेर गए । अहिले खान पनि सुन्तला किन्नु पर्छ ।’

जलवायु परिवर्तन, माटोको चिस्यान कम हुनु, वातावरणीय प्रतिकूलता र वर्षा कम भएका कारण सुन्तला सुक्ने, नफल्ने, साना दाना फल्ने मंगलसेनका कृषि शाखा प्रमुख पूर्णप्रसाद ढुंगानाले बताए । चिसो हावापानीमा उमारेका बिरुवा रोप्दा, बिरुवाका सुकेका हाँगाहरू काँटछाँट गर्दा, बिरुवालाई गोडमेल गरी पानी दिने र मलजल गर्दा सिटिङ ग्रिनिङ नामको भाइरलको संक्रमण कम हुने उनले बताए ।

फूलपछि दाना लाग्दै कागती र मौसमका दानामा लाग्ने पहिचान बिनाको किराको संक्रमण सुन्तलामा सरेपछि सुन्तला बोटमै कुहेर झरे । किसानले पनि रोग लागेपछि नफल्ने भन्दै बोटविरुवामा जति स्यहारसुसार गर्नुपर्ने हो त्यति ध्यान नदिँदा सोचेअनुरूप उत्पादन हुन नसकेको ढुंगानाले बताए ।

आव ०७३/७४ मा जिल्लामा ४ सय ३९ हेक्टर क्षेत्रफलमा हजार मेट्रिक टन सुन्तला उप्पादन भएकोमा आव ०७४/७५ मा सुन्तला उत्पादनको क्षेत्रफल ४ हेक्टरले बढे पनि उत्पादन भने ३ सय मेट्रिक टनले गिरावट आएको कृषि अधिकृत ढुंगानाले बताए । ‘गत वर्षभन्दा क्षेत्रफल बढी देखिए पनि उत्पादन कम हुँदै आएको छ । यो वर्ष पनि सुन्तला उत्पादन निकै कम हुने सम्भावना छ,’ उनले भने ।

खासगरी बोटविरुवा लगाएपछि किसानले पानी, मलजल, औषधि लगायत व्यवस्थापन गर्न नसक्दा नै उत्पादनमा कमि आएको ढुंगानाको भनाइ छ । कतिपय अवस्थामा दाना लाग्न थालेपछि वातावरण प्रदूषणका कारण बढी झर्ने र पछि पाक्ने समयसम्म पनि झर्ने समस्याले सोचेअनुरूप उत्पादन गर्न नसकेको किसानको भनाइ छ ।

यता किसानले भने उत्पादन वृद्धिका लागि प्रयत्न गरिएको भए पनि रोगकिरा नियन्त्रण गर्न नसक्दा समस्या भएको गुनासो गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्